शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेतो मच्छिन्द्रनाथको जात्राको अनेक मिथक

बुधबार, १५ चैत २०७९, ११ : १५
बुधबार, १५ चैत २०७९

हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु गरिन्छ । राजा शिवसिंह मल्लले ने.स. ७०८ देखि करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मच्छिन्द्रनाथको मूर्ति राखेर रथयात्रा गरिँदै आएको हो । रथयात्राको पहिलो दिन जमलबाट असनसम्म पुर्‍याइन्छ भने त्यसको भोलिपल्ट असनबाट हनुमान ढोका अगाडिसम्म रथ तानेर राखिन्छ । त्यसको पनि भोलिपल्ट मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म रथ तानेर जात्रा मनाइन्छ । 

रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सिमा नामक रुखलाई तीन पटक परिक्रमा गराई जात्राको समापन गरिन्छ । मच्छिन्द्रनाथको रथ यात्राको यो अन्तिम दिन लगन टोलमा रथ पु-याउने बित्तिकै जीवित देवी कुमारीलाई विमानखट अर्थात् सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा देखाउने चलन छ ।

हाम्रो धर्म, संस्कृति, स्वास्थ्य, समाज, स्वर्ग–नर्क, दुर्गति र प्रगतिसँग सम्बन्ध भएको हाम्रो आस्थाका देवता हुन करुणामय सेतो मच्छिन्द्रनाथ । करुणामयको आफ्नैपनको सेतो टीका हुन्छ । देवतालाई चढाउन ल्याएको चामलमा चोखो जल राखेर पिसेर बनाइएको टीका भगवान्को पाउमा चढाइएको पाउको टीका अत्यन्तै पवित्र हुने र यो टीका लगाउनाले शुभ मंगल हुने जन विश्वास छ । यो टीका लगाउन भिमसेनपातीले छुवाएर लिनुपर्छ भनिन्छ ।

करुणामय सेतो मच्छिन्द्रनाथको जल प्रसादको पनि अत्यन्तै महत्त्व छ । भगवान्लाई चढाउन ल्याएका पेडा र गाईको दूध मिलाए यो जल प्रसाद बनाइन्छ । यो जल प्रसाद पिएमा विभिन्न रोग निको हुन्छ भन्ने विश्वास छ ।  त्यस्तै, माटोको सानो पालामा राखेर चढाउन ल्याएको दहीको प्रसाद रुन्चे लागेका बच्चाहरूलाई पिलाएमा रुन्चे लागेको हराउँछ भन्ने पनि जनविश्वास छ ।

कोही मानिस गाह्रो साह्रो हुने गरी बिरामी भएमा करुणामयको जप पाठ गराइन्छ । यसमा पञ्चरक्षा, नव्याकरण, प्रज्ञापारमिता आदि पाठ गराइन्छ । यसरी पाठ गराइँदा रोग निको हुने विश्वास छ । दिवंगत भएका आफन्तको नाममा पनि निर्वाण कामना गरेर पाठ गराइन्छ । दुर्गति मोचनका निम्ति गुलुपाःमा चामल र पैसा राखेर गुलुपाः दान गरिन्छ ।

शुभ मंगल चिताएर आफ्नो र आफ्ना घर परिवारको सुख, शान्ति र कल्याण होस् भनी दियो बाल्ने गरिन्छ । दियोको ज्वालामा हत्केला सेकेर आँखामा लगाउने गरिन्छ । यसो गर्दा आँखाको रोग निको हुने विश्वास छ । 

आफ्नो परिवारमा कोही वितेको समयमा वा शुभकर्मका लागि पनि सत्व पूजा गराइन्छ । चामल पानी चढाउने भन्दै पानीका साथै स–साना हजारौ गुलपामा चामल राखेर दान गरिन्छ । कुनै पनि किसिमको भाकल र शुभ पूजा गर्दा श्रद्धापूर्वक यो दान गरिन्छ ।

करुणामय सेतो मच्छिन्द्रनाथलाई अमला र पानी पनि चढाउने गरिन्छ । भगवान्लाई मनपर्ने फलफूलमध्ये अमला पनि हो । स्वाथ्यका देवताका रूपमा मानिदै आएका मच्छिन्द्रनाथलाई सबैभन्दा मनपर्ने फल अमला भएको कारण यसमा भएको रोग प्रतिरोधात्मक शक्ति नै हो । अमलामा भिटामिन ‘सी’ हुन्छ । सेतो मच्छिन्द्रनाथको महास्नान गराएपछि दशकर्म विधिमा गरिने होम वा जग्गेमा पञ्चामृत राखी पकाइने भातलाई धौजा भनिन्छ । धौजा प्रसाद लिने भन्दै यही भातलाई पवित्र प्रसादको रूपमा खाने गरिन्छ । यो प्रसादले आरोग्य लाभ भई स्वास्थ्य राम्रो हुने विश्वास छ । त्यस्तै सिसापालु लिने भन्दै मच्छिन्द्रनाथको दशकर्म विधि सकेर देवता जाग्ने समयमा दिइने सगुनमा रहेको चाकु र अदुवामा नुन र ज्वानो मुछेर बनाई राखेको प्रसाद सिसापालु लिने गरिन्छ ।

मच्छिन्द्रनाथको महास्नानको समयमा दशकर्म विधिअनुसार जन्मोत्सव, विवाह, गुफा राख्ने गरिन्छ । यही सन्दर्भमा देवतालाई थायब्व (विहेको बेला खुवाउने ठूलो थालीको भोज) पनि खुवाइन्छ । यही थायब्वको प्रसाद बेल विवाह नगरेका बालिकालाई खुवाएमा बेल विवाह गर्नुपर्दैन भन्ने जनविश्वास छ । पुत्र नभएकाहरूले मच्छिन्द्रनाथको पिग्वय् प्रसादको रूपमा लिएमा पुत्र जन्मिन्छ भन्ने पनि जनविश्वास छ  ।

मृत्यु संस्कारमा घरलाई शुद्ध पार्न मच्छिन्द्रनाथको जल छर्किने चलन छ । यसबाट साँग्लो, कमिला आदि आउँदैनन् भनिन्छ । दिवंगत भएका आफन्त र घर परिवारका नाममा सिदा दान दिने गरिन्छ । सिदा दान दिंदा दिवंगत भएकालाई निर्वाण प्राप्त हुने विश्वास छ । शुभ मंगल चिताएर आफ्नो र आफ्ना घर परिवारको सुख, शान्ति र कल्याण होस् भनी दियो बाल्ने गरिन्छ । दियोको ज्वालामा हत्केला सेकेर आँखामा लगाउने गरिन्छ । यसो गर्दा आँखाको रोग निको हुने विश्वास छ । 

बौद्ध परम्पराअनुसार काठमाडौंको केलटोलमा कनक चैत्य महाविहार पुरानो नाम रहेको जनबहालमा मच्छिन्द्रनाथलाई पुष शुक्ल अष्टमीका दिन महास्नान गराइन्छ । मच्छिन्द्रनाथलाई स्नान गराइँदा मूर्तिलाई मन्दिर बाहिर ल्याई मन्दिर अगाडि रहेको डबलीमा सातवटा नाग भएको आसनमा विराजमान गराइन्छ । अनि ६ वटा तामाको घडामा भएको चोखो जलमध्ये दुई जनाले एकैपटक तीन पटक र एउटाले एकपटक मनतातो पानीले स्नान गराइन्छ । स्नान गराइ रहँदा पञ्चताल बाजा  बजिरहन्छ । स्नान गराउनु अघि मच्छिन्द्रनाथको मूल गुरुजुले दश दिशामा बौद्ध परम्पराअनुसार दश दिक्पालको पूजा गर्छन् ।

मच्छिन्द्रनाथको मूर्तिलाई पुस शुक्ल पूर्णिमाका दिन बौद्ध परम्पराअनुसार प्राण प्रतिष्ठा गरी केटा र केटी दुवैलाई गरिने जात कर्म, नाम कर्म, अन्नप्रासन, उपनयन, चुडाकर्म, बेलविवाह, गुफा राख्ने आदि दशकर्म गरेपछि मन्दिरको आफ्नै आसनमा राख्न लगिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेममान डंगोल
प्रेममान डंगोल
लेखकबाट थप