सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘राष्ट्रका लागि संगीत अभियात्रा’ ल्याएर जनवादी कलाकारको टोली सुर्खेतमा

मंगलबार गुञ्जिनेछन्, क्रान्ति, परिवर्तन र एकताका गीतहरु
सोमबार, ०६ चैत २०७९, १८ : ४५
सोमबार, ०६ चैत २०७९

सुर्खेत । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियान ल्याएर जनवादी कलाकारको टोली सुर्खेतमा आएको छ । मंगलबार वीरेन्द्रनगरको सिटी हलमा आयोजित कार्यक्रममा १६ जना जनवादी कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने भएका हुन् । 

कलाकारको टोलीमा जनवादी गीतकार तथा संगीतकार मणि थापा, जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, जीवन शर्मा, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, उदय रिजाल, लक्ष्मण पाखीन, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा जनवादी गायक नारायण शर्मा रहेका छन्  । 

यसअघि धनगढीमा कार्यक्रम सम्पन्न गरेको टोलीले मंगलबार सुर्खेत र क्रमशः सबै प्रदेशमा कार्यक्रम गरी देशमा एकताको सन्देश छर्ने उद्देश्य राखेको छ । मंगलबारको कार्यक्रम सहभागीले निःशुल्क हेर्न पाउनेछन् भने कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राजनीतिक दलका नेता लगायतको उपस्थिति रहने जनवादी गीतकार मणि थापाले जानकारी दिए । 

कार्यक्रममा जनयुद्धका चर्चित कलाकार मोहित र विद्रोहीले ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन, टुटफुट र खण्डितका कुरा नगर, एकताका कुरा गर’ लगायतका गीतहरु सुनाउने छन् भने मणि थापाले ‘अरुण तरेर’ लगायतका गीतहरु सुनाउने छन् । 

‘सम्भवतः शान्ति प्रक्रियापछि जनवादी कलाकारहरुले यसरी पहिलो पटक एक ठाउँमा भेला भएर ‘राष्ट्रका लागि संगीत अभियात्रा’ लिएर देश दौडाहामा हिँडेका हौँ,’ गीतकार मणि थापाले भने,‘ यो देशको राजनीति परिवर्तनमा कलाकारको भूमिका महत्त्वपूर्ण छ । अहिले सरकार पटक–पटक परिवर्तन भइरहने तर जनताको अवस्थामा परिवर्तन आएको छैन, यसमा जनवादी कलाकारहरु खुसी छैनन् ।’ 

थापाले मूल राजनीतिक पार्टीहरु विचलित भइरहेको र समाज विखण्डनतिर गइरहेकोप्रति चिन्ता व्यक्त गरे । कलाकारको टोलीले ‘देशमा एकता’को आवश्यकता रहेको र जनवादी कलाकारहरुले गीत मार्फत एकताको सन्देश छर्ने जनाएको छ । 

पुर्व मन्त्री समेत रहेका थापाले राजनीतिक परिवर्तन भएपनि सांस्कृतिक रूपान्तरण नभएको बताए । साथै जनवादी कलाकाहरुलाई राजनीतिक दल र राज्यले समेत बेवास्ता गरिरहेको प्रति जनवादी कलाकारहरुको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप