मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

दुई महिनाकी छोरी बोकेर मानव बेचबिखन धन्दामा

दिल्लीमा किशोरी बेच्ने पति–पत्नीसहित ३ पक्राउ, माथिल्लो लेयरको खोजी
मङ्गलबार, १४ चैत २०७९, १२ : २०
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । धादिङको धुनिबेशी नगरपालिका–२ घर भएकी सुस्मा मगराती अहिले मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतमा छिन् । २० वर्षीया सुस्माको साथमा दुई महिने छोरी छिन् । सामाजिक संस्था र भारतीय प्रहरीले दिल्लीस्थित वेश्यालयबाट उनलाई पनि उद्धार गरेर काठमाडौँ पठाएको थियो ।

तर, अनुसन्धानबाट उद्धार गरेर ल्याइएकी सुस्मा नै बेचबिखनमा संलग्न रहेको थाहा भएको मानव बेचबिखन ब्युरोका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।

 नेपालबाट प्रलोभनमा पारेर दिल्लीको वेश्यालयमा लगिएका ९ जना महिला र किशोरीहरूलाई उद्धार गरेर काठमाडौँ ल्याइएको छ । सुस्मा तिनैलाई लिएर काठमाडौँबाट नयाँ दिल्ली पुगेको प्रहरीको भनाई छ ।

सुस्मालाई उनका पति भुवन तामाङले काठमाडौँबाट वेश्यावृत्तिमा लगाउन किशोरी र महिलालाई दिल्ली छाड्न पठाएका हुन् । धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका उनका श्रीमान् २५ वर्षीय भुवन तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी घर भएकी २० वर्षीया सम्झना तामाङ उर्फ सेन्जी तामाङ पनि छिन् । दिल्लीबाट उद्धार गरिएका महिला र किशोरीलाई ३ जना आरोपीहरू सहितको समूहले त्यहाँ पठाएको अनुसन्धानबाट खुलेको छ ।

आरोपीहरू विरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी श्रेष्ठले जानकारी दिए । सेन्जीले ८ जनालाई दिल्ली पठाएको अनुसन्धानबाट थाहा भएको छ ।

योजनाकार फरार

भुवनले पत्नी सुस्मालाई नयाँ बसपार्कसम्म लगेर छाडेका थिए । भुवनले ३ जना किशोरीलाई दिल्लीमा लैजान भनेका थिए । नाबालिग छोरीसहित पत्नीलाई दिल्ली पठाउनको बाध्यताबारे भुवनले प्रहरीसँग भनेका छन्–‘पैसा कमाउन पठाएँ ।’

सेन्जी तामाङ काठमाडौँका डान्स बार तथा क्लबहरूमा गएर किशोरीहरू खोज्ने गर्थिन् । भारतको दिल्ली स्थित विभिन्न होटल, रेस्टुरेन्ट र फेन्सी पसलमा काम लगाउने प्रलोभनमा पारेर सेन्जीले मुख्य एजेन्टसम्म लैजाने गर्थिन् ।

काठमाडौँबाट आरोपीहरूले नेपालगञ्जको जमुनाहा नाकाबाट दिल्लीको बस चढाएर लैजाने गरेका थिए । यौनधन्दामा लगाउन दिल्ली पठाउन गिरोहका मुख्य योजनाकार अझै फरार छन् । अहिले पक्राउ गरिएका ३ जनाभन्दा माथिल्लो लेयरको खोजी भइरहेको एसएसपी श्रेष्ठले बताए ।

सेन्जीले हालसम्म ८ जना किशोरी र महिला पठाएको प्रहरीलाई बताएकी छिन् । मुख्य योजनाकारले आफूलाई ३ पटकमा ६० हजार नगद दिएको बताएकी छिन् । प्रहरीसँग उनले भनेकी छन्–‘तिन पटकमा ६० हजार पाएको छु ।’

प्रहरी अनुसन्धानबाट एकजना मान्छे पठाएबापत उनीहरूले ५० हजार पाउने देखिएको छ । दिल्लीमा कोठी सञ्चालकले एकजना किशोरीलाई मासिक १ सय ८० जनसँग शारीरिक सम्पर्क गर्नुपर्ने टार्गेट दिने गरेको पीडितहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप