शरणार्थीको नाममा ठग्नेहरू : धमाधम बनाउँदै थिए ललितपुरमा घर

काठमाडौँ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गर्ने समूहका सदस्यहरू पछिल्लो समय चुपचाप बसिरहेका थिए । ठगीमा उच्च पदस्थहरू नै संलग्न भएको भन्दै अरोपीहरूले आफूलाई पक्राउ गर्नबाट जोगाउँदै आएका थिए ।
पीडितहरूले उनीहरुविरुद्ध २०७९ जेठ १८ मा प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा चैत १२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा मोरङ घर भएका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारी छन् ।
त्यसपछि थप एकजना पक्राउ परेका छन् । पछिल्लो समय पक्राउ पर्ने आरोपी हुन्, मोरङका सागर राई । सागरलाई ललितपुरको बालकुमारीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले रातोपाटीलाई बताए ।
आरोपीहरूले १३ करोड ६३ लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीका अनुसार ८१ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । आरोपीहरूले नेपाली नागरिकलाई शरणार्थीको परिचयपत्र बनाएर ‘अमेरिकाको सपना’ देखाएको अनुसन्धानबाट थाहा भएको छ ।
चैत १२ मा प्रहरी पुग्दा केशव प्रसाद दुलाल धापाखेलमा घर बनाइरहेका थिए । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का स्थानीय दुलालको अहिले ललितपुर महानगरपालिका–२३ स्थित धापाखेलमा घर बन्दै छ । उनको निर्माणाधीन ३ तले घरको फोटो रातोपाटीलाई प्राप्त भएको छ ।
केशवको निर्माणाधीन घर नजिकै अर्का आरोपी टंक कुमार गुरुङको घर छ । अपराध अनुसन्धान कार्यालयको टोली पुग्दा केशव दुलाल टंक गुरुङको घरमा भेटिएका थिए । केशव र टंक दुवै जनालाई त्यहीँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–२३ का बस्ने सानु भण्डारीले अहिले महालक्ष्मी नगरपालिका– ४ स्थित सीतापाखा हाइटमा घर बनाएका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार सानुले ठगेर आएको पैसाले घर बनाएका हुन् ।
हात्तिवनस्थित सीतापाखामा बनाएको घर भण्डारीले आफ्नो पत्नीको नाममा राखेको भेटिएको छ ।
आरोपी सागर राई मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा नम्बर–१० को पूर्व अध्यक्ष हुन् । सागरले अमेरिका जान चाहनेहरूसँग उठाएको पैसा मध्ये ७ लाख रुपैयाँ भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई बुझाएको बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले भारतसँग गलत सहमति गर्न सक्छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
महोत्तरीमा उपप्रमुखमाथि हातपातको प्रयास, कार्यकक्षमा उपमेयरका श्रीमान पनि कुटिए
-
वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ
-
अमेरिका अभिनेता डयानीमाथि बलात्कारको आरोप पुष्टि, तोकियो ३० वर्षको जेल सजाय
-
करेन्ट लगाएर माछा मार्ने क्रममा साथीको मृत्यु भएपछि तीन युवकविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता
-
विश्वविद्यालयलाई सय शय्याको अस्पतालमा घटुवा गरेपछि सुदूरपश्चिमवासी ‘फायर’