शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

९ गतेदेखि विराट गोल्डकप, कुन कुन क्लबले खेल्दै छन् ?

मङ्गलबार, ३० फागुन २०७९, १५ : १५
मङ्गलबार, ३० फागुन २०७९

विराटनगर । शहीद  रंगशाला विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा सहभागी सातवटै टिमको टुंगो लागेको छ । चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब एपीएफसहित विदेशी टिमको पनि सहभागीता रहने भएको छ ।

विराट गोल्डकपका लागि भारतबाट २ वटा टिम आउने पक्का भएको गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए । भारतमा जारी आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने छन् । 

यसैगरी नेपालका ३ वटा विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिसका साथै घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लबले सहभागीता जनाउने छन् । विभागीय क्लबबाहेक ए डिभिजन खेलिरहेका संकटा क्लब र  जावलाखेल युथ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउने छ ।

यस सिजन प्रतियोगिताको पुरस्कार राशि पनि बढाउने कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए ।  गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उपविजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो ।

यस सिजन विजेताले कम्तिमा २० लाख र उप विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ । यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलहरु रातिको  समयमा फलर्ड लाइटमा सञ्चालन हुने छन् । ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुने छ । अहिले शहीद रंगशाला मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप