बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
उपराष्ट्रपतिको जीवनी

रामसहाय प्रसाद यादव : विद्यालयको शिक्षकदेखि उपराष्ट्रपतिसम्म

शुक्रबार, ०३ चैत २०७९, १७ : २३
शुक्रबार, ०३ चैत २०७९

नेपालको चौथो उपराष्ट्रपतिको रुपमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न उपराष्ट्रपति निर्वाचनमा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै नेपालको चौथो उपराष्ट्रपतिमा यादव निर्वाचित भएका हुन् । 

यस्तो छ उपराष्ट्रपति यादवको संक्षिप्त जीवनी 

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ३, का स्थायी बासिन्दा रहेका यादव २०२७ साउन ९ गते बाबु प्रसादराय यादव र सिंहवादेवी यादवको कोखबाट जन्मिएका थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् । राजनीतिमा आउनुअघि उनी शिक्षण पेसामा आवद्ध थिए । यादवले बीएस्सी, बीएडसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । 
राजनीतिमा आउनुअघि १७ वर्ष शिक्षण पेसामा जीवन बिताएका यादव २०४८ सालदेखि २०६४ सालसम्म शिक्षकको भूमिकामा थिए भने त्यसपछि पूर्णकालीन राजनीतिमा लागेका थिए । 

२०४७ सालमा उनी तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिंहबाट प्रेरित भएर राजनीतिमा लागेका थिए । नेपाल सद्भावना पार्टीमा आबद्ध भएर राजनीतिक जीवन सुरु गरेका उनी २०६० सालदेखि उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा आवद्ध भएका थिए । सुरुमा उनी फोरमको बारा जिल्लाको संस्थापक अध्यक्ष बनेका थिए ।

२०४३ सालमा श्री कंकाली मा.वि. सिम्रौनगढ, बाराबाट एसएलसी उत्तीर्ण गरेका उनले २०४६ सालमा भारतको डा.बाबासाहेब भिमराव अम्बेडकर विश्वविद्यालय मुजफ्फरपुरबाट गणित र विज्ञान विषयमा बी. एससी. गरेका थिए । यस्तै २०५५ सालमा ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजबाट गणित विषयमा बी.एड. तह पूरा गरेका थिए । २०४८ सालमा शिक्षण पेसामा प्रवेश गरेका उनले २०६४ साल फागुन १६ गते शिक्षक पदबाट राजीनामा दिएका थिए । २०४७ सालमा नेपाल सद्भावना पार्टीमा आवद्ध रहेका यादव पछि नेपाल शिक्षक मञ्च, बाराको संस्थापक अध्यक्ष बने । पछि उनी नेपाल शिक्षक मञ्च, केन्द्रीय समितिको कोषाध्यक्षको जिम्मेवारीमा रहे । 

२०५० सालमा वीरगंजमा भएको नेपाल सद्भावना पार्टीको तेस्रो महाधिवेशनमा उनी पर्यवेक्षक रहेका थिए भने विराटनगरमा भएको नेपाल सद्भावना पार्टीको चौथो महाधिवेशन र २०५९ सालमा राजविराजमा भएको पाँचौं महाधिवेशनमा उनी प्रतिनिधि थिए । पाँचौं महाधिवेशनमा पार्टीमा विवाद भएर फुटतर्फ गएपछि पार्टी एकता कायम राख्न उनी सप्तरी सेवा आश्रममा आमरण अनसनसमेत बसेका थिए । 

गजेन्द्रनारायण सिंहकी पत्नी आनन्दी देवीले उनको अनसन तोडाएकी थिइन् । पछि आनन्दीदेवीकै नेतृत्वमा बनेको नेपाल सद्भावना पार्टी (आनन्दी)बाट राजनीति अघि बढाएका थिए । यादव २०६० साल फागुन ७ गतेदेखि मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक अध्यक्ष भएर काम गर्न थाले । यस्तै २०६० सालमा भारतको पटनामा भएको मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय सदस्य भएका थिए । 

२०६२/०६३ सालमा भएको जनआन्दोलका बेला उनी काठमाडौंमा पक्राउ परेका थिए । यस्तै २०६२/०६३ सालमा मधेशमा भएको आन्दोलनमा क्रममा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्व गर्दा ५–६ पटक उनी गिरफ्तारीमा परेका थिए ।  २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट समानुपातिक तर्फको सांसद भए उनी २०६५ सालमा पार्टी महासचिवको जिम्मेवारीमा रहे । २०७२ सालमा मधेसी जनअधिकार फोरम, नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम, नेपालको महासचिव भएका थिए उनी । 

यस्तै उनी २०७४ सालमा बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७५ सालमा संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिव भए । २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएका थिए । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला २०७८ सालमा उनी वन तथा वातावरण मन्त्री भएका थिए । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता बन्न सफल भएका थिए । 

उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले पार्टी तथा सरकारको प्रतिनिधि भई अमेरिका, पोल्याण्ड, चीन, बेलायत, (स्कटल्याण्ड, इंग्ल्याण्ड) बेल्जियम, युएई (संयुक्त अरब इमिरेट्स) लगायतका देशको भ्रमण गरेका छन् ।  पछिल्लो समय उनी जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य र संसदीय दलको नेताको भूमिकामा थिए । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उनले अब पार्टीको भूमिका छाड्नुपर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप