बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

टेलिग्राम एप्समार्फत चिनियाँको ठगी धन्दा, किराना पसलेले गुमाए ४८ लाख

९ जना चिनियाँ र १० जना नेपाली पक्राउ
बुधबार, १५ चैत २०७९, १८ : १३
बुधबार, १५ चैत २०७९

काठमाडौँ । चिनियाँ नागरिकहरूले अनलाइन एप्स ‘टेलिग्राम’ मार्फत काठमाडौँमा बसेर ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ठगीमा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ र १० जना नेपालीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । चिनियाँहरूले ठगीको रकम संकलन गर्न कर्मचारी नै नियुक्त गरेका थिए । दोलखाको बैत्यश्वर गाउँपालिका–२ घर भएका अर्जुन श्रेष्ठलाई आरोपीहरूले रकम सङ्कलनमा प्रयोग गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा.मनोज केसीले रातोपाटीलाई बताए । २६ वर्षीय श्रेष्ठलाई चिनियाँहरूले स्कुटर दिएर बैङ्कबाट रकम सङ्कलन गर्न लगाएका थिए ।

प्रहरीले अर्जुनसहित १० जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएका ४६ वर्षीय बुद्धिराज श्रेष्ठ, नुवाकोट घर भएका २९ वर्षीय इन्द्र तामाङ, ३६ वर्षीय राजकुमार लामा, काठमाडौँका प्रयास भण्डारी, उदयपुर घर भएकी अनिता मगर र गोरखा घर भएकी अनु गुरुङ छन् । पक्राउ पर्ने चिनियाँ नागरिकहरू हुवाङ्ग हुआनरोङ, छु फुजियाङ्ग, लान  फुजियाङ्ग, छि गुओई, छि सुयाङ्गदी, गाओ मिङ्ग, इचोउ पिङ भिङ्ग, छेन दुर लिन र लि जियान होङ्ग छन् ।

रामेछाप घर भएकी ३४ वर्षीय रविना सुनुवार, लमजुङ घर भएकी सुनिता गुरुङ र मकवानपुर घर भएकी २२ वर्षीय जमुना गोलेउर्फ क्रिस्टिनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका नेपाली नागरिकले चिनियाँलाई सहयोग गरेको अनुसन्धानबाट थाहा भएको छ । विराटनगरमा किराना पसल चलाउँछन् ३० वर्षीय राजीव क्षेत्री (नाम परिवर्तन) । रेडिमेड कपडाको व्यापार गर्न चाहने राजीव ह्वाट्स एपमा आएको वेबसाइट ठेगानामार्फत टेलिग्राम एप्समा प्रवेश गरेका हुन् । चिनियाँ नागरिकले सुरुमा राजीवलाई अनलाइनमा व्यापार गर्ने तरिका सिकाए । त्यसपछि बिस्तारै व्यापार गर्ने नाममा फिसिङ गरेको अनुसन्धानबाट थाहा भएको छ ।

राजीवले टेलिग्राममार्फत सामान किन्ने र टेलिग्रामबाटै बेच्न सुरु गरे । ४८ लाख गुमाएपछि टेलिग्राममै देखा परेका ‘प्रहरी’ले उनलाई लाखौं रकम कारोबार गरेको आरोप लगाएर कानुनी कारबाही गर्ने चेतावनी दिएपछि उनी प्रहरीको सम्पर्कमा पुगेका हुन् । आरोपीहरूले एप्समार्फत नै सामान अर्डर गराउँथे । सामान प्याक गरेर पठाएको र पानी जहाजमा आउँदै गरेको फोटो पठाएर ग्राहकलाई झुक्क्याउँथे । अनि, आफैँ सामान बिकेको देखाएर ३० प्रतिशत कमिसन हालिदिन्थे । तर, सामान बेचेबापत आउने रकम उनीहरुले खातामा नै डिपोजिट राखिएको नक्कली विवरण देखाएर ठग्ने गरेको एसएसपी डा. केसीले जानकारी दिए ।

ठगेको रकम सङ्कलन गर्न राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खाता खोलेको भेटिएको छ । उनीहरुले खाता प्रयोग गर्न दिएबापत मासिक १० हजार तलब पाउँथे । ४ वटा खातामा १ करोड ६४ लाख कारोबार भएको देखिएको छ । ठगीमा १४ वटा बैङ्क खाता प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । अरू १० वटा खाताको कारोबार विवरण प्रहरीले मागेको छ । प्रारम्भिक अनुसन्धानबाट हालसम्म १० करोड कारोबार भएको आकलन गरिएको छ । एसएसपी केसीकाअनुसार दुई चिनियाँ अवैध भिसामा नेपाल बसिरहेका थिए ।

आरोपीहरू बुढानीलकण्ठ, गल्फुटार र चण्डोलबाट पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले ठगीमा प्रयोग गरिएको ७७ थान मोबाइल बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप