बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

चितवन, भैरहवा र कास्कीका कुनै पनि क्याम्पसमा हुन सकेन स्ववियु निर्वाचन

आइतबार, ०५ चैत २०७९, १३ : २०
आइतबार, ०५ चैत २०७९

काठमाडौं । चितवन, भैरहवा र कास्कीका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन हुने सकेको छैन् । ति जिल्लाहरूबाहेक अन्य जिल्लामा भने उत्साहजनक रूपमा मतदान भइरहेको त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।  चितवनका ३ वटै आंगिक क्याम्पसमा चुनाव हुन सकेको छैन् । चितवनका चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, कृषि क्याम्पस रामपुर खैरहनी, वीरेन्द्र क्याम्पस भरतपुर चुनाव हुन सकेको छैन् । आन्तरिक विवादका कारण ती क्याम्पसहरूमा चुनाव हुन नसकेको समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले बताए । 

त्यस्तै कास्कीका ४ वटै क्याम्पसमा समेत निर्वाचन अवरूद्ध भएको छ । पोखराका पोखरा नर्सिङ क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, पोखरा क्याम्पस (वन) र पृथ्वीनारायण क्याम्पसमा निर्वाचन हुन सकेको छैन् ।  ती बाहेक अन्य क्याम्पसमा पनि चुनाव हुन सकेको सदस्य सचिव अधिकारीले बताए । 

१० हजार भन्दा बढी मतदाता विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पसमा अदालतले नै निर्वाचन गतिविधि सञ्चालन नगर्न आदेश दिएको थियो । निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी समेत गरिएको छ । जसले गर्दा मनोनयन नै दर्ता हुन सकेको छैन । त्यसपछि उच्च अदालतले निर्वाचनको गतिविधि सञ्चालन नगर्न अल्पकालीन आदेश दिएको थियो । जसले गर्दा निर्वाचन हुन सकेको छैन । क्याम्पसको विवाद अदालतसम्म पुगेपछि निर्वाचन समितिले नै राजीनामा दिएको छ । 

त्यस्तै, मनोनयन दर्ता भएर पनि अदालतका कारण पोखरा नर्सिङ क्याम्पसको स्ववियु निर्वाचन रोकिएको छ । सरकारी सेवासुविधा लिइरहेको व्यक्तिले उम्मेदवारी दिएको भन्दै अनुष्ठा चापागाईंले ३० फागुनमा उच्च अदालत पोखरामा रिट दायर गरेकी थिइन् । अदालतले तत्काल निर्वाचन नगराउन अन्तरिम आदेश जारी गरेको थियो । जसले गर्दा निर्वाचन प्रक्रिया रोकिएको छ । 

त्यस्तै उम्मेदवारी दर्ता भएर पनि पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा पनि स्ववियु निर्वाचन हुन सकेको छैन । उम्मेदवार टिकट बाँडफाँटमा मनोमानी भएको भन्दै नेविसंघको एक समूह आमरण अनसनमा बसिरहेको छ । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा समेत माग गरेका छन् । त्यस्तै वन विज्ञान अध्ययन संस्थानमा पनि तालाबन्दीका कारण निर्वाचन हुन सकेको छैन । 

त्यस्तै भैरहवाका भैरहवा बहुमुखी, पक्लिहवा क्याम्पस भैरहवामा पनि निर्वाचन हुन सकेको छैन ।  निर्वाचन हुन नसकेका क्याम्पसहरूमा सरोकारवाला निकायसँग वार्ता र छलफल गरेर तत्काल निर्वाचन गराउन समितिले निर्देशन दिएको छ । सोही आधारमा उनीहरूले सरोकारवाला पक्षसँग छलफल गरेर निर्वाचन गराउने तयारी थालेका छन् । 
त्रिविका ६२ वटा आंगिक क्याम्पसहरूमध्ये केहीमा निर्वाचन हुन सकेको छैन । ती बाहेक अधिकांश क्याम्पसहरूमा उत्साहजनक रूपमा निर्वाचन भइरहेको त्रिविले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप