शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा होली खेलेर दश लाख संकलन

बुधबार, २४ फागुन २०७९, २१ : ३३
बुधबार, २४ फागुन २०७९

बैतडी । बैतडीका विभिन्न स्थानमा होली खेलेर रु १० लाख सङ्कलन भएको छ । यहाँका विद्यालय, सङ्घसंस्था तथा क्लबहरूले होली खेलेर रु १० लाख सङ्कलन गरेका हुन् । 

होलीबाट सङ्कलित रकम विद्यालयको शैक्षिक सुधार र सामाजिक कार्यमा खर्च गरिने भएको छ ।

जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडामा रहेको सिद्धेश्वर मावि र पाटन नगरपालिका–३ गुरुडामा रहेको सिगास माविले होलीबाट सङ्कलित रकम विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि खर्च गरिने जनाएका छन् । हुक्केडाँडाले होली खेलेर खर्च कटाएर रु एक लाख ७५ हजार दुई सय ६३ र  गुरुडाले रु चार लाख १० हजार जम्मा गरेको छ । 

सङ्कलित रकम विद्यालयको सर्वाङ्गीण विकासका लागि खर्च गरिने सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । “विद्यालयका शिक्षक, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी मिलेर होली खेलेका हौँ”,  उनले भने, “होली खेलेर सङ्कलन भएको रकम शिक्षकको तलब, खेलकुद सामग्री खरिद र कक्षा कोठा व्यवस्थापनमा खर्च गर्छौं ।”

विद्यालयमा निजी स्रोत शिक्षक रहेकाले आर्थिक अवस्था कमजोर रहेको हुँदा तलबमा समेत खर्च गरिनेछ । विसं २०१८ मा स्थापना भएको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । 

पाटन नगरपालिका–३ सिगास मावि गुरुडाले सङ्कलन गरेको रु चार लाख १० हजार पनि विद्यालयको समग्र विकासका लागि खर्च गरिने जनाएको छ । उक्त विद्यालय विसं २०२२ मा स्थापना भएकामा हाल कक्षा १२ सम्म पढाइ हुने गर्दछ । 

होली खेल्न अभिभावकहरूको घरदैलोमा पुग्दा विद्यालय र अभिभावकसँगको सम्बन्ध विस्तारमा मद्दत पुगेको भाटको भनाइ छ । होलीमा बालबालिका, एकल महिला, बालविवाह, विद्यार्थीको आनीबानी सुधारसम्बन्धी सन्देशमूलक, चेतनामूलक गीतमार्फत सन्देश दिइएको थियो । होलीले समाज रूपान्तरणमा टेवा पुग्नेसमेत भाटको विश्वास छ । विद्यालयले शैक्षिक सुधारका लागि प्रत्येक वर्ष खेल्ने गरेको छ । 

पाटन–१० मा रहेको सरस्वती मावि सल्लेबासाले पनि होली खेलेर रु एक लाख ४६ हजार बचत गरेकाले उक्त रकमले विद्यालयमा सरस्वतीको मन्दिर निर्माणमा खर्च गरिने प्रधानाध्यापक लोकराज भट्टले बताए । जिल्लाको सुर्नया गाउँपालिका–४ डवरालीमा रहेको पञ्चदेव आधारभूत विद्यालयले पनि होली खेलेर रु एक लाख ८० हजार पाँच सय ५३ सङ्कलन गरेको जनाएको छ । जिल्लाका सामुदायिक विद्यालयले पर्वको मौलिकताको संरक्षणका साथै विद्यालयको आर्थिक, भौतिक अवस्थालाई सुधार गर्न पनि होली खेल्ने गरेका छन् ।

यस्तै दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा रहेको श्रीकेदार भूमिराज होली कमिटीले रु ६२ हजार सङ्कलन गरेको सहसचिव गणेश विष्टले जानकारी दिए । सङ्कलित रकम सामाजिक तथा धार्मिक कार्य, विवाह, व्रतबन्धमा आवश्यक पर्ने सामग्री खरिदमा खर्च गरिने जनाइएको छ ।

उता सुर्नया गाउँपालिकाका स्थानीय बासिन्दाले होली खेलेर जम्मा भएको रकमले शिवमन्दिर पुनःनिर्माण गर्ने जनाएका छन् । पालिकाको  वडा नं ६ मा रहेको शिव मन्दिर समितिले होली खेलेर दुई दिनमा रु ३८ हजार सङ्कलन गरेको छ । सङ्कलित रकम जीर्ण अवस्थामा रहेको शिव मन्दिरको पुनःनिर्माणका लागि खर्च गरिने समितिले जनाएको छ ।

शिव मन्दिरकै नामबाट साविकको शङ्करपुर गाविस वडा नं ६ मा रहेको शङ्कर संस्कृत उच्च माविको नामकरणसम्म भएको मन्दिरलाई पुनःनिर्माण गर्न र सामाजिक सद्भाव कायम गर्न होली खेलिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप