मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले देशलाई अस्थिरताको बाटोमा धकेले : गोकर्ण विष्ट

शनिबार, ०४ चैत २०७९, १४ : २७
शनिबार, ०४ चैत २०७९

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अस्थिरताको बाटोमा धकेलेको आरोप लगाएका छन् । शनिवार हेटौंडा प्रेस चौतारी मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलजनमा बोल्दै सचिव विष्टले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको प्रचण्डले एमालेसँग गरेको सहमति २ महिना पनि नपुग्दै तोडेर देशमा अस्थिरता निम्त्याउन खोजेको बताए ।

सचिव विष्टले राजनीतिक नैतिकता बिर्सेर एमालेसंगको सहमति तोडेको भन्दै प्रधानमन्त्री प्रचण्डले अस्थितरताको अगुवाको संज्ञा समेत दिए । उनले एमाले भन्दा बाहेकको अहिले सत्ता समीकरण लामो समयसम्म नटिक्ने दावी पनि गरे । अहिलेको समीकरण पद र सत्ता प्राप्तिका लागि मात्रै बनेकाले लामो समय नटिक्ने सचिव विष्टको भनाई छ । ‘प्रधानमन्त्रीले देशमा अस्थिरता निम्त्याउने कामको अगुवाई गर्नुभएको छ । देशमा राजनीतिक अन्योलता सृजना गर्ने र  देशलाई बर्बादीको दिशा तर्फ लाने काम प्रधानमन्त्री प्रचण्ड स्वयंले गरिरहनुभएको छ ।’ उनले भने, ‘नेकपा एमालेसँग मिलेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । तर उहाँले सहमतिको २ महिना नपुग्दै सहमतिलाई तोड्नुभएको छ । देशमा अस्थिरता निम्त्याउने कामको नेतृत्व देश भित्र र बाहिर रहेका विभिन्न शक्ति केन्द्रहरुको आडमा प्रधानमन्त्रीले नै गरिरहनु भएको छ ।’

एमालेलाई कमजोर बनाउनका लागि बाहिरी शक्तिको आडमा कसैले अराएको र सिकाएकै भरमा पछिल्लो समयमा माओवादी केन्द्र, नेपाली कांग्रेस लगायतका पार्टीको सत्ता समीकरण बनेको सचिव विष्टले बताए । यस किसिमका कदमले प्रधानमन्त्री स्वयम्लाई समस्या पर्ने उनको भनाई छ । ‘देशी विदेशी शक्ति केन्द्रहरुको स्वार्थमा कसैले सिकाएको, अह्राएको भरमा यो सत्ता समीकरण बनेको छ । यसले बाहिरी शक्तिलाई सेवा पुर्याउने गरि काम गरेका छन् । प्रधानमन्त्री प्रचण्डका यस किसिमका कदमले स्वयं आफैंले थापेको पासो सावित हुनेछ’ उनले भने ।

राष्ट्रपति र उपराष्ट्रपति चुनावबाट एमाले नअतालिएको उनले बताए । आगामी दिनमा एमालेले जनताका मुद्दा संसदभित्र र संसद बाहिरबाट उठाउने उनको भनाई छ । सचिव विष्टले प्रदेशको शक्ति सन्तुलन अनुसार नै प्रदेश सरकारको समीकरण हुने बताए । उनले एमाले केन्द्र सरकारबाट बाहिरिए पनि तत्काल प्रदेश सरकारहरुबाट नबाहिरिने संकेत गरे । केन्द्रमा जस्तो शक्ति सन्तुलनको अवस्था प्रदेशहरुमा नरहेकोले सरकारबाट एमाले बाहिरिहाल्नु पर्ने अवस्था नरहेको उनले बताए ।

‘प्रदेशको शक्ति सन्तुलनको आधारमा नै सरकार समिकरण बन्छ । प्रदेशको शक्ति सन्तुलनको अवस्था केन्द्रको भन्दा फरका छ । केन्द्रमा जस्तो शक्ति सन्तुलनको अवस्था प्रदेशहरुमा त्यस्तै अवस्था छैन । सबै प्रदेशहरुको वस्तुगत अवस्थामा आधारित भएर परिस्थितिले जे माग गर्नेछ त्यसै अनुसार एमालेले निर्णय गर्नेछ’ उनले भने ।

एमाले सचिव विष्टले सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटाएको प्रति असन्तुष्टि व्यक्त गरे । सरकारले रासायनिक मलको मूल्यवृद्धि गरेर किसानलाई मारमा पारेको भन्दै किसानको उत्पादनको लागत बढाएर देशमा परनिर्भर बनाउन खोजेको आरोप लगाए । किसानले प्राप्त गरिरहेको सुविधा कटौती गरेर सरकार किसान र गरिखानेको पक्षमा नरहेको पुष्टि गरेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप