बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा विस्तारका सबै सडक सम्पन्न हुन बाँकी

सोमबार, २० चैत २०७९, २१ : ३४
सोमबार, २० चैत २०७९

काठमाडौँ । काठमाडौँ उपत्यकामा सात/आठ वर्ष पहिले सुरु भएका विस्तारका सडकमध्ये कुनैको पनि काम सम्पन्न भइसकेको छैन । सबै सडकमा थोरैथोरै मात्रै काम बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

उपत्यकामा विस्तारका सडकमा कालोपत्र बाँकी भएकामा पनि अरू आधारभूत काम भइसकेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । अहिले अधिकांश सडक सम्पन्न हुने क्रममा रहे पनि थोरैथोरै काम बाँकी रहेको छ । तुलनात्मकरुपमा बढी काम भएको नख्खु–बुङमति सडकमा भए पनि त्यहाँका सडक यही महिनाभित्र सम्पन्न गर्नुपर्ने उनले बताए । उनले भने, “सबैतिर एकदुई किमी मात्रै बाँकी छ र त्यसमा पनि बेस र सबबेसको काम भइसकेको छ ।”

अधिकांश सडकमा विसं २०७१ र विसं २०७२ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । शुरुका वर्षमा सडक विस्तार हुन नसकेका कारण निर्माण अघि बढ्न सकेको थिएन । आयोजनाले २० र २२ मिटर चौडा गर्ने गरी ठेक्का गरेपनि स्थानीयबासीको अवरोधका कारण सोअनुसार सडक अघि बढ्न सकेको थिएन । 

लामो समय निर्माण अवरुद्ध भएपछि सरकारले सबै सडकमा उपलब्ध चौडाईमा नै कालोपत्र गर्ने निर्णय गरेको थियो । त्यसपछि पनि कहिले कोभिडका कारणले त कहिले निर्माण सामग्रीको सजिलै उपलब्ध नहुँदा निर्माण चालु हुन नसकेको आयोजनाले जनाएको छ । 

विस्तारका अधिकांश सडक समयमै सम्पन्न नहुनुको कारण एउटै रहेको पाइन्छ । पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकमलगायतका सेवा प्रदायक संस्थाले संरचना बिच्छ्याउन लागेका कारण तत्काल सम्पन्न गर्न नसकिएको सूचना अधिकारी जोशीले बताए । उनले भने, “कालोपत्र गरिसकेर खन्नेभन्दा पहिले उनीहरुलाई काम गरिसक्न दिएर मात्रै काम अघि बढाउन लागिएको हो ।”

लिमिटेडले पाइप बिच्छाइरहेको, प्राधिकरणले विद्युत्को लाइन अण्डरग्राउण्ड गरिरहेको र टेलिफोनको अप्किल फाइबर अण्डरग्राउण्ड गरिहरेको छ ।  समन्वयमा नै ती निकायलाई काम गर्न दिइएको सूचना अधिकारी जोशीले बताउनुभयो । चावहिल–जोरपाटी सडक निर्माण कमपनीले एक सातामा सम्पन्न गर्ने भने पनि पहिले खानेपानीको पाइप राख्न दिइएको उनले बताए । उनले भने, “उहाँहरुले पनि कालोपत्र गर्नासाथ खन्दा गलत सन्देश जान्छ भनेर पाँचसातमा आफ्नो काम सकाउने र त्यसपछि मात्रै कालोपत्र गर्न भन्नुभएको छ ।” 

हाल ललितपुरका चार, काठमाडौँका तीन र भक्तपुरको एक सडक विस्तार भइरहेको छ । सबै सडकमध्ये अब जम्मा पाँच/छ किमी मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप