शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सिरहाका सन्तोष यादवको शव तीन महिनादेखि दुबईको अस्पतालमा

सोमबार, १३ चैत २०७९, १४ : ३६
सोमबार, १३ चैत २०७९

काठमाडौँ । सिरहाका सन्तोष कुमार यादवको शव तीन महिनादेखि दुबईको अस्पतालमा अलपत्र परेको छ । गत पुस २२ गते निधन भएका यादवको शव अझै नेपाल ल्याउन सकिएको नसकिएको हो । शव नेपाल ल्याउनका लागि पहल गरिदिन मृतकको परिवारले विभिन्न निकायमा अनुरोध गर्दै आएको छ । तर, अहिलेसम्म कुनै निकास निस्किएको छैन । 

सिरहाको धनगढीमाई नगरपालिका कट्टीटोलका २७ वर्षीय सन्तोष २०७८ साल कार्तिकमा ामाखुशीमा रहेको न्यू लाइट इन्टरनेशलमार्फत दुबई गएका थिए । उनलाई बर्दिबास महोत्तरीका शम्भु ठाकुरले भिजिट भिसामा दुबई लैजाने प्रबन्ध मिलाएका थिए । दुबई पुगेर सुप्रिमो हस्पिटालिटी सर्भिसमा कार वासिङको काम गर्दै आएका थिए । काम गर्दै गर्दा एकाएक बेहोस भएर ढलेका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । केही दिनको उपचारपछि निको भएर काममा पनि फर्किए ।

मृतकका आफन्त धिरेन्द्र यादवका अनुसार उपचार गरेर केही दिन रेस्ट गरेर पुनः काममा फर्किए । तर, काम गर्दा गर्दै पुनः ढले । त्यसपछि अस्पताल लैजाँदा उनको मस्तिष्कमा पानी जमेकाले अप्रेसन गर्नुपर्ने भनियो । कम्पनीले घर परिवारलाई कुनै जानकारी अप्रेसनका लागि गर्नुपर्ने एग्रिमेन्ट पेपरमा हस्ताक्षर गरेको धिरेन्द्रको भनाई छ । 

अप्रेसन गरेको केही दिनपछि उनी अलि–अलि बोल्न थाले । तर, अप्रेसन गरेको चौथो दिनमा उनको मृत्यु भयो । के कति कारणले मृत्यु भयो केही पनि जानकारी नदिइएको परिवारको भनाई छ । 

‘प्रहरी र अस्पताल कहीँ कतैबाट पनि केही जानकारी दिइएको छैन । अप्रेसन गरेर निको भएको व्यक्तिको एकाएक मृत्यु भयो भनियो,’ धिरेन्द्रले भने । 

मृत्यु भएपछि उनको शव नेपाल ल्याउनका लागि घर परिवारले धेरै निकाय धाए । दुई महिना अगाडि वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । त्यसपछि १६ फागुन २०७९ मा कन्सुलर सेवा विभागमा समेत उजुरी दिएका थिए । तर, अहिलेसम्म शव नेपाल ल्याउन नसकिएको धिरेन्द्रको भनाई छ । 

ऋण तिर्न ऋण लिएर विदेश

२०७७ सालमा सन्तोषको बहिनीको बिहे भएको थियो । उनले ऋण लिएर बहिनीको बिहे गराएका थिए । बहिनीको बिहेका लागि निकालेको ऋण तिर्न भनेर उनले विदेशिने सोच बनाए । त्यसका लागि उनले गाउँबाटै २ लाख ३० हजार थप ऋण निकाले । त्यो पनि सयकडा ३ रुपैयाँका दरले ब्याज तिर्ने गरी । 

बर्दिबासका एजेन्ट शम्भुले भिजिट भिसामार्फत दुबई पठाइदिने आश्वासन दिए । त्यसका लागि १ लाख ८४ हजार रुपैयाँ खर्च लाग्ने भनियो । एजेन्टलाई १ लाख ८४ हजार रुपैयाँ बुझाए । र कोरोनाकालमा उनलाई भिजिट भिसामार्फत दुबई पठाइयो । 

दुबईमा केही महिना काम नै नपाएर बेरोजगार भएर बसे । पछि उनलाई कार वासिङको काममा लगाइयो । काम गर्दै गर्दा उनले घरमा अलि अलि खर्च पठाउन थालिसकेका थिए । तर, उनले न बहिनीको बिहेमा लागेको ऋण तिर्न सके न त विदेश जानको लागि खोजेको ऋणको ब्याज नै तिर्न सके । 

उनको घरमा अहिले सानो भाइ र आमा बुबा छन् । उनका आमाबुबालाई एकातिर छोराको मृत्युले पीडा दिएको छ भने अर्कोतिर साहूको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । 

यता कन्सुलर सेवा विभागले दुबईमा यसबारे अनुसन्धान भइरहेकाले शव नेपाल ल्याउन ढिलाइ भइरहेको जनाएको छ । दुबई प्रहरीले अनुसन्धान गरिरहेको र त्यो अनुसन्धान नसकी नेपाल ल्याउन नसकिने विभागको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप