बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उपनिर्वाचनमा एमालेले गठबन्धन नगर्ने

चितवन, बारा र तनहुँमा, को–को बन्दैछन् उम्मेदवार ?
सोमबार, १३ चैत २०७९, २२ : ४१
सोमबार, १३ चैत २०७९

काठमाडौँ । नेकपा एमालेले आगामी वैशाख १० गते हुने तीनवटै क्षेत्रको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ । वैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ ।

चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा मुछिएपछि पद गुम्दा खाली भएको थियो भने तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुन पुगेको हो ।

उपनिर्वाचन हुने तीनवटै निर्वाचनमा एमालेले आफ्नै उम्मेदवार उठाउने र गठबन्धन नगर्ने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । ‘हामी उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा एमालेकै उम्मेदवार उठाउँछौ, गठबन्धन गर्दैनौ’, गुरुङले रातोपाटीसँग भने, ‘हामीले कसैसँग गठबन्धन गर्नुपर्ने देखेका छैनौँ ।’

उनले तीनवटै उपनिर्वाचनका लागि उम्मेदवार छान्न पार्टी कमिटीका तल्लो तहलाई निर्देशन दिइसकेको जनाए । चैत २० गते उम्मेदवारी दर्ताको समय तोकिएकाले १९ गतेभित्र टुङ्गो लगाउने गुरुङको भनाइ छ । ‘२० गते उम्मेदवारी मनोनयनको समय छ, त्यसअघि १९ गतेसम्म हामी उम्मेदवार तय गर्छौ’, नेता गुरुङको भनाइ छ । ‘विधान त हामी उम्मेदवार छान्दा जिल्ला हुँदै प्रदेश कमिटीमार्फत प्रस्ताव माग्छौ, त्यसका लागि तत्तत् कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन भनेका छौ’ गुरुङले भने, ‘तलबाट आएको सिफारिसमध्येबाट केन्द्रले जसलाई उपयुक्त ठान्छ उसैलाई उम्मेदवार बनाउँछ ।’

को–को हुँदैछन् उम्मेदवार ?

जिल्ला र प्रदेशबाट सिफारिस भएर आएकालाई केन्द्रले उम्मेदवार तोक्ने भएकाले चितवन, बारा र तनहुँमा एमालेले कसलाई उठाउँदैछ भन्ने प्रस्ट भैसकेको छैन । तर एमाले नेताहरूका अनुसार चितवनमा मङ्सिरमा निर्वाचन लडेर पराजित भएका कृष्णभक्त पोखरेल, बागमती प्रदेश सभामा पराजित देवी ज्ञवाली र एमाले जिल्ला अध्यक्ष समेत रहेका र स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा रेनु दाहालसँग पराजित भएका विजय सुवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । मङ्सिरको निर्वाचनमा चितवन २ रास्वपाका रवि लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उमेश श्रेष्ठले १४हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेल १४हजार ६५२मत ल्याएका थिए । सो क्षेत्रमा राप्रपाका रवीन अधिकारीले ९५५ मत ल्याएका थिए ।

बारा २ मा भने गत निर्वाचनमा एमालेले उम्मेदवार उठाएको थिएन । सो क्षेत्रबाट जसपाका रामसहाय यादव १३ हजार ८२२मतसहित निर्वाचित भएका थिए । सो क्षेत्रमा माओवादी केन्द्रका शिवप्रसाद कुशवाहाले १३हजार ४६८ र स्वतन्त्र उम्मेदवारहरू रामकिशोर यादव ११ हजार ४३, रवीन्द्रप्रसाद यादव १० हजार ७५०, अरुणकुमार ज्ञवाली ७ हजार ६९८, तथा जनमतका राजेश साहले २ हजार ७२५र नागरिक उन्मुक्तिको तेजबहादुर भगतले ११११ ल्याएका थिए । एमाले मधेस प्रदेश अध्यक्ष ज्वाला कुमारी साहले वार २ मा यो पटक कसलाई उम्मेदवार बनाउने भन्ने छलफल चलिरहेको बताइन् । ‘छलफल भइरहेको छ केही दिनमा टुङ्गोमा पुग्छौ’, साहको भनाइ छ । त्यस्तै एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले यसपटक आफ्नो पार्टीको उम्मेदवारले बारा २ मा जित्ने भन्दै सोही किसिमको उम्मेदवार उठाउने बताए ।

त्यस्तै तनहुँमा सो पार्टीले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने लगभग निश्चित जस्तै रहेको एमाले नेताहरू बताउँछन् । खनालले पार्टीले निर्णय गरे आफू पछि नहट्ने समेत बताउँदै आएका छन् । खनाल मङ्सिरको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवार बनेका थिए । गृह जिल्ला तनहुँ भएका खनाल मङ्सिरको निर्वाचनमा पनि तनहुँबाटै निर्वाचन लड्न चाहन्थे । तर पार्टीले त्यसबेला एकबहादुर राना मगरलाई उठाएको थियो । उनले १९ हजार ९८१ मत ल्याएका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार  गोविन्दराज जोशीले ६,८८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४४ र राप्रपाका उम्मेदवारले २ हजार ४ सय मत ल्याएका थिए । खनालले रातोपाटीसँग भने, ‘तनहुँका साथीहरू चुनाव लड्न आइदिनुपर्‍यो भनिराख्नुभएको छ । उहाँहरू मेरो घरमै आएर रिक्वेस्ट गर्नुभएको थियो । मैले पार्टीको निर्णय मान्छु भनेको छु ।’ जवाफमा उनले आफूलाई भन्दा पनि अध्यक्ष कमरेडलाई भन्न सुझाव दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप