शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
फलोअप

शरणार्थीको नक्कली परिचयपत्र : तत्कालीन गृहमन्त्रीका सुरक्षा विज्ञसँग आरोपीको कनेक्सन

बुधबार, १५ चैत २०७९, १० : ३३
बुधबार, १५ चैत २०७९

काठमाडौँ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठग्ने समूहका ३ जना आरोपी चैत १२ मा पक्राउ परे । पक्राउ पर्नेमा मोरङ घर भएका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारी छन् । उनीहरूको कनेक्सन पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ डा. इन्द्रजीत राईसँग देखिएको छ ।

प्रहरीको अनुसन्धानबाट ठगीमा संलग्न आरोपी सानु भण्डारी र केशव प्रसाद दुलालको सम्पर्क डा. राईसँग देखिएको हो । डा. इन्द्रजीतका छोरा नीरजले आरोपीहरूसँग १ करोड भन्दा धेरै रकम ‘घुस’ लिएको अनुसन्धानका क्रममा आरोपीले बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘नीरजले भुटानी शरणार्थीसँगै नक्कली कार्ड भएका नेपालीलाई पनि अमेरिका पठाउँछौँ भनेर १ करोड भन्दा धेरै करम बुझेको आरोपीहरूले बताएका छन् ।’

ठगीमा संलग्न आरोपीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । अनुसन्धान अधिकृतहरूसँग सानु भण्डारीले थप रकम समेत उच्च नेतृत्वसम्म बुझाएको दाबी गरेका छन् । 

तर, तत्कालीन गृहमन्त्रीका सुरक्षा विज्ञ राईले आफूले सानु भण्डारीलाई नचिनेको दाबी गरे । उनले आरोप मात्रै लगाएर केही अर्थ नहुने भन्दै यसबारेमा प्रमाण पनि पेस गर्न सक्नुपर्ने बताए । ‘मैले सम्बन्धित ठाउँमा जवाफ दिइसकेको छु । आरोप मात्रै लगाएर हुँदैन, पुष्टि गर्न चुनौती दिन्छु’, राईले रातोपाटीसँग भने । 

२०७४ फागुन १४ मा गृहमन्त्री नियुक्त भएका ‘बादल’ले लामो समय गृह मन्त्रालयको कमान्ड गरेका थिए । डा. राई उनको विज्ञ सल्लाहकार थिए । ‘बादल’को कार्यकालमा ठगीमा संलग्न गिरोहहरुले ठुलो चलखेल गरेको पीडितहरूको भनाइ छ ।

आरोपीहरूले अमेरिका पठाउन ‘ट्राभल डकुमेन्ट’ समेत बनाएको अनुसन्धानबाट थाहा भएको छ । तर, भनेको समयमा नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाउन नसके पछि घटना बाहिरियो ।

दाङ घर भएका सन्देश शर्मा ठगीको मुख्य योजनाकार हुन् । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिलमा आबद्ध सन्देश आफू पनि अमेरिका जान्छु भन्थे । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएर धापाखेल बस्ने ४९ वर्षीय केशव दुलालसँग मिलेर उनले समूह बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । शर्मा अहिले फरार छन् ।

‘अमेरिका सपना’ देखेर लाखौं बुझाएकाहरू अहिले पनि आरोपीहरूको धम्कीका कारण मोबाइल चलाउन नसक्ने अवस्थामा छन् । उनीहरू सामाजिक सञ्जाल मार्फत एक अर्कासँग कुरा गर्छन् । आरोपीहरूले १३ करोड ६३ लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीका अनुसार ८१ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।

ठगीमा संलग्नहरूले पूर्व गृहमन्त्रीहरू र पूर्व सचिवहरूको पनि सो ठगीमा संलग्नता रहेको जिकिर गरेका छन् ।  उनीहरूले रामबहादुर थापाका छोरा प्रतीकसँग पनि कुरा भएको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप