डेढ दशकसम्म बन्न नसकेको उपराष्ट्रपतिको २ कोठे घर
बारा । राजनीति गरेर नेपालमा राजनीतिक दलका धेरै नेता/कार्यकर्ताहरू घर–जग्गादेखि करोडौँको सम्पत्तिका मालिक बने । तर, २ पटक संघीय सांसद, पार्टीको केन्द्रीय सदस्य, संसदीय दलको नेता, ९ महिना संघीय सरकारको वन तथा वातावरण मन्त्री भएर हाल उपराष्ट्रपतिमा निर्वाचित भएका रामसहायप्रसाद यादवका परिवार अहिले पनि गोठमै बस्छन् भन्दा धेरैलाई पत्यार लाग्दैन ।
_VhThcbX2D3.jpg)
कलैया उपमहानगरपालिका वडा नं ५ बयलबजारको गौचरन छेउमा उपराष्ट्रपति यादवको सानो कच्ची घर छ जसमा उनकी धर्मपत्नी चम्पादेवी र वस्तुभाउ एउटै छानामुनि बस्दछन् । कमजोर आर्थिक अवस्थाका कारण सानो कच्ची घरको आधा भागमा २ वटा कोठा निकालेर उपराष्ट्रपतिकी धर्मपत्नी र छोराछोरी बस्छन् भने आधा भागमा वस्तुभाउ बाँध्ने गोठ बनाइएको छ ।
_Nb7r0A5SWZ.jpg)
त्यही कच्ची घरमा चम्पादेवीका ३ छोराछोरी हुर्किएर माध्यमिक तहसम्मको पढाई पुरा गरे भने त्यहीँबाट नै यादवले सुरु गरेको राजनीतिक यात्रामा उनी अहिले मुलुकको उपराष्ट्रपति पदमा पुगे ।
बर्खायाममा घरमा पानी चुहिने समस्याले आजित भएपछि यादवले करिब १४ वर्षअघि २ कोठाको पक्का घर बनाउन त सुरु गरे तर घर बनाउने काम भने पुरा हुन सकेन । छोराछोरीको पढाई, चम्पादेवीलाई घरधन्दा र खेतीपातीले भ्याई नभ्याई हुने र यादव सधैँ राजनीतिक कार्यक्रममा घर बाहिर हुँदा झन्डै डेढ दशकअघि पिलर उठाएर सुरु गरेको घर यतिका वर्षसम्म अधुरै रहेको उपराष्ट्रपतिका जेठा छोरा शत्रुधन यादव बताउँछन् ।
_bm5AGmoaoj.jpg)
‘हाम्रो पढाइलेखाई, बुवाको चुनाव, आर्थिक अवस्था पनि कमजोर भएको र घरमा पनि ममी एक्लै हुँदा २ कोठाको पक्का घर बनाउन जग र पिलर उठाए पनि धेरै वर्षसम्म हामीले घरको बनाउन सकेनौँ,’ शत्रुधन यादवले भने ‘यसपटक बल्ल पर्खाल उठाउने र छत ढलान गर्ने काम सुरु भएको छ ।’
झन्डै डेढ दशकअघि पिलर उठाएर त्यतिकै बेवारिसे अवस्थामा छोडिएको घर यसपटक इन्जिनियरसँगको सल्लाहमा पुरानो पिलरबाटै घर बनाउन मिल्छ भनेकोले बाँकी काम सुरु गरेको शत्रुधनले बताए ।
_RAJAUgsxcc.jpg)
१८ वर्ष स्थानीय पन्नादेवी कन्या स्कुलमा शिक्षण पेसा गरेका यादव आर्थिक रूपमा मध्यम वर्गका मानिन्छन् । उपराष्ट्रपति यादवको नाममा पुस्तेनी जग्गाजमिन भए पनि खेतीयोग्य भूमि बेचबिखन गरेर घर बनाउन नहुने उपराष्ट्रपति यादवको बुझाई छ ।
यसपटक उपराष्ट्रपति बनेपछि भने घरमा आउँदा बस्ने ठाउँ नभएकोले घर बनाउनुपरेको यादवकी धर्मपत्नी चम्पादेवी बताउँछिन् । ‘मलाई साल याद छैन तर पिलर ढलान हानेको १३–१४ वर्ष भयो । सरको (उपराष्ट्रपति) को फुर्सद नहुने, म खेतीपाती र घरधन्दाले नभ्याउने हुँदा घर बनाउने काम पुरा हुन सकेको थिएन,’ चम्पादेवीले भनिन्, ‘म एक्लै छु । खेतीपाती र वस्तुभाउ हेरूँ कि घर बनाउनु ? बल्ल फागुनदेखि फेरि घर बनाउन थालेका छौँ ।’
_GbTK0SxG3n.jpg)
चम्पादेवीका २ छोरा १ छोरी अध्ययनका लागि काठमाडौँमै बस्छन् भने गाउँको सानो कच्ची घरमा चम्पादेवी एक्लै बस्छिन् । बिहान ३ बजे उठेदेखि घरधन्दा, खेती, वस्तुभाउ र घर बनाउने मिस्त्रीसँगै उनी काममा खट्छिन् । ‘यसपटक घर बनाउनु नै पर्यो । सर आएपछि कहाँ राख्ने ?,’ चम्पादेवीले भनिन्, ‘छोराछोरी जन्मिनुभन्दा पहिल्यै किनेको घडेरी हो यो । पैसाको समस्याले बनाउन सकेको थिएन यसपटक पुरा हुन लागेको छ ।’
५ धुर जग्गामा २ कोठाको अधुरो घर १४ वर्षपछि पुरा हुन लागेकोमा चम्पादेवी खुसी छिन् । २ कोठे घर बनाउन अहिलेसम्म ५ लाख रुपैयाँ खर्च भइसकेको उपराष्ट्रपति यादवका छोरा शत्रुधनले बताएका छन् ।
_Hst4n9SgFU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण