सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी पदाधिकारी बैठक : चैत्र १३ गतेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सुझाव

शनिबार, ११ चैत २०७९, २३ : ०७
शनिबार, ११ चैत २०७९

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेताहरुले चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिन सुझाव दिएका छन् ।  पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी नेताहरुले सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सुझाव दिएका हुन् । पार्टी पदाधिकारी बैठकले पर्सिसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णयसहित सुझाव दिइएको पार्टीसचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल गरिएको थियो । त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएको सचिव पौडेलले बताए । उनले भने, ‘एउटा संसदलाई सुचारु गर्ने बारेमा कसरी जाने र विभिन्न गठबन्धनमा रहेका पार्टीहरुसँग छलफल गरेर संसदलाई प्रभावकारी, गतिशील ऐन, कानुनहरु पनि बनाउनेलगायतका विषयमा समीक्षात्मक छलफल भयो । दोस्रो, क्याविनेटको विस्तार बढीमा पर्सिसम्ममा छिटोभन्दा छिटो क्याविनेट विस्तार गरेर डेलिभरीका कामहरु सुरुवात गर्ने भन्ने बारेमा छलफल भयो । तेस्रोचाहीँ सरकार र पार्टीलाई कसरी जोडने भन्ने बारेमा पनि कुरा भयो ।’ 

गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषयहरु पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए । पौडेलले भने, ‘ बैठकमा प्रदेशका सरकारहरु पनि संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढने यिनै बारेमा संक्षिप्त कुराकानी भएको छ ।’

बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप