सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्नुहुन्न : नेता रिजाल

'जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु संविधान र १२ बुँदे सम्झौता विपरीत'
शुक्रबार, २६ फागुन २०७९, १५ : ३६
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नु नहुने बताएका छन् । नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षीको रुपमा काम नगर्ने स्पष्ट पारेका हुन् ।   

उनले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम नगर्ने पनि स्पष्ट पारे । शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिले लिएर सोही अनुसार भूमिका गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए । गठबन्धनका बीचमा भएको शर्तहरु कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उनको भनाई छ । नेता रिजालले गठबन्धनका बिचमा भएका सहमति कार्यान्वयन पार्टीले गर्ने र त्यसका लागि कांग्रेस इमान्दार हुने बताए ।  

उनले राष्ट्रपति पौडेल गठबन्धनको परिधि भित्र नबस्ने बताए । पौडेल आफ्नो पूर्व पार्टी नेपाली कांग्रेसको परिधिभित्र पनि नबस्ने स्पष्ट पारे । संविधानको परिधिभित्र बस्ने र संविधानको भावनाभन्दा बाहिर गएर कुनै भूमिका नखेल्ने उनले विश्वास व्यक्त गरे ।  

नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभूमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा कांग्रेसले साथ दिन नसक्ने चेतावनी दिए । उनले माओवादी केन्द्रका नेताहरुलाई जोखिम पार्नु नहुनेमा विगतका सात राजनीतिक दल र तत्कालीन माओवादी पार्टीको प्रतिबद्धता रहेको बताए । माओवादी केन्द्र वैचारिक रुपमा अन्य माओवादी घटकहरुसँग एक भएको खण्डमा कांग्रेसपनि संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा उभिने उनले बताए । उनले प्रधानमन्त्री दाहाल कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालासँग गरेको हस्ताक्षर र वर्तमान सभापति शेरबहादुर देउवासँग गरेको सहमति अनुरुप हिँडेमा कांग्रेसबाट धोका नहुने स्पष्ट पारे ।  

नेता रिजालले प्रधानमन्त्री दाहालले ०५२ सालमा शुरु भएको सशस्त्र विद्रोहलाई जनयुद्ध दिवसको रुपमा बिदा दिएर विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानको भावनाभन्दा बाहिर गएको बताए । दाहाल यसप्रकारको बाटोमा जान थाले उनलाई कांग्रेसले बोक्न नसक्ने चेतावनी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप