बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वामपन्थीहरुलाई जनवादी कलाकारको अनुरोध–टुटफुट होइन, अब एकताका कुरा गर

मङ्गलबार, ०७ चैत २०७९, २१ : ४०
मङ्गलबार, ०७ चैत २०७९

सुर्खेत । ‘टुटफुट र खण्डित कुरा नगर

आत्मसमर्पणको कुरा नगर

एक ढिक्का एकताको कुरा गर

वीरताको कुरा गर’

मंगलबार वीरेन्द्रनगरको सिटी हलमा १६ जना जनवादी कलाकारले एकै पटक यो गीत गाउँदै नेपालका वामपन्थीहरुलाई एक ठाउँमा आउन आह्वान गरे । नेपालमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि जनताको अवस्थामा बदलाव नआएको भन्दै कलाकारहरुले वामपन्थीहरुलाई एक ठाउँमा उभिएर रुपान्तरणका लागि अग्रसर हुन सुझाव दिए ।

कम्युनिस्टहरु विभाजित बनिरहेकोप्रति जनवादी कलाकारहरुले चिन्ता व्यक्त गरे । देश अब खण्डित भएर होइन, एकताका माध्यमबाट मात्रै रुपान्तरण हुन सक्छ र त्यसका लागि वामपन्थीहरु एक ठाउँमा उभिनुबाहेक अर्को विकल्प नरहेको कलाकारहरुले गीतमार्फत सन्देश दिए ।

‘हिजो १० वर्षे जनयुद्धको बेलामा जसरी माओवादीहरुले व्यवस्था परिवर्तनका लागि संघर्ष गरेका थिए, सत्ताको रङ्गमञ्चमा आउँदा माओवादीहरु टुटफुटको अवस्थामा पुगे,’ जनवादी गायक कर्ण विद्रोहीले भने, ‘यो हाम्रा लागि दुखद् कुरा हो । उतिबेला जुन उद्देश्यका साथ हामीले संघर्ष गरेका थियौँ, अहिले केही रुपमा व्यवस्थामा परिवर्तन आए पनि गरिब, सर्वहारा वर्गहरुको अवस्थामा परिवर्तन आएन ।’

यतिबेला माओवादीहरु आफै जुँगाको लडाइँमा रहेको भन्दै उनले त्यही भएर आफूहरु ‘टुटफुटमा कुरा नगर अब, बरु एकताको कुरा गर, यसले नै दुनियाँ बदल्ने संकल्प गर्न सक्छ’ भन्ने सन्देश छर्दै देश दौडाहामा होमिएको बताए ।

कर्ण विद्रोही र मोहित श्रेष्ठले जनयुद्धकै क्रममा चुनवाङ बैठकमा यो गीत गाउँमा माओवादी नेताहरु धरधरी रोएका थिए । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियानसहित मंगलबार वीरेन्द्रनगरमा प्रस्तुति दिएको जनवादी कलाकारको टोलीमा जनवादी गीतकार तथा संगीतकार मणि थापा, वरिष्ठ जनवादी गायक जीवन शर्मा, जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, उदय रिजाल, लक्ष्मण पाख्रिन, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा जनवादी गायक नारायण शर्मा छन् ।

वरिष्ठ गायक जीवन शर्माले सिमली छायाँले, झरनाको चिसो पानी, चाहिँदैन मलाई सिसाको महल लगायतका गीत गाएका थिए । उनले वर्तमान अवस्थामा देशमा भ्रष्टाचार मौलाइरहेको र कम्युनिस्टहरु पनि त्यसमा लिप्त रहेकोप्रति चिन्ता व्यक्त गरे ।

‘नेता जनताको साथमा रहनुपर्छ,’ उनले थपे, ‘तर नेपालमा जनताको अवस्था र नेताको अवस्थामा आकाश पातालको फरक छ, यो दुखद् पक्ष हो ।’

वामपन्थीहरु टुटफुटको अवस्थामा भइरहँदा जनवादी कलाकारहरु भने यतिबेला एक ठाउँमा आएका छन् । ‘हाम्रो एउटै उद्देश्य हो, खण्डिकरणले समाज पनि खण्डिकरणको दिशामा अग्रसर छ, अब एकताको कुरा गर्नुपर्छ,’ कलाकारहरुको एउटै स्वर छ ।

गीतकार मणि थापाले अब नेपालका वामपन्थीहरु सञ्चिनु बाहेक विकल्प नरहेको बताए । कार्यक्रममा जनयुद्धको झल्को दिने गीत, नाटक र राष्ट्रियता झल्काउने गीतहरु प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, कानुन मन्त्री कृष्ण जिसी, पर्यटन मन्त्री जीतबहादुर मल्ल, राष्ट्रिय सभा सदस्य नरबहादुर विष्ट, प्रदेश सभाका सांसद, माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल लगायत विभिन्न राजनीतिक दलका नेता, कार्यकर्तादेखि स्थानीयको समेत सहभागिता थियो ।

मुख्यमन्त्री शर्माले कलाकारको टोलीसँगै नाचेर साथ दिएका थिए । यसअघि धनगढीमा कार्यक्रम गरिसकेको टोलीले अन्य प्रदेशमा पनि कार्यक्रम प्रस्तुत गर्ने र वामपन्थीहरुलाई एक ठाउँमा उभिनुपर्ने सन्देश छर्ने उद्देश्य राखेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप