शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा क्षेत्र

जम्बो टोली लिएर परीक्षा अनुगमनको थोत्रो अभ्यास कहिलेसम्म ?

अनुगमनको नाममा जथाभावी तस्विर खिच्दा विद्यार्थीमा मनोवैज्ञानिक असर
बुधबार, १५ चैत २०७९, ०६ : ४६
बुधबार, १५ चैत २०७९

काठमाडौं ।  २०७५ सालमा मुगुमा माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको थियो । १३ चैतमा तेस्रो दिन गणित विषयको परीक्षा चलिरहेको बेला एक अनुगमन टोली विभिन्न विद्यालयमा पुग्यो । 

यही क्रममा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाको विजय माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रको अनुगमन गर्न जिल्लाको टोली पुगेको थियो । अनुगमनका लागि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकाल, प्रहरी प्रमुख राजेन्द्रबावु रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख सूर्यबहादुर खत्री, शिक्षक महासंघका अध्यक्ष जंगबहादुर शाही लगायतको टोली पुगेको थियो । उक्त टोलीलाई स्थानीयवासी, शिक्षक, अभिभावकहरूले अबिर, फुलमाला मात्र लगाईदिएनन्, बाजागाजासहित भव्य स्वागत गरे ।

परीक्षा केन्द्र पुग्नुअगावै बीच बाटोमा गएर सम्मान गरिएको थियो । बाजागाजासहित स्वागत गर्नुको भित्री उद्देश्य थियो– अनुगमन टोली परीक्षा केन्द्र पुग्न समय लाग्ने, परीक्षार्थीले चिट चोर्न समय पाउने र टोलीले परीक्षार्थीको चिट नखोसोस् भन्ने । 

जुन समाचार निकै चर्चामा आएको थियो । यसरी दलबलसहित अनुगमन गर्न जाने परिपाटी पछिल्लो समय थप मौलाउदै आएको छ । यतिमात्र नभएर विद्यालयले तामझामसहित आउने टोलीलाई भव्य स्वागतको लागि तयारी गर्दा परीक्षाको माहोल नै विग्रिने समेत गरेको देखिन्छ । 

अनुगमनको नाममा हुल
यतिबेला स्थानीय तहअन्तर्गत पालिकास्तरिय परीक्षाहरू सञ्चालन भइरहेका छन् । विशेष गरी पालिका स्तरबाट सञ्चालित आधारभूत तह (कक्षा ८) को परीक्षालाई विशेष महत्व दिइएको छ । निश्चित परीक्षा केन्द्र तोकेर भइरहेको परीक्षामा पालिका स्तरबाट दलबलसहित अनुगमनको लागि जाने गरेका छन् । 

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा सञ्चालित पालिकास्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षा चलिरहेको छ । उक्त परीक्षाको अनुगमनका लागि विभिन्न परीक्षा केन्द्रहरूमा गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्र, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, शिक्षा संयोजक जय कुमार यादव लगायतले अनुगमन गरिरहेका छन् । 

anugaman2

उनीहरूले ६ चैत २०७९ मा कुम्हरौडामा रहेको लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको अनुगमन गरे । अनुगमनका लागि १० जना भन्दा बढीको टोली विद्यालयमा पुगेको थियो । उनीहरूले प्रत्येक कक्षा कोठामा पुगेर हेर्नुका साथै फोटोसमेत धमाधम खिचेको देखिन्छ । जबकि परीक्षा हलभित्र जो कोही जान कानूनी रूपमा निषेध हुन्छ । 
त्यसमाथि दलबलसहित कक्षाकोठामा पुग्ने, बालबालिकाको मनोभावनामा असर पर्ने खालको गतिविधि गर्ने र त्यतिले मात्र नभएर परीक्षा दिइरहेका विद्यार्थीहरूको फोटो खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने सम्मको स्थिति देखियो । 

यसरी अनुगमन गर्नुलाई गाउँपालिकाले उचित भनेको छ । गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत नागेन्द्र यादवले अमर्यादित गतिविधि नहोस् भन्ने उद्देश्यले आफूहरू अनुगमनमा गइरहेको बताए । ‘परीक्षाकेन्द्र हुने अमर्यादित गतिविधिको बारेमा हामीले अनुगमन गर्ने हो । त्यसमा विद्यार्थीको परीक्षामा खासै असर पर्दैन ।’ उनले भने । 
यता बाँकेको डुडुवा गाउँपालिकाले पालिकास्तरीय वार्षिक परीक्षा सञ्चालन गरिरहेको छ । त्यहाँ कक्षा १ देखि ९ कक्षा सम्मको परीक्षा एकसाथ सञ्चालन भइरहेको हो । 
र, पालिकास्तरबाट अनुगमन पनि भइरहेको छ । त्यसका लागि पालिका अध्यक्ष, उपाध्यक्ष, शिक्षा शाखा प्रमुख लगायतले अनुगमन गर्दै आएका छन् । 

शिक्षा शाखा प्रमुख सञ्जय कुमार कर्णले आवश्यकताका आधारमा अनुगमन गर्दै आएको बताए । दलबलसहित नभई आवश्यकताको आधारमा अनुगमन गर्दै आएको उनको भनाई छ । 

anugaman3

‘धेरैजसो ठाउँमा परीक्षा केन्द्रमा परीक्षा दिए जस्तो भएन । यसको अनुगमन गरिदिनुपर्यो भनेर अभिभावकबाटै अनुरोध भएपछि गइरहेका छौं । परीक्षामा मर्यादित वातावरण बनेको छैन भन्ने गुनासाहरू आएपछि त्यसलाई नियन्त्रण गर्ने काम भइरहेको छ ।’ उनले भने ।  

परीक्षाको मर्यादालाई ख्याल गर्दै सीमित व्यक्तिलाई मात्र अनुगमनको लागि जाने अनुमति दिईन्छ । तर, स्थानीय तहहरूले आफैंले सञ्चालन गरेको परीक्षामा पालिकाको अनुगमन टोलीलाई कसले रोक्न सकोस् ?

पालिकाले परीक्षा सञ्चालन, व्यवस्थापन तथा अनुगमनको लागि न कुनै कानून निर्माण गरेको छ, न त कुनै कार्यविधि नै बनाएको छ । पालिकाले शिक्षा ऐनको आधारमा टेकेर अनुगमन गर्दै आएको उनको भनाई छ । 

परीक्षा मर्यादित र व्यवस्थित हुनुपर्छ भन्ने शिक्षा ऐनमा भएकाले त्यसको आवश्यकताका आधारमा अनुगमन गर्दै आएको उनको भनाई छ ।  यसरी पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरू, शिक्षा शाखा प्रमुख, प्रशासकीय प्रमुख, स्थानीय पत्रकार तथा स्थानीय राजनीतिक दलका नेता कार्यकर्तासहितको जम्बो टोली लिएर अनुगमन जाने गरेको देखिन्छ । 

परीक्षाको मर्यादालाई ख्याल गर्दै सीमित व्यक्तिलाई मात्र अनुगमनको लागि जाने अनुमति दिईन्छ । तर, स्थानीय तहहरूले आफैंले सञ्चालन गरेको परीक्षामा पालिकाको अनुगमन टोलीलाई कसले रोक्न सकोस् ?

मनोविज्ञानमा असर
सम्बन्धित विद्यालयको परीक्षा सञ्चालन गर्ने जिम्मा केन्द्राध्यक्ष तथा निरीक्षकको हुन्छ । त्यसका लागि प्रत्येक विद्यालयमा केन्द्राध्यक्ष तोकिएको हुन्छ । र, पालिकाले परीक्षाका बारेमा अनुगमन गर्नको लागि निरीक्षक समेत खटाएको हुन्छ । 

त्यसबाहेक दलबलसहित जम्बो टोली समेत अनुगनको लागि पुग्ने गरेको देखिन्छ । त्यत्रो जम्बो टोली आउँदा विद्यार्थीहरू हतोत्साहित हुने गरेको कञ्चनपुरको एक परीक्षा केन्द्रका केन्द्राध्यक्षले नाम उल्लेख नगर्ने सर्तमा रातोपार्टीसँग भने । 

‘परीक्षालाई मर्यादित, व्यवस्थित र चिट चोर्ने काम नहोस् भनेर केन्द्राध्यक्षलाई खटाइएको हुन्छ । त्यसमा पालिकाबाट जम्बो टोली आउँदा हामी उनीहरूकै व्यवस्थापनमा खटिनुपर्ने हुन्छ । विद्यार्थीहरू डराएर लेख्नै नसक्ने अवस्थामा हुन्छन् ।’ उनले भने । 

anugaman 4

परीक्षाको पूर्ण अधिकार केन्द्राध्यक्ष अनि निरीक्षकलाई दिइएको हुन्छ । फोटो खिच्दा विद्यार्थीको मनोविज्ञानमा असर परी सोचेको लेख्नसमेत बिर्सन सक्छ । अनुगमन गर्न जाँदा ती कुराहरू ख्याल नगरेर परीक्षा हलभित्रै गएर फोटो खिच्दा परीक्षाको गोपनीयतामा समेत असर पर्ने ती केन्द्राध्यक्षको भनाई छ । 

अनुगमन गर्न जाने जनप्रतिनिधि, कर्मचारी, अनुमति प्राप्त शैक्षिक प्रतिनिधि जोसुकैले अनुगमन गर्दा बाल मनोविज्ञान र परीक्षाको गोपनीयताबारे ख्याल नगर्दा समस्या हुने गरेको उनको भनाई छ । 

परीक्षाको दिन मात्र अनुगमन गर्न आउने र अन्य दिन विद्यालयमा कसरी पढाई भइरहेको छ ? बालबालिकाले पढाएको कुरा बुझिरहेका छन् कि छैनन् ? भनेर बुझ्न कोही पनि नआउने भन्दै उनले आक्रोश व्यक्त गरे । अनुगमनको नाममा जम्बो टोली कक्षामा प्रवेश गर्दा विद्यार्थी डराउने गरेको उनको भनाई छ । 

यस विषयमा गृह मन्त्रालयले निर्देशन नै जारी गरेको थियो । १४ वैशाख २०७९ मा गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तोकिएका निरीक्षक बाहेक अनुगमनका नाममा ठूलो संख्यामा बाह्य व्यक्तिहरू प्रवेश नगर्न भनेको थियो । 

anugaman home ministry

विभिन्न विश्वविद्यालय वा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीहरूलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व एवं परीक्षा अवधिभर कार्यालय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारले तस्विर वा भिडियो नलिन समेत भनेको थियो ।   

यो फोकटिया जाम होः शिक्षाविद् प्राडा कोइराला


शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले यसरी जम्बो टोलीसहितको अनुगमनलाई फोकटिया जाम भएको बताए ।  ‘यसलाई मैले त फोकटिया जाम भन्ने गरेको छु । विद्यार्थी भनेका के डाँका हुन् ? चोर हुन र ? उनीहरूलाई घेर्नुपर्ने त होइन नि ।’ उनले भने । 

अहिलेको परीक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने उनको भनाई छ । अब विद्यार्थीलाई कितावी ज्ञानभन्दा पनि जुन विषयवस्तु तिमीले सिक्यो, त्यो जिन्दगीमा कसरी प्रयोग गर्छौ ? भनेर सोध्नुपर्ने बताए । त्यसरी सोधियो भने विद्यार्थीले चिट चोर्न पनि नपर्ने उनको भनाई छ । 

विद्यार्थीलाई नै प्रश्नपत्र बनाउन दिएर परीक्षाको शैलीसमेत परिवर्तन गर्न सकिने उनको भनाई छ । अनुगमन नै गर्नुपर्ने भएपनि सूचना प्रविधिको प्रयोगबाट गर्न सकिने उनको भनाई छ । 

‘विद्यार्थीहरूले बदमासी गरे कि गरेनन भनेर हेर्नको लागि सीसी क्यामेरा जडान गरिदिएर त्यहीबाट हेरे भईहाल्छ नि । यो काम गरिदियो भने हामीले ठूलो जम्बो मान्छे पठाउने काम सकिन्छ । यो नचाहिने थोत्रो अभ्यास चाहि बन्द हुन्छ ।’ उनले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप