शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

भीसीसँग लेनादेना केही छैन, सिस्टममा चले सहयोग हुन्छ : त्रिवि स्ववियु सभापति

शुक्रबार, १० चैत २०७९, ०७ : १८
शुक्रबार, १० चैत २०७९

काठमाठौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरले १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व पाएको छ । चैत ५ मा भएको स्ववियु निर्वाचनबाट नेपाल विद्यार्थी संघ (नेविसंघ)का श्यामराज ओझा सभापतिमा निर्वाचित भएका छन् ।

डोटी निवासी ओझा त्रिविमा अंग्रेजी साहित्यमा स्नातकोत्तरका विद्यार्थी हुन् । उनी एमएडमा अंग्रेजी विषयमा उत्कृष्ट भएका थिए । त्रिविको स्ववियु सभापति त्रिविसभा (सिनेट)को पदेन सदस्य रहने व्यवस्था छ । त्रिविका नवनिर्वाचित स्ववियु सभापति ओझासँग चुनावी परिणाम र त्रिविको समस्या समाधानका विषयमा केन्द्रित रहेर कुराकानी गरिएको छ । प्रस्तुत छ, ओझासँग गरिएको कुराकानीको सम्पादित अंशः–

स्ववियुमा निर्वाचित हुनुअघि तपाईले नेविसंघको कुन जिम्मेवारी सम्हाल्नु भएको थियो ?

पछिल्लो समय विश्वविद्यालयदेखि सबै कलेजमा नेविसंघको अधिवेशन भएको छ । लामो समयसम्म स्ववियु पनि भएन । त्यसैले म पदीय जिम्मेवारीबाट बाहिर थिएँ । तर कामका हिसाबले कुनै पनि पद ग्रहण गरेको व्यक्तिभन्दा कम काम गरिरहेको थिइनँ ।

त्रिविमा मेरै नेतृत्वमा विभिन्न आन्दोलन र कार्यक्रम भइराख्थे । पदीय जिम्मेवारी बाहिर रहेर पनि पदीय जिम्मेवारीभन्दा बढी काम गरेको व्यक्तिमा पर्छु । मेरो टिम त्यसैमा पर्छ ।

त्रिविमा नेविसंघभित्र कलह थियो । तालाबन्दीले त्यहाँ नेविसंघ बदनाम पनि थियो । स्ववियु चुनावमा जित्ने परिस्थिति कसरी बन्यो ?

नेविसंघ गुटबन्दीको सिकार बनेको देखिन्छ । तर एजेण्डा र इस्युको विषयमा नेविसंघ खरो ढंगले उभिएको छ । त्रिविको नीतिगत सुधार, परीक्षा प्रणालीमा सुधार लगायतका विषयमा नेविसंघले एक ठाउँमा उभिएर आन्दोलन गरेको हो । स्ववियु निर्वाचन पनि यो एक प्रकारको आन्दोलन हो । हामीले आजसम्म उठाएको आवाजलाई संस्थागत गर्ने आन्दोलन हो । विद्यार्थीका आवाजलाई सम्बन्धित निकायमा पु-याएर समस्याको समाधान खोज्ने एउटा आन्दोलन हो ।

यो अन्दोलन जसरी पनि जित्नुपर्छ भन्ने नेविसंघका सबै साथीहरुमा भावना जागृत भएपछि विद्रोह गरेका साथीहरुले अन्तिम घडीमा समझदारीका साथ मलाई समर्थन गर्नुभयो । त्यसमा पनि मेरो नेतृत्वको टिम विद्यार्थीहरुले भरोसा गरेको टिम थियो ।

विद्यार्थीका व्यक्तिगत समस्यादेखि लिएर त्रिविका नीतिगत, पाठ्यक्रमगत र संरचनात्मक समस्याको सुधारका लागि लामो समयदेखि बोल्दै आएको यो अनुहार हो । त्यसैले उहाँहरुलाई यो अनुहारप्रति ठूलो विश्वास र भरोसा थियो । त्यो विश्वास र भरोसा नै हाम्रो जितको आधार हो ।

नेविसंघ पृष्ठभूमिकै ३ जना बागी उम्मेदवार बनेका थिए । अन्तिममा उनीहरुको समर्थन पाउने परिस्थिति कसरी निर्माण भयो ?

साथीहरुले अन्तिमा संगठनभन्दा बाहिर उभिँदा आफू पनि बनिँदैन र संगठन पनि जोगिँदैन भनेर बुझ्नुभयो । यो नहुँदै गर्दा त्रिविका लागि खराब तत्वहरु मौलाउन सक्छन् । त्रिविको पक्षमा काम गर्नेभन्दा पनि कुनै एउटा पदाधिकारी र संगठनको संरक्षणमा रहने व्यक्तिमात्र आउन सक्छन् । त्यसो हुँदा घाटा विश्वविद्यालयलाई हुन्छ ।

त्योभन्दा बरु आफ्नै संगठनमा मेहनत गरेका, आजसम्म विश्वविद्यालयका सबै इस्युमा आवाज उठाएको व्यक्तिलाई जिताउन राम्रो हुन्छ भनेर सबैले मलाई समर्थन गर्नु भएको हो ।

त्रिविमा प्रशासन र विभिन्न विभागका प्रमुखसम्म अनेरास्ववियु (एमाले) प्रति सद्भाव राख्ने बढी छन् भन्ने छ । नेविसंघलाई चुनाव जित्न कठिन छ भन्ने थियो । अनेरास्ववियुले त्रिविमा सहजै चुनाव जित्ने आकलन थियो । यसलाई कसरी तोड्नु भयो ?

त्रिविको प्रशासन र शिक्षकले के भन्छन् भन्दा पनि विद्यार्थीले के भन्छन् भन्ने कुरा मुख्य हो । विद्यार्थीहरुले श्यामराज ओझा हाम्रो भरोसा हो, उहाँमाथि हामीलाई आशा र विश्वास छ भनेर मेरो पक्षमा मत हाल्नु भयो ।

विश्वविद्यालयमा राजनीतिक नियुक्ति हुन्छ । भागबण्डा हुन्छ । भीसी, रेक्टर, रजिष्ट्रार, डिनदेखि लिएर विभिन्न डिपार्टका प्रमुखहरु राजनीतिक रुपमा नियुक्त हुन्छन् । हामीले यो परिपाटी गलत हो, यसको अन्त्य हुनुपर्छ भनेर लामो समयदेखि आन्दोलन गर्दै आएका छौँ ।

हामीले कार्यक्षमता र कार्ययोजनाका आधारमा विश्वविद्यालयका विभिन्न निकायका प्रमुख तोकिनुपर्छ भनेर पाँच हजार हस्ताक्षर गरेर अन्दोलन गरेका थियौं । तार्किक रुपमा त्यो सफल त भएको छैन । अब यसलाई संस्थागत गराउने अन्दोलनको मैले नेतृत्व गर्छु ।

नेविसंघले त्रिविमा आफ्नो छवि ‘तालाबन्दी संघ’को जस्तो बनाएको थियो । तालाबन्दीको दाग मेटाएर चुनाव जित्न कति सजिलो थियो ?

त्यो तालाबन्दीको जरो मिडिया, विश्वविद्यालयका प्राध्यापक, आम नागरिकले राम्ररी बुझ्न सकेनन् । तर तालाबन्दी किन गरियो भनेर त्यहाँ बसिराख्ने विद्यार्थीले राम्ररी बुझेका थिए । नेविसंघको तालाबन्दीले कुनै पनि परीक्षा रोकिएको छैन । पठनपाठन रोकिएको छैन । तालबन्दीले विश्वविद्यालयका नियमित काम कुनै पनि रोकेको होइन ।

त्रिविका प्रश्नपत्रहरु पटक पटक दोहोरिन्छन्, कुनै निजी कलेजका प्रिबोर्डका प्रश्न त्रिविले आफ्नो फाइनल परीक्षामा सोधिदिन्छ । त्रिविको परीक्षा प्रणालीको विश्वनीयतामाथि प्रश्न उठ्ने गरी भएको विकृतिको अन्त्य हुनुपर्छ । प्रश्नपत्र निर्माण गर्ने नयाँ कार्यविधि बनाउनुपर्छ भनेर हामीले लामो समय आवाज उठाउँदा त्रिविका पदाधिकारीले सुन्नुभएन ।

त्यसपछि तपाईहरुले विद्यार्थीको वास्तविक माग नसक्ने, त्रिविको विश्वनीयता गुमाउने काम गर्नुहुन्छ भने तपाईहरु त्रिविमा प्रवेश नगर्नुस् । तपाईको कार्यकक्षमा हुने नियमित कामका लागि चाहिने सामग्री निकाल्नुस् । त्रिविमा देखिएको बेथितिको अन्त्य नभएसम्म तालाबन्दी गर्छौँ भनेर नेविसंघले बोलेको हो । त्यो कुरा विद्यार्थीलाई थाहा थियो ।

भीसीको कार्यकक्षमा नेविसंघले मच्चाउने उद्दण्डता पनि जायज नै थियो ? अब भोलि पनि यस्तै गर्नुहुन्छ ?

हामीले घोषणापत्रमा तालाबन्दी  र हड्ताल नगर्ने भनेकै छौँ । विगतमा विश्वविद्यालयले थिति बिर्सिदा व्यक्ति हावी भए । व्यक्तिले मनोमानी गरे । विश्वविद्यालयले विधि पालना गरेको छैन । प्रत्येक दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ यता गरेकै थिएन । विश्वविद्यालय थितिमा थिएन । उसले थिति बिर्सिदा अरुले पनि नीति बिर्सिए । अब यी सबै आफै समाधान हुन्छन् । सिस्टम ठूलो कुरा हो ।

स्ववियु सभापतिका रुपमा अब तपाईको काम के हुने छ ? त्रिविमा के नयाँ गराउन खोज्नु भएको छ ?

‘श्याम फर सिस्टम’ हाम्रो मुल नारा थियो । ‘सिस्टममा सुधार, शैक्षिक गुणस्तरको मुख्य आधार’ भन्ने त्रिविमा नेविसंघको हाम्रो नारा थियो ।  हामी विश्वविद्यालयलाई हामी थितिमा लिन चाहन्छौं । त्यहाँ सबैको मनोमानी छ । व्यक्ति–व्यक्ति अनुसारका इच्छा आकांक्षा अनुसार फरक फरक क्रियाकलाप हुन्छन् । तर विश्वविद्यालयमा यो यो क्रियाकलाप मात्र हाम्रालागि योग्य छन् ।

यो यो क्रियाकलाप बर्जित छन् भनेर छुट्याउन सकेको छैन । त्यो छुट्याउनका लागि प्रशासन कडा हुनुपर्‍यो । प्रशासन कडा हुनका लागि सिस्टम हुनुपर्‍यो । त्यो सिस्टम हुनका लागि प्रशासन हेर्ने मान्छेको नियुक्ति प्रक्रिया सही हुनुपर्‍यो । पछिल्लो समय सेवा आयोगमा भएका कर्मचारीले आफन्त भर्ती गरेका थिए ।

हामी त्यसको विरुद्धमा उभिएपछि अख्तियारले खारेज पर्‍यो। नयाँ विज्ञापन भयो । राजनीतिक पार्टी र व्यक्तिसँगको निकटताका आधारमा नियुक्ति पाउँछ भने त्यसले राम्रो काम गर्न सक्दैन । हामीले सक्षम र योग्य व्यक्ति ल्याउनुपर्छ भनेका छौं ।

विद्यार्थी संगठनको अराजकताका कारण काम गर्न नपाएको भीसीको गुनासो छ । भीसीसँग अब कसरी काम गरेर अगाडि बढ्ने योजना छ ?

भीसीसँग व्यक्तिगत रुपमा लेनादेना केही छैन । उहाँले कुन योजना ल्याएर काम गर्न खोज्नु भएको थियो ? कुन संगठनले उहाँलाई कहाँनिर अप्ठ्यारो पारेको थियो ? उहाँले भनिदिनुपर्थ्यो ।

उहाँले तथ्यको आधारमा भन्न सक्नुपर्‍यो । अब यस्तो आरोप लाग्ने वातावरण हुँदैन । मैले समस्याको समाधान गर्न पहल गर्छु । स्ववियुमा सबै विद्यार्थी संगठनको प्रतिनिधित्व पनि भएको छ । सबै सकारात्मक रुपमा अगाडि बढ्छ । त्यहाँको समस्या आफै न्यूनीकरण हुन्छ ।

त्यसो भए त्रिविका पदाधिकारीलाई तपाईको भरपुर साथ हुन्छ ?

विगतमा हामीले उहाँको कार्यशैलीप्रति आक्रोश पोखेकै हो । तर राम्रो काम गर्ने विषयमा पूरा साथ रहन्छ । उहाँहरुले हाम्रो काम गर्ने होइन । विश्वविद्यालय सुधार्ने हो ।

व्यक्तिगत रुपमा उहाँहरुसँग हाम्रो केही लेनादेना छैन । विधि र कार्यशैलीप्रति विमति हो । विधि र कार्यशैली परिवर्तन गर्नुभयो भने हामी काँधमै बोकेर हिँड्छौं ।

आफ्नो कार्यकालभरि एक, दुई, तीन गरी यी काम हुन्छन् भन्ने त्यस्तो केही छ ?

मैले त्रिविको सिस्टमनै सुधार गर्छु भनेको छु । कुनै पनि विद्यार्थीले प्रवेश परीक्षाको फारम भरेदेखि प्रवेश परीक्षा, पढाइ, वार्षिक परीक्षा, विभिन्न परीक्षा पास गरेर डकुमेन्ट लिने सबै प्रक्रिया सुधार गर्ने पहिलो योजना हो ।

त्यसपछि विश्वविद्यालयको भौतिक संरचनाका कुरा छन् । विश्वविद्यालयको भौतिक संरचना सानदार हुनुपर्छ । यस्तै संरचनात्मक सुधारका लागि पहल गर्छु । बल्खुमा डकुमेन्ड दिन ढिलासुस्ती भइरहेको छ । त्यसलाई विकेन्द्रीकरण गर्नुपर्छ । बल्खुबाट हुने काम सबै प्रदेशबाट हुने व्यवस्था गर्नुपर्छ ।

स्वास्थ्यको कुरा पनि छ । विद्यार्थीले आफ्नो परिचयपत्र देखाएर सामान्य स्वास्थ्य परीक्षण कीर्तिपुरमै गर्न पाउने हुनुपर्‍यो । त्यो हामी गर्छौँ । विश्वविद्यालयका विद्यार्थीका ल्यावका समस्या छन् । उसले दिनदिनै गर्ने प्राक्टिकलको आउटपुट मार्केटमा सेल गर्न पाउनुपर्‍यो । त्यसका लागि विश्वविद्यालयले प्लेटफर्म बनाइदिनुपर्‍यो । पढ्दै कमाउँदैको वातावरण सिर्जना गर्नुपर्छ ।

व्यवस्थापन संकायको सन्दर्भमा कक्षा सञ्चालनको तरिका मिलेको छैन । नेपालमा दिउँसो मार्केट खुला हुन्छ । तर मार्केटिङकै विद्यार्थी दिउँसो कक्षा कोठामा हुनुपर्छ । यो भएन । विद्यार्थीले दिउँसो मार्केटमा जान पाउनुपर्‍यो । साँझ वा बिहान कक्षा पढ्न पाउनुपर्‍यो ।

विश्वविद्यालयको समयतालिका विद्यार्थीलाई सहज हुने गरी बनाउनुपर्‍यो । विद्यार्थीका दिनानुदिनमा समस्या र विश्वविद्यालयका संरचनागत सुधारमा हामी लाग्छौं । हामीले प्रमाणपत्र पाएको दोस्रो बिहानबाट काम सुरु हुन्छ ।

तपाईहरुले कहिले हो प्रमाणपत्र पाउने ?

एक हप्ता जति लाग्छ होला ।

त्रिविमा स्ववियु सभापतिको क्षेत्राधिकार कति हो ? के के गर्न पाउँछ ?

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिले केन्द्रीय क्याम्पसको परिसरमात्र हेर्ने होइन । उसले देशभरिका क्याम्पसको नेतृत्व गरेर अभिभावकत्व गर्दै विश्वविद्यालयका नीतिगत र संरचनात्मक विषयमा बोल्ने हो । त्यसको नेतृत्व र समन्वय गर्ने हो । केन्द्रीय क्याम्पसको स्ववियुले सिनेटमा गएर आवाज उठाउने भएकाले नीतिगत र संरचनागत सब उसको क्षेत्राधिकार आयो ।

अन्तिममा केही भन्नुहुन्छ ?

मलाई यति धेरै विश्वास गर्ने मेरो आदरणीय साथीहरुप्रति आभार प्रकट गर्न चाहन्छु । दुई वर्षमा देखिने गरी त्रिविमा परिवर्तन ल्याउन चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप