संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले राजनीतिक दलहरूले मिथ्याङ्क, तोडमोड गरिएका तर्क र अभिनयको सहारा लिँदा संसद्ले आफ्नो लोकतान्त्रिक बाटो बिराउँदै गएको चिन्ता व्यक्त गरेका छन्।
- सांसद कार्कीले सुस्ताको सीमा जोगाउन गोली खाने मुन्ना खानले नागरिकता नपाएको र काठमाडौँमा भएका आत्मदाहका घटनालाई राजनीतिक स्वार्थ अनुकूल व्याख्या गरिएको विषय उठाएका छन्।
- उनले संसद्लाई वास्तविक बहसको थलो बनाउनुपर्ने र आत्महत्यालाई गरिबीसँग मात्र नजोडी सामाजिक तथा मनोवैज्ञानिक कारणबारे पनि ध्यान दिनुपर्ने बताएका छन्।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद् तथ्य र सत्यका आधारमा चल्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद कार्कीले राजनीतिक दलहरूले संसद्मा आफ्नो अनुकूलता अनुसार मिथ्याङ्क, तोडमाेड गरिएका तर्क र अभिनयको साहारा लिँदा संसद्ले आफ्नो वास्तविक लोकतान्त्रिक बाटो बिराउँदै गएको चिन्ता व्यक्त गरे।
संसद् सङ्कुचित प्राविधिक विषयमा मात्र नभएर पुराना पुस्ताको सम्मान, नयाँ पुस्ताको सुख र भावी पुस्ताको सम्भावना सुनिश्चित गर्ने थलो हुनुपर्ने उनको भनाइ थियो।
कार्कीले संसद्मा राष्ट्रवादको कुरा सुनिने गरे पनि वास्तविक राष्ट्रवादीहरूको अवस्था निकै दयनीय रहेको उदाहरण पेस गरे।
सुस्ताको सीमा जोगाउन २०४० सालमा आफ्नो शरीरमा ६ वटा गोली खाएका मुन्ना खानको प्रसङ्ग उठाउँदै उनले भने, ‘हामी सुस्ता मिचिएको कुरा त गर्छौँ, तर सुस्ता जोगाउन लडेका र अहिले पनि शरीरमा गोलीको दाग बोकेर बाँचेका मुन्ना खानले अझैसम्म नेपाली नागरिकता पाएका छैनन्। उनी नागरिकता माग्न काठमाडौँ धाउनुपरेको छ। योभन्दा ठुलो राष्ट्रको अपमान के हुन सक्छ ।’
कार्कीले काठमाडौँमा हालै भएका आत्मदाहका घटनाहरूलाई राजनीतिक स्वार्थ अनुकूल व्याख्या गरिएको प्रति आपत्ति जनाए।
केही दिनमा नै तीन जनाले आत्मदाह गरेको विषयमा संसद् तातेको तर प्रहरीको तथ्याङ्क अनुसार दैनिक औसत २० जनाले आत्महत्या गर्ने गरेको यथार्थलाई ओझेलमा पारिएको उनले बताए।
‘त्रिपुरेश्वरमा भएको आत्मदाहको घटनालाई लिएर संसद् र सडक तात्यो किनभने त्यहाँ राजनीतिक स्वार्थ मिल्छ,’ कार्कीले भने, ‘तर त्यही दिन मात्र २ किलोमिटरको दूरीमा रहेको धोबीखोलामा डुबेर ज्यान गुमाउनेको नाम कसैलाई थाहा छैन। यसरी राजनीतिक लाभका आधारमा घटनाको छनोट गर्नु दृष्टिभ्रम हो कि राजनीतिक अभिष्ट ।’
उनले आत्महत्यालाई गरिबीसँग मात्र जोडेर हेर्ने संसद्को सतही दृष्टिकोणको समेत आलोचना गरे। संसारकै सर्वाधिक सुखी र सम्पन्न मानिने मुलुक फिनल्याण्डमा पनि प्रति १ लाखमा १४ जनाले आत्महत्या गर्ने गरेको तथ्य पेस गर्दै उनले यसको सामाजिक र मनोवैज्ञानिक कारण फरक रहेको तर राजनीतिक फाइदा नहुने भएकाले त्यसतर्फ ध्यान नदिइएको उनको भनाइ थियो ।
सांसद कार्कीले संसद्लाई वास्तविक बहसको थलो बनाउनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचारको आरोपमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता निष्कासित
-
तीन निकायका वार्षिक प्रतिवेदन सदनमा पेस
-
बाजुरा–हुम्ला सीमा विवाद : १० जना थुनामा, ८ जना धरौटीमा रिहा
-
पूर्वाधारमन्त्री भन्छन्– काठमाडौँमा सरकारी लगानीमा मेट्रो रेल बन्दैन
-
मलाई निरन्तर गोली हान्ने र ज्यान मार्ने धम्की आइरहेको छ: प्रमुख सचेतक महर
-
तारकेश्वरको रिसोर्टमा प्रहरीको छापा, २४ जना जुवाडे पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण