शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

सरकार बनाउने र टिकाउने सहज बाटो खोज्दै गठबन्धन

मध्यावधिको सम्भावना देखाउँदै नयाँ सरकारलाई विश्वासको मत दिनसक्ने राप्रपाको संकेत
शुक्रबार, १० चैत २०७९, १२ : ०७
शुक्रबार, १० चैत २०७९

विराटनगर । संघीय सरकार तथा अन्य प्रदेश सरकार परिवर्तनको लहर चलिरहँदा कोशी प्रदेशमा पनि गठबन्धन दलहरूले सहज ढंगले नयाँ सरकार बनाउने र टिकाउने उपाय खोज्न थालेका छन् । त्यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कोशी प्रदेशमा आकर्षक अफर दिएर भए पनि सरकारमा सहभागी गराउने कोसिस भित्रभित्रै भइरहेको छ ।

नेपाली कांग्रेस कोशी प्रदेशसभाका शीर्ष नेताहरुले दुई दिन अगाडि काठमाडौंमा सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग भेट गरेका छन् । उनीहरुले सो क्रममा नयाँ सरकार बनाउने तरिका र टिकाउने उपायको खोजी गरेका हुन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापा, दलका उपनेता हिमाल कार्की नेतृत्वको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेतासँग भेट गरेको थियो ।

भेटका क्रममा कोशी प्रदेश सरकार निर्माणका विषयमा जानकारी गराएको कांग्रेस नेता उद्धव थापाले बताए । ‘हामीले प्रदेशको अवस्था यस्तो यस्तो छ, के गरौं भन्ने विषयमा सामान्य छलफल ग¥यौं,’ उनले भने । कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने प्रदेशमा नयाँ सरकार गठनको विषयमा छलफल गरेको बताए । ‘हामीले नयाँ सरकार गठनको विषयमा छलफल गरेका छौं,’ कार्कीले भने, ‘संघीय सरकारले पूर्णता पाएसँगै प्रदेशमा पनि नयाँ सरकार गठनको विषय अगाडि बढ्छ ।’

उनले कोशी प्रदेशमा मध्यावधिमा जानसक्छ भन्ने कुरा गलत भएको पनि बताए । ‘सत्ता गठबन्धनसँग ४७ सांसद संख्या छ, कसरी मध्यावधिमा जान सक्छ ? यो वाहियात कुरा हो,’ कार्कीले भने, ‘कुनै अवरोध बिना नयाँ सरकार बन्छ ।’

यता, राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने पार्टीहरु नमिलेको अवस्थामा प्रदेशमा मध्यावधिमा जानसक्ने अवस्था रहेको भन्दै त्यस्तो अवस्थामा राप्रपाले परिस्थिति हेरेर निर्णय गर्ने बताए । ‘पार्टीहरु मिलेर जाने अवस्था आएन भने छाँट चाहिँ मध्यावधिमै जाने देखिन्छ,’ सिटौलाले भने, ‘त्यो अवस्थामा मुलुकको परिस्थिति हेरेर निर्णय गर्छौं ।’

विश्वस्त स्रोतले दिएको जानकारी अनुसार राप्रपासँग नेपाली कांग्रेसले प्रदेशस्तरमा पनि छलफल सुरु गरेको छ । बिहीबार प्रदेशको कृषि मन्त्रालयमै कांग्रेस नेताहरुसँग सिटौलाले छलफल गरेका हुन् । छलफलमा नयाँ सरकार गठनको विषयमा राप्रपाको धारणा के हो भन्ने बुझ्ने प्रयास गरेको सहभागीले बताएका छन् । राप्रपाले भने अझै ठोस जवाफ नदिएको बताइएको छ ।

उता, माओवादी केन्द्रले कोशी प्रदेशमा आफैले सरकारको नेतृत्व गर्न चाहेको छ । यसअघिका तीन वटा प्रदेश सरकार बनाउन माओवादी सहयोगी दल बनिसकेको छ । ‘फेरि नयाँ सरकार बनाउन सहयोगी दल नै बन्नु नैतिक हिसावले गलत हुन्छ,’ एक माओवादी नेता भन्छन्, ‘२–३ थान मन्त्रीको लागि सत्ता समीकरण बदल्न जरुरी छैन, त्योभन्दा बढी त एमाले नेतृत्व सरकारमा सम्मानजनक सहभागिता भइहाल्छ नि ।’

सत्ता परिवर्तनको खेल भइहालेको खण्डमा मुख्यमन्त्री बन्ने विषयमा पनि दलका नेताहरुबिच हानथाप छ । एमाले नेतृत्वको सरकार ढलेको खण्डमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्रका नेता इन्द्र आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई मुख्यमन्त्रीको दाबेदार हुन् । परिस्थितिले कोल्टे फेरेको अवस्थामा राप्रपा संसदीय दलका नेता तथा हालका मन्त्री भक्ति प्रसाद सिटौला पनि मुख्यमन्त्री बन्न सक्छन् । तर, उनले आफू नैतिकताको राजनीति गर्ने भएकाले त्यस्तो अफर अस्वीकार गर्ने बताउने गरेका छन् ।

माओवादीले भने राप्रपालाई सहमत गराएर आफ्नै नेतृत्वमा प्रदेश सरकारको नेतृत्व गर्ने चाहना राखेको छ । कोशी प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपा मिलेर बहुमत (६० सांसदको समर्थन) जुटाएर गत पुस २५ मा सरकार बनेको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ । अहिलेको सरकारलाई समर्थन फिर्ता लिँदा अस्थिरताको दोष लाग्ने, मुख्यमन्त्री हात नलाग्ने, मन्त्री पदहरु धेरै बाँड्नुपर्ने परिस्थितिभन्दा एमालेसँग मिलेर अझै सम्मानजनक स्थितिमा आफूलाई उभ्याउने माओवादीको अर्को दाउ पनि देखिन्छ ।

यद्यपि राप्रपाले आफू नयाँ गठबन्धनमा आउन सहमत भएको अवस्थामा भने कांग्रेस, माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी र जसपाको गरी ५३ सांसदको समर्थन प्राप्त हुन्छ । जुन प्रदेश सरकार गठनका लागि सहज बहुमत हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप