आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नगर बस चलाउनेबारे अध्ययन नसकिँदै रुट परीक्षणमा मेयर

शुक्रबार, २६ फागुन २०७९, १५ : २२
शुक्रबार, २६ फागुन २०७९

विराटनगर । ‘नगर बस सञ्चालनका लागि मेयर कोइरालाको नेतृत्वमा रुट परीक्षण’ शीर्षकमा विराटनगर महानगरपालिकाको आधिकारिक इमेलबाट समाचारको प्रचार भइरहेको छ । उक्त समाचारमा ‘नगर बस सञ्चालनका लागि मेयर नागेश कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको’ उल्लेख छ । 

तर, विराटनगर महानगरपालिकाले रुटको अनुमति दिनेबाहेक बस किन्ने वा नगर बस सञ्चालनका लागि लगानी गर्ने विषयमा अहिले अध्ययन भइरहेको छैन । विराटनगर यातायात प्रा.लि.ले प्रदेश लगानी बोर्डको समन्वयमा विराटनगर महानगरपालिकामा नगर बस सञ्चालन गर्न सकिने नसकिने भन्ने विषयमा आफ्नै लगानीमा अध्ययन गरिरहेको छ । जसका लागि प्रदेश लगानी बोर्डले महानगरपालिका र कम्पनीबीच मध्यस्थता भने गरिरहेको छ । 

प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले दिएको जानकारी अनुसार विराटनगर यातायात प्रा.लि.ले विगत ६ महिना अगाडिदेखि डिपिआरको काम अगाडि बढाएको थियो । निर्वाचनको समय भएको कारण द्रुत गतिमा काम अगाडि बढ्न सकेन । तर, अबको दुई हप्तामा भने उक्त कम्पनीले प्रदेश लगानी बोर्डलाई अध्ययन रिपोर्ट दिने कोइरालाले जानकारी दिए ।

 अध्ययनकै क्रममा टाटा र अशोक लेल्याण्ड कम्पनीका बसको परीक्षण समेत गरिएको छ । महानगरमा परीक्षण गरिएका बसहरूमा राजमार्गमा ४५ सिट क्षमताको बस र भित्री रुटमा ४२ सिट क्षमताको बस रहेका छन् । 

‘लगानी निजी क्षेत्रले नै गर्ने हो । यो ‘पिपिपि’ मोडलमा हुने हो । यसको अध्ययन दुई हप्तामा सकिन्छ । त्यसपछि लगानी प्राधिकरणले सार्वजनिक सूचना जारी गर्छ,’ कोइरालाले भने, ‘कुनै संस्था वा फर्मले नगर बस सञ्चालनको लागि कुनै पनि मोडल प्रस्तावसहित निवेदन दिन आह्वान गर्ने हो । त्यसपछि आएका प्रस्तावहरूमाथि मूल्याङ्कन समितिले छलफल गरेर नगर बस सञ्चालनको अनुमति दिने हो ।’

नगर बस सञ्चालनका लागि कम्पनीको टुङ्गो लागेपछि बोर्ड कै मध्यस्थतामा विराटनगर महानगरपालिका र सम्बन्धित कम्पनीबीच परियोजना विकास सम्झौता (पिडिए) हुनेछ । उक्त सम्झौतामा रुटको विषय, महानगरपालिका तथा यहाँका नागरिकलाई के कति फाइदा हुन्छ भन्ने विषय उल्लेख हुनेछ ।

कोइरालाका अनुसार विराटनगर यातायात प्रा.लि.ले अहिले गरिरहेको अध्ययन रिपोर्टलाई नै मान्नुपर्ने बाध्यता भने छैन । ‘यो बेस डकुमेन्ट भयो । यसको आधारमा ३० दिने सूचना जारी हुन्छ । फलानो कम्पनीले यसो गर्छु भनेर अध्ययन रिपोर्ट दिएको छ । त्यो भन्दा राम्रो कसैले प्रस्ताव ल्याए लगानी बोर्ड प्रदेश कार्यालयमा दर्ता गर्न आउनु भनेर सूचना आव्हान हुनेछ,’ कोइरालाले भने, ‘दर्ता भएका कम्पनीहरूका प्रस्तावबारे मूल्याङ्कन समिति गठन गरेर सोही समितिले उपर्युक्त प्रस्ताव छनौट गर्नेछ । त्यो भन्दा राम्रो प्रस्ताव अर्को कम्पनीले ल्याएको खण्डमा उसले अध्ययन गर्दा गरेको लगानी राम्रो प्रस्ताव ल्याउने कम्पनीले फिर्ता दिन्छ र परियोजना नयाँ कम्पनीले चलाउँछ ।’

केही दिन अगाडि महानगरका उपप्रमुख शिल्पा निराला कार्कीको भनाइ उद्धृत गर्दै महानगर प्रमुख नागेश कोइरालाको सचिवालयले महानगरले बस खरिद गर्ने र चालक तथा सहचालक नियुक्ति गर्ने प्रक्रिया सुरु भइसकेको सूचना सम्प्रेषण गरेको थियो । 

महानगरपालिकाले अहिलेसम्म नगर बस सञ्चालन गर्नका लागि चार वटा रुट पहिचान गर्ने काम मात्रै सम्पन्न गरेको छ । महानगरले बुढीगंगाको गंगाचोकबाट जोगवनी सीमा क्षेत्रसम्म सञ्चालन हुने एउटा रुट तयार गरेको छ । यस्तै विराटनगर ४ इक्राहीबाट नोबेल अस्पताल–विराटनगर विमानस्थल –कञ्चनबारी –पोखरिया –तीनपैनी –कोसी अस्पताल –देवकोटा चोक –जतुवा हुँदै बुधनगरको प्रहरी चौकीसम्म जाने दोस्रो रुट तय गरेको छ । यसैगरी तेस्रोमा दक्षिण–पश्चिम विराटनगरको दशगजा क्षेत्रबाट दरैया –बखरी –पञ्चमुखी चोक –पिचरा –बसपार्क –शनिमन्दिर –जलजला मोड –कोसी अस्पताल –तीनपैनी –पुष्पलाल चोक हुँदै मिलन चोक जाने रुट तय गरेको छ । महानगरपालिकाले चौथो रुटको रूपमा हाट खोलाबाट देवकोटा चोक–महावीर रोड –घाँस चोक –केशलिया नहर हुँदै ब्रह्मपुरासम्म नगर बस सञ्चालन गर्ने रुट तयार पारेको छ । 

विराटनगर महानगरपालिकाले २०५६÷५७ सालमा केही रुटबाट नगर बस सञ्चालनको अभ्यास गरेको थियो । त्यतिबेला महानगरको इन्धन सहयोगमा केही समय नगर बस सञ्चालन गरेको निजी क्षेत्रले बसमा यात्रा गर्ने यात्रु अभाव झेल्नु परेपछि सेवा बन्द गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप