बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
उपराष्ट्रपति चुनाव

जसपालाई ठूला र जनमतलाई साना दलको आश

एमालेलाई कसको साथ ?
मङ्गलबार, ३० फागुन २०७९, १३ : ०९
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौं । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी कायम छ । त्यसमध्ये जनता समाजवादी पार्टीकी नेतृ एवं राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्दै सोही पार्टीका अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गरिसकेकी छन् ।

यस आधारमा तीन जना उम्मेदवारको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । त्यसमध्ये जसपाका रामसहाय यादव र जनमत पार्टीका ममता झाले एक अर्काको मत तान्ने प्रतिस्पर्धा गरेका छन् । यी दुई दलले आ–आफ्ना उम्मेदवारको प्रचार प्रसारलाई तीब्रता दिएका छन् । तर एमालेको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य चुपचाप देखिन्छिन् । हालसम्म उनले चुनाव प्रचारको कुनै गतिविधि अघि बढाएकी छैनन् ।

जसपाले तीन ठूला प्रमुख दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको साथ पाएको छ भने जनमत पार्टीले साना दल लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीको साथ पाएको छ । जनमतले राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि छलफल गरिरहेको छ । जनमत पार्टी स्रोतका अनुसार जनमतलाई सहयोग गर्न राप्रपा सकारात्मक देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म सकारात्मक संकेत नदिए पनि आन्तरिक छलफल जारी रहेको बताइन्छ ।

जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले दलहरुसँग छलफल चलिरहेको बताए । गठबन्धनका दलहरुसँग पनि कुराकानी भइरहेको उनको भनाइ छ । उनले चैत २ गतेसम्म सबै कुरा स्पष्ट हुने बताए ।

उपराष्ट्रपतिका लागि रामसहाय यादवको पक्षमा हालसम्म २८ हजार ६०६ मतभार देखिन्छ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई साथ दिएको कांग्रेसको मतभार १६ हजार १४२, माओवादी केन्द्रको सात हजार ७४५, जसपाको दुई हजार १४५ र नेकपा (एस)को दुई हजार ५७४ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले उपराष्ट्रपतिको विषयमा हालसम्म कुनै निर्णय गरेका छैनन् । तर ती दलको मत पनि सत्ता गठबन्धनकै उम्मेदवार रामसहाय यादवलाई जाने सम्भावना छ । स्वतन्त्र पार्टीको मतभार एक हजार ५०१ र जनमोर्चाको मतभार २०६ छ ।

यी दुवैको मत जोड्दा रामसहाय यादवको पक्षमा ३० हजार ३०३ मतभार देखिन्छ । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाको सम्पूर्ण मतभार ५२ हजार ६२८ छ । त्यसमध्ये २६ हजार ३१५ मतभार ल्याउने उम्मेदवार उपराष्ट्रपतिमा निर्वाचित हुन्छन् ।

रामसहाय यादवलाई समर्थन गरेको कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जसपाको मात्र २८ हजार ६०६ मतभार रहेका कारण उनी उपराष्ट्रपतिमा निर्वाचित हुनेमा ढुक्क देखिन्छन् ।

थप मत तान्नका लागि अन्य दलहरुसँग कुराकानी भइरहेको जसपाका नेता प्रदीप यादवले बताए । कांग्रेस, माओवादी, नेकपा एसले रामसहायलाई मतदान गर्ने निश्चित जस्तै रहेको भन्दै उनले त्यसबाहेक अन्य दल राप्रपा, स्वतन्त्र पार्टी, जनमोर्चालगायतका दलसँग पनि छलफल भइरहेको बताए । ती दलले पनि रामसहायकै पक्षमा मतदान गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह र प्रभु साहले पनि जसपाका उम्मेदवार रामसहाय यादवलाई नै सघाउने विश्वास आफूलाई लागेको उनले बताए । 

एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्यलाई एमालेबाहेकका अन्य कुनै दलले खुलेर समर्थन गरेका छैनन् । एमालेको मतभार १५ हजार तीन सय १२ छ । एमालेलाई पनि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको आश छ । यी दुवै पार्टीको मतभार तीन हजार ९५१ छ । एमालेसँग यो मतभार जोड्दा १९ हजार २६३ पुग्छ । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति चुनावमा सत्ता गठबन्धनको उम्मेदवारलाई सघाएको कारण उपराष्ट्रपतिमा पनि रामसहाय यादवलाई सघाउने जसपाका नेताहरुको दाबी छ ।

यता, उपराष्ट्रपति पदमा उम्मेदवार रहेकी ममता झासँग हालसम्म तीन हजार १०५ मतभार निश्चित छ । उम्मेदवार झालाई समर्थन गरेको लोसपाको मतभार ९७१, नागरिक उन्मुक्ति पार्टीको मतभार ८९२ र जनमत पार्टीको मतभार एक हजार २४२ छ । अन्य उम्मेदवारको तुलनामा यो मतभार निकै कम हो । जनमत पार्टीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि आश गरेको छ ।

उम्मेदवार झा विगतमा राप्रपामा रहेका कारण उनले राप्रपासँग छलफल गरिरहेकी छन् । ममता झासँग हालसम्म सुनिश्चित रहेको तीन हजार १०५ मतभार एमालेको मतभारसँग जोड्दा १८ हजार ४१७ हुन्छ । त्यसमा राप्रपाको मतभार जोड्दा पनि २० हजार ८७६ मतभार मात्र पुग्छ । एमालेलाई चुनाव जित्नका लागि अझै ६ हजार मतभार आवश्यक पर्छ । त्यसमा नेमकिपाको २२३, हाम्रो नेपाली पार्टीको ९६ र राष्ट्रिय सभामा मनोनित गरिएको तीनजनाको मतभार २३७ जोड्दा पनि जित्ने सम्भावना देखिँदैन । सत्ता गठबन्धनको मत काटिएको अवस्थामा मात्र एमालेलाई चुनाव जित्न सहज हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप