बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : सत्ताको लुछाचुँडी, पूर्वराजा सक्रिय

बुधबार, १५ चैत २०७९

आज मिति २०७९ चैत महिनाको १५ गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा लगभग टुंग्याएको छ । बुधबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए । सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको उनको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ ।

तीन कम्युनिस्ट पार्टीबीच एकता हुँदै

तीन साना कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत तथा मोहनविक्रम सिंह नेतृत्वको मसालबाट विद्रोह गरेको सन्तबहादुर नेपालीको नेकपा मशाल पार्टीबीच एकता हुने भएको छ ।

पूर्वराजा सक्रिय

पूर्वराजा ज्ञानेन्द्र शाहले एक पछि अर्को गर्दै राजावादीलाई भेट्न थालेका छन् । चैत पहिलो साता राप्रपाका शीर्ष नेताहरुलाई भेटेका पूर्वराजाले त्यसपछि पनि निरन्तर राजावादीहरुलाई भेट्दै आएका छन् । सार्वजनिक रुपमै वर्तमान व्यवस्थाप्रति कटाक्ष गर्दै आएका पूर्वराजाको पछिल्लो सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । पूर्वराजाले मंगलबार रातिमात्रै पनि इटहरीमा राजावादी नेताहरुलाई भेटेका छन् । सुनसरीको एक धार्मिक कार्यक्रममा गएका उनले सो कार्यक्रम सकिएपछि राप्रपाका नेताहरुसहितका राजावादीसँग भेटवार्ता गरेका हुन् ।  

स्थानीय तहको अड्को

सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको प्रमुख प्रशासकीय अधिकृतलाई कतिपय स्थानीय तहका प्रमुखले हाजिर गर्न नदिएको पाइएको छ। लामो समयदेखि निमित्तका भरमा चलेका नगरपालिका र गाउँपालिकामा सामान्य प्रशासनले यसै महिना प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो। नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरिए पनि राजनीतिक हस्तक्षेपका कारण उनीहरूलाई हाजिर गर्न नदिएको मन्त्रालयले जनाएको छ। 

क्रिकेट रंगशाला निर्माण

धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र परेको झण्डै दुई वर्ष भइसकेको छ । स्थानीयवासीले उक्त रंगशाला निर्माण प्रक्रिया अघि बढाउन दबाब दिने उद्देश्यले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ स्थानीय पहल समिति, चितवन’ गठन गरेका छन् ।

,चिकित्सा शिक्षाको छात्रवृत्तिमा बेथिति

चिकित्सा शिक्षाको छात्रवृत्ति लिन निजी विद्यालयमा पढेर सरकारी स्कुलबाट नक्कली प्रमाणपत्र लिने गरेको पाइएको छ । चिकित्सा शिक्षा आयोगले लिने गरेको एकीकृत प्रवेश परीक्षा (सीईई) दिने निजी विद्यालयबाट पढेका विद्यार्थीहरूले सरकारी विद्यालयबाट नक्कली प्रमाणपत्र बनाउने गरेको पाइएको हो । 

अनिवार्य स्तनपान

कास्कीकी एक महिलाले सिजेरियन सेक्सन (शल्यक्रिया) बाट मंसिरको पहिलो साता आफ्नो पहिलो सन्तान जन्माइन् तर स्तनपान भने गराइनन् । शल्यक्रियाबाट जन्माउँदा सुरुमै बच्चालाई उनको दूध नख्वाएर बट्टाको दूध ख्वाइयो । अपरेसन गरेको तीन दिनपछि बच्चालाई आमाको दूध चुसाउँदा राम्रोसँग चुस्नै सेकन । 

शरणार्थीको नक्कली परिचयपत्र

भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठग्ने समूहका ३ जना आरोपी चैत १२ मा पक्राउ परे । पक्राउ पर्नेमा मोरङ घर भएका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारी छन् । उनीहरूको कनेक्सन पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ डा. इन्द्रजीत राईसँग देखिएको छ ।

अमृतपाल सिंह नेपालगन्जमा लुकेको आशङ्कामा खोजतलास तीव्र

भारतको पन्जाबमा स्वतन्त्र राज्य खालिस्तानकाे माग गर्दै आएका सिख अभियन्ता अमृतपाल सिंह नेपालमा लुकेको आशङ्का गरिएको छ । सिंह नेपालमा आएको हुनसक्ने दाबी गरेर भारतीय दूतावासले नेपाल सरकारलाई पत्राचार गरेको छ ।

चिनियाँको ठगी धन्दा

चिनियाँ नागरिकहरूले अनलाइन एप्स ‘टेलिग्राम’ मार्फत काठमाडौँमा बसेर ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ठगीमा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ र १० जना नेपालीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया