सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीका शीर्ष नेताहरूको चर्को दबाबपछि त्रिविका बागी उम्मेदवारले नाम फिर्ता लिए

बिहीबार, ०२ चैत २०७९, ११ : ५६
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बागी उम्मेदवारी दिएका विष्णु बडैलाले नाम फिर्ता लिएका छन् । नेविसंघको तर्फबाट बागी उम्मेदवारी दिएका उनले नेपाली कांग्रेसका नेताहरूको चर्को दबाबपछि उम्मेदवारी फिर्ता लिएका हुन् । 

नेविसंघले श्यामराज ओझालाई टिकट दिएपछि बडैलाले स्वतन्त्र समूह खडागरी छुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए । 

उनको उम्मेदवारी फिर्ता गराउनको लागि पार्टीका शीर्ष नेताहरू नै लागेका थिए । बुधबार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोर सिंह राठोर, नेता वीरबहादुर बलायरलगायतका नेताहरूले उनलाई छलफलका लागि बोलाएका थिए । त्यही क्रममा उनलाई नाम फिर्ता लिन आग्रह गरिएको थियो । 

पार्टीका शीर्ष नेताहरूको आग्रह टार्न नसकेर उम्मेदवारी फिर्ता लिएर ओझालाई आफ्नो समर्थन रहेको बडैलाले बताए । छलफलको क्रममा उनलाई कुनै न कुनै जिम्मेवारी दिने बताएका थिए । 

बडैलाको प्यानलबाट सचिवमा योगेन्द्र बम, कोषाध्यक्षमा निश्चल घिमिरे, सदस्यमा जीवनराज ढुङ्गाना, रमेश ऐरी, इन्द्रकुमार रावल र मानबहादुर बोहराले उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी फिर्तासँगै त्रिविमा नेविसंघबाट तीन वटा समूह रहेका छन् । यसअघि ओझासँगै ४ वटा समूहले उम्मेदवारी दिएको थियो । 

त्रिविमा नेविसंघको आधिकारिक उम्मेदवारलाई अखिल क्रान्तिकारी र अनेरास्ववियूको समर्थन रहेको छ । यसअघि नेविसंघबाट चार वटा समूह रहेपछि क्रान्तिकारी र अनेरास्ववियू समस्यामा परेका थिए । 

कांग्रेसका शीर्ष नेताहरू ओझाको समूहलाई आधिकारिक मान्दै अन्यलाई पनि फिर्ता गराउने प्रयासमा जुटेका छन् ।

उनीहरूले नमानेको खण्डमा नेविसंघले ओझालाई आधिकारिक समूह मान्दै त्रिविलाई पत्र पठाउने र सोही आधारमा मतदान गर्न आग्रह गर्ने तयारी गरेको छ ।

336191034_554903006462924_3219976238709162453

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप