बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

खेलाडीलाई पुरस्कार वितरणमा होडबाजी, पूर्वाधार विकासमा न्यून लगानी

प्रधानमन्त्रीको निर्देशन पछि के–के काम भयो ?
बुधबार, ०८ चैत २०७९, १५ : १०
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाली क्रिकेट राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै विश्वकप छनोटमा पुगेसँगै पुरस्कार वितरणमा संघ र प्रदेश सरकारबीच पुरस्कारको होडबाजी चलेको छ । 

प्रत्येक पटक नेपाली क्रिकेट खेलाडीले प्रतियोगिता जितेपछि राज्यले खेलाडीलाई सम्झन्छ । प्रोत्साहनस्वरुप दुई–चार लाख रुपैयाँ दिन्छ । त्यसपछि खेलाडी कस्तो परिवेशमा खेलिरहेका छन्, भौतिक पूर्वाधारको अवस्था के छ, त्यसबारे राज्य बेखबर जस्तै हुन्छ । 

नेपालले क्रिकेट खेलमा एकपछि अर्को फड्को मारिरहँदा देशमा एउटै पनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनेको छैन । बिहीबार मात्र कीर्तिपूर स्टेडियममा भएको खेलमा दर्शकहरु रुख–रुखमा बसेर प्रतियोगिता हेर्न बाध्य बनेका थिए । फ्लड लाइट नहुँदा सो खेल पुरा अवधि खेलाउन सकिएन । मैदानमा स्कोर बोर्डलगायत अन्य पूर्वाधार पनि छैनन् । 

क–कसले दिँदैछ पुरस्कार ?

संघीय सरकारले क्रिकेट टिमका सबै सदस्यलाई जनही तीन लाख रुपैयाँ पुरस्कारसहित दिने घोषणा गर्ने बित्तिकै मधेस प्रदेश सरकारले दुई खेलाडीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही पुरस्कार दिइनेछ  । 

शनिबार सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । सुदूरपश्चिम सरकारले अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको छ । नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप जोरालाई एक लाख तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाली टोलीको अन्तिम १८ मा पर्न सफल सुदूरपश्चिमका कमलसिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने सरकारले बताएको छ । 

खेलाडीले कति पाउँछन् पारिश्रमिक ?

तेस्रो मुलुकसँग हुने प्रतिस्पर्धामा सम्पूर्ण खर्च अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले व्यहोर्दै आएको छ । राष्ट्रिय टिममा परेका नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका खेलाडीले मात्रै सरकारी तलबसँगै अतिरिक्त आम्दानी बुझ्छन् । बाँकी अन्य खेलाडीले नियम अनुसार पाउने तलब भत्ता पाउँदै आएका छन् । 

राष्ट्रिय टोलीका खेलाडीहरूलाई क्यानले तीन ग्रेडमा बाँडेको छ । जसमा ग्रेड अनुसार मासिक तलब दिँदै आइरहेको छ । जसमा ‘ए’ ग्रेडका खेलाडीहरूले मासिक ६० हजार तलब पाउँदा ‘बी’ ग्रेडकाले ५० र ‘सी’ ग्रेडका खेलाडीहरूले ४० हजार मासिक तलब पाउँछन् । राष्ट्रिय टोलीका खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलाडीले प्रत्येक खेलबापत ३० देखि ४० डलर दैनिक भत्ता पाउँछन् । 

आईसीसीले  नेपाललाई वार्षिक १३ करोड रुपैयाँ प्रतियोगिता आयोजना लगायत अपरेसन कष्टको लागि सहयोग दिँदै आएको छ । नेपाली क्रिकेट संघले राष्ट्रिय संघ (क्यान) ले नेपाली खेलाडीहरूको नियमन गर्छ । 

हाल क्यानका अध्यक्ष रहेका चतुरबहादुर चन्द क्रिकेट पूर्वाधारको विकास गर्न नसकेको स्वीकार गर्छन् । 

भौतिक पूर्वाधारको अभाव छ

चतुरबहादुर चन्द, अध्यक्ष, क्यान

भौतिक पूर्वाधारको विकास गर्न नसकेकोमा हामीलाई चिन्ता छ । प्रधानमन्त्रीज्यूले भर्खरै स्कोर बोर्ड र फ्लड लाइटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ । तर, उहाँसँग भेट्दा हामीले गुनासो राख्न पाएनौँ । सल्लाहकारले जे भन्यो त्यही कुरा मात्रै गर्नुभयो । 

कीर्तिपुरमा बिहीबार हजारौँ दर्शकहरूले चौरमै बसेर खेल हेरे । त्यो दिन हावाहुरी लगायतको विपद् आइपरेको भए ठुलो दुर्घटना हुन सक्थ्यो । क्रिकेट प्रेमीले पैसा तिर्दा पनि सहज हिसाबले हेर्न पाएनन् । यो विषयमा बहस हुनु जरुरी छ । सातवटै प्रदेशमा रंगशाला बनाउने कुरा धेरैपछिको कुरा भयो । अहिले सरकारले मूलपानी र कीर्तिपुर क्रिकेट मैदानलाई भौतिक पूर्वाधार सम्पन्न गराउन सकियो भने ठुलो उपलब्धि हुनेछ । 

दीर्घकालीन सोचको अभाव छ 

विनयराज पाण्डे, पूर्व अध्यक्ष, क्यान

binay raj pandey

सरकारले खेलाडीलाई पुरस्कार दिनु राम्रै कुरा हो । तर, यो अल्पकालीन लगानी मात्रै हो । सरकारमा अझै पनि दीर्घकालीन सोचको अभाव छ । हाम्रोमा खेल विकासका लागि भौतिक पूर्वाधार नै छैन । 

खेलाडीको ब्याट, लुगा, जुत्ता, प्याड, पञ्जाजस्ता सामान्य कुरामा समेत राज्यले ध्यान दिएको देखिँदैन । गुणस्तरीय सामग्री उपलब्ध गराउने कुरा बेवास्ता गरिएको छ । यो सबै गर्ने काम क्यानको हो । तर, क्यानमा कस्ता व्यक्ति पठाउने भन्ने विषयमा राज्य संवेदनशील भएको देखिँदैन । क्यानमा दलीय कोटामा व्यक्ति पठाउँदा क्रिकेट बुझेको व्यक्ति पठाउँदा हुन्थ्यो, त्यो छैन । 

क्रिकेट ग्राउन्डमा समेत कसैको ध्यान जाँदैन । ग्राउन्डमा फ्लड लाइट छैन । यसका लागि धेरै पैसा पर्दैन । संघले आफूले गर्नुपर्ने काम त गर्दैन, सरकारको कसरी ध्यान जाओस् ? खेलाडीले राम्रो सेवासुविधा पाए भने नेपालको क्रिकेट धेरै माथि पुग्छ । अहिले त खेलाडीहरूले आफ्नै मेहनत र परिश्रमले नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन पछि के–के काम भयो ?  

नेपाली टोलीको सफलतापछि प्रधानमन्त्री दाहालले राष्ट्रिय क्रिकेट टोलीलाई बोलाएर सम्मान गरे । क्रिकेट खेलाडीहरूले राम्रो रंगशाला नभएको भन्दै गुनासो गरे । 

फ्लड लाइट नभएको विषयमा पनि चर्चा भयो । नेपाल र यूएईबीचको खेलमा फ्ल लाइट नहुँदा पूरै खेल हुन सकेन । प्रधानमन्त्री दाहालले नेपाल सरकारबाट दिएको बजेटबाट फ्लडलाइट छिटै निर्माण हुनु पर्ने भए पनि हालसम्म नभएकोमा त्यसलाई समयमै गर्न निर्देशन दिएका थिए । 

क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले सरकारले बजेट छुट्याए पनि राखेपबाट समयमै टेन्डर नगर्दा हालसम्म काम नभएको र अब अघि बढ्ने बताए । ‘सरकारले बजेट छुट्याएको छ । त्यसको काम मात्र अघि बढ्न नसकेको हो । अब प्रधानमन्त्रीको निर्देशनपछि राखेपले फ्लड लाइट जडान गर्ने कुरालाई अघि बढाउने भएको छ,’ पाठकले रातोपाटीसँगको कुराकानीमा भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप