शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रामपुर नगरपालिकामा डिजिटल परिचयपत्र वितरण सुरु

आइतबार, २८ फागुन २०७९, १४ : १२
आइतबार, २८ फागुन २०७९

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य सुरु गरेको छ । पाल्पा जिल्लामै पहिलो पटक रामपुरमा ज्येष्ठ नागरिक, अपाङ्गता परिचयपत्र डिजिटल माध्यमबाट वितरण गर्न थालिएको हो ।

रामपुर–३ बोहरीडाँडा बस्ने ७४ वर्षीय टोपबहादुरसिं ठकुरीबाट परिचयपत्र वितरण कार्य सुरु भएको छ । डिजिटल प्रविधिको परिचयपत्र पाउँदा खुसी लागेको उनले बताए । 

नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई सहज सेवा दिन र रामपुर नगरलाई डिजिटलमैत्री नगरपालिका बनाउन यस कार्यको थालनी गरिएको बताए । 

उनले भने, ‘नगरपालिका कार्यालय, केही वडा कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिसकेको र बाँकी वडामा पनि नगरले राख्ने तयारी गरिरहेको छ । सूचना प्रविधिको विकासलाई अवलम्बन गरी सफ्टवेयर जडान गरेर नगर तथा वडा कार्यालयबाट विभिन्न सेवा दिइरहेका छौँ, नगरलाई डिजिटलमैत्री नगर बनाउने हाम्रो सङ्कल्प छ ।’

सफ्टवेयर अफ नेपाल प्राइभेट लिमिटेडले सफ्टवेयर जडान गरेर सेवा सुरु गरिएको हो । गण्डकी, बागमती प्रदेशका केही पालिकामा सफ्टवेयर जडान गरेको यस संस्थाले पाल्पामै पहिलो पटक रामपुर नगरपालिकामा डिजिटल परिचयपत्र वितरण गरिएको सफ्टवेयर अफ नेपाल प्राइभेट लिमिटेडका इन्जिनियर गङ्गाराम रेग्मीले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिका लागि वर्ग अनुसारको रातो, निलो, पहेँलो, सेतो परिचयपत्र र ज्येष्ठ नागरिकका लागि पूर्ण विवरणसहितको डिजिटल परिचयपत्रको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप