शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकपछि अर्को गर्दै राजावादीलाई भेट्दै पूर्वराजा ज्ञानेन्द्र शाह

बुधबार, १५ चैत २०७९, १६ : १७
बुधबार, १५ चैत २०७९

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले एक पछि अर्को गर्दै राजावादीलाई भेट्न थालेका छन् । चैत पहिलो साता राप्रपाका शीर्ष नेताहरुलाई भेटेका पूर्वराजाले त्यसपछि पनि निरन्तर राजावादीहरुलाई भेट्दै आएका छन् । सार्वजनिक रुपमै वर्तमान व्यवस्थाप्रति कटाक्ष गर्दै आएका पूर्वराजाको पछिल्लो सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । पूर्वराजाले मंगलबार रातिमात्रै पनि इटहरीमा राजावादी नेताहरुलाई भेटेका छन् । सुनसरीको एक धार्मिक कार्यक्रममा गएका उनले सो कार्यक्रम सकिएपछि राप्रपाका नेताहरुसहितका राजावादीसँग भेटवार्ता गरेका हुन् ।  भेटमा उनले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको विषयमा कुराकानी गरेको स्रोतको भनाइ छ । 

पूर्वमन्त्री रामकुमार सुब्बाको इटहरीस्थित निवासमा पूर्वराजा राति छलफलका लागि पुगेका हुन् । मोरङको बूढीखोलास्थित विश्रान्तीघाटमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भएपछि शाह सुब्बाको निवासमा पुगेका हुन् । डिनरसहितको उक्त भेटवार्तामा राजसंस्था पुनर्स्थापनाका सवालमा गम्भीर विचारविमर्श भएको स्रोतको भनाइ छ । सो क्रममा पूर्वराजाले देशको आर्थिक अवस्था तरल रहेको, राजनीति अवस्था संकटतर्फ उन्मुख देखिएको धारणा राखेका थिए । 

यस्तो अवस्थामा राजावादी शक्तिहरु एकजुट हुनुपर्ने धारणा सहभागीले राखेपनि पूर्वराजाले भने स्पष्ट कुरा राखेनन् । ‘उहाँले वर्तमान अवस्थाबारे कुरा राखेर बढी सहभागीको कुरा सुन्नु भयो’, छलफलमा सहभागी एक राजावादी नेताले रातोपाटीसँग भने । 

भेटमा राप्रपाको तर्फबाट सुब्बासहित, कोशी प्रदेशका मन्त्री भक्ति सिटौला, राप्रपाका प्रवक्ता सगुन लावती, पूर्वमन्त्री बद्री मण्डल, विद्वत परिषद्को जीत बहादुर अर्यालसहित केही राजावादी र व्यापारी पनि रहेको बताइएको छ । राप्रपाका प्रवक्ता लावतीले पूर्वराजा सुब्बाको निवासमा आएको पुष्टि गरेपनि थप कुरा खुलाउन चाहेनन् । 

पूर्वराजाले देशको समस्या समाधानका लागि राजावादी शक्ति एकजुट हुनुपर्ने आशय भेटहरूमा व्यक्त गर्दै आएका छन् । सोहीअनुसार पूर्वराजाकै ब्याक सपोर्टमा दुर्गा प्रसाईँले अभियान सञ्चालन गर्दै आएको आरोप समेत लाग्ने गरेको छ ।

 उसो त पूर्वराजाले चैत पहिलो साता राप्रपाका नेताहरूसँगको भेटमा आन्दोलन चर्काउनै सुझाव दिइसकेका छन् । राप्रपाले पूर्वराजासँग सबैभन्दा निकट सम्बन्ध आफ्नो पार्टीको रहेको दाबी गर्दै आएको छ । पूर्वराजाले  भेटवार्तालाई निरन्तरता दिने योजना बनाएको समेत उनी निकटस्थहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप