शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

मोरङका पाँच क्याम्पसमध्ये तीनमा अखिल, एक–एकमा नेविसंघ र क्रान्तिकारी

सोमबार, ०६ चैत २०७९, ०९ : २२
सोमबार, ०६ चैत २०७९

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियनको आइतबार सम्पन्न निर्वाचनमा मोरङका चार क्याम्पसको परिणाम आएको छ । जसमध्ये तीनवटामा एमाले निकट अनेरास्ववियु र एक–एक क्याम्पसमा काँग्रेस निकट नेविसंघ र माओवादी निकट अखिल क्रान्तिकारीले जित निकालेका छन् । 

मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल नै विजयी भएको छ । क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका विवेक कार्की निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले निकट अनेरास्ववियुकी प्रीति दाहाल पराजित भएकी हुन् । यस्तै सचिवमा नेविसंघका देवेन्द्र पौडेल विजयी भएका छन् ।

यस्तै अनेरास्ववियुले लेटाङ क्याम्पस, रमाइलो क्याम्पस र नर्सिङ क्याम्पसमा पनि जित निकालेको छ । लेटाङ क्याम्पसमा अनेरास्ववियुका छवि श्रेष्ठ र रमाइलोमा मालती रेग्मी विजयी भएका हुन् । नर्सिङ क्याम्पसमा भने अनेरास्ववियुकी प्रशंसा पौडेल विजयी भएकी छिन् ।

यस्तै विराटनगरको डिग्री क्याम्पसमा पनि अनेरास्ववियुका निर्मल गजुरेल सभापतिमा विजयी भएका छन् । मोरङको केराबारीमा रहेको खदम क्याम्पसमा भने अखिल क्रान्तिकारीको प्यानल नै निर्विरोध भएको छ । उक्त क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका सिमान्त लुइँटेल निर्विरोध भएका हुन् ।

कोशी प्रदेशकै सबैभन्दा ठूलो क्याम्पसको रुपमा रहेको विराटनगरको महेन्द्र मोरङ क्याम्पसको मतगणना भने अझै हुन सकेको छैन । हिजो अबेर मतदान सकिएको भए पनि विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा मतगणना हुन नसकेको हो । मतगणना सुचारु गराउन १० बजे सबै संगठनसँग छलफल राखिएको छ । त्यसपछि मतगणना हुने निर्वाचन समितिले जनाएको छ । यस्तै मोरङको सुकुना क्याम्पसमा भने आज मतदान हुँदैछ । मोरङकै पथरी क्याम्पसको पनि मत परिणाम अझै आउन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप