शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
अर्थ

बैंकहरुको कर्जा लगानी हुन छाड्यो, भरपर्दो क्षेत्र खोज्न कर्मचारी परिचालन

मङ्गलबार, २१ चैत २०७९, १५ : १७
मङ्गलबार, २१ चैत २०७९

काठमाडौं । तरलता अभावलाई देखाएर ब्याजदर वृद्धि गरेका बैंकहरुलाई लगानीका लागि सकस पर्न थालेको छ । खासगरी वाणिज्य बैंकहरुमा पछिल्ला दिनमा लगानी योग्य रकम थुप्रिन थालेको हो । पछिल्लो समय बैंकहरु सुरक्षित लगानीको क्षेत्र खोज्न थालेका छन् । २२ वटा वाणिज्य बैंकमा मात्र २ खर्ब रुपैयाँ बराबरको लगानी योग्य तरलता थुप्रिएको छ । तरलता अभावकाबिच बैंकहरुले कर्जा लगानीमा कडाईका साथै ब्याजदर समेत बढेपछि लगानी हुन छाडेको हो ।

खराब आर्थिक स्थितिका बाबजुद आम सर्वसाधारण, उद्योग, व्यवसायीहरु समेत यतिखेर ‘पर्ख र हेर’को अवस्थामा छन् । उच्च ब्याजदरकै कारण व्यवसायीहरु कर्जा लिएर लगानी गर्न चाहिरहेका छैनन् । बढेको ब्याजदर पहिला घट्नुपर्ने उनीहरुको माग छ । चैत २० गतेसम्म ५७ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका बैंकहरुले सोही अवधिमा ४२ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको मात्र कर्जा लगानी गरेका छन् । हाल ८५ प्रतिशत सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) मा झरेका वाणिज्य बैंकहरु २ खर्ब रुपैयाँमाथि लगानी योग्य रकम बोकेर बसेका छन् । तर लगानी गर्ने सुरक्षित र भरपर्दो क्षेत्र भेटेका छैनन् ।

भरपर्दो क्षेत्र खोज्न कर्मचारी परिचालन

कर्जा लगानीकै लागि बैंकहरुले आजभोलि सुरक्षित र भरपर्दो क्षेत्र खोज्न कर्मचारी परिचालन गरेको जानकारी प्राप्त भएको छ । बैंकमा तरलता थुप्रिदै गर्दा बैंकको लगानी (खर्च) बढ्ने तर प्रतिफल नमिल्ने हुँदा बैंकहरु तनावमा छन् । यसैले बैंककै कर्मचारी लगाएर लगानीको सुरक्षित क्षेत्र खोजी गर्न थालिएको एक बैंकर्सले रातोपाटीलाई जानकारी दिए ।

वाणिज्य बैंकहरुको छाता संगठन ‘नेपाल बैंकर्स संघ’ का अध्यक्ष तथा एनएमबी बैंकका कार्यकारी अधिकृत सुनिल केसीले पछिल्लो समय बैंकहरुले लगानीको सुरक्षित क्षेत्रको खोजी गर्न थालेको स्वीकारे । ‘योजनाबद्ध तरिकाले अहिले हामी लगानीको सुरक्षित क्षेत्रको खोजीमा छौं । रिस्क (जोखिम) हेरेर बैंकहरुले लगानी गर्न थालेका छन् । बैंकर्स संघमा आवद्ध सबै सदस्य वाणिज्य बैंकहरुले मिलेर नै सुरक्षित क्षेत्रमा लगानी गर्ने नीति बनाएका छौं,’ उनले भने, ‘यसैले पछिल्लो समय हामीले विद्युतीय गाडीमा लगानी बढाएका छौं ।’

लगानीको दीर्घकालीन उपलब्धी र राष्ट्रिय पुँजी निर्माणलाई ध्यानमा राखेर बैंकहरुले लगानी गर्न थालेको उनले बताए । विद्युतीय गाडीमा लगानी गर्दा दीर्घकालमा पेट्रोलियम पदार्थमा बाहिरिने अर्बौं रुपैयाँ जोगाउने र पर्यावरणीय सन्तुलन कायम गर्न समेत मद्दत पुग्ने हुँदा बैंकहरु यतातर्फ आकर्षित भएको उनको तर्क छ ।

पछिल्लो समय सरकारले पेट्रोलियम गाडीको आयातमा कडाईको नीति अपनाएसँगै आयातकर्ता व्यवसायीहरु विद्युतीय गाडीतर्फ आकर्षित भएका छन् । योसँगै बैंकहरु समेत लगानीका लागि विद्युतीय गाडीतर्फ नै सिफ्ट भएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ८ महिनामा २१ सय ३९ वटा विद्युतीय गाडी आयात भएको छ । सानाठूला गरी ७ अर्ब रुपैयाँ बराबरको विद्युतीय गाडी आयात हुँदैगर्दा बैंकहरुले राम्रै लगानी गरेका छन् । थप पछिल्लो समय बैंकहरुले कम्पनीहरुसँग एमओयू (सम्झौता) नै गरेर विद्युतीय गाडीको खरिदमा फाइनान्सिङ सुविधा प्रदान गर्ने घोषणा गरिरहेका छन् ।

यस्तो फाइनान्सिङ सुविधा बैंकहरुले १३ देखि १४ प्रतिशतको ब्याजदरमै उपलब्ध गराइरहेका छन् ।

लगानी जोखिमको त्रास

खासगरी पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको लगानी उठ्न छाडेपछि बैंकहरु थप लगानी गर्न डराइरहेका छन् । पछिल्लो रिपोर्ट अनुसार वाणिज्य बैंकहरुको खराब कर्जाको दर (एनपीएल) २.६९ प्रतिशत पुगेको छ भने लघुवित्तको एनपीएल ७ प्रतिशत हाराहारी छ । यसले पनि बैंकहरु त्रसित छन् ।

लगानी उठ्न छाडेपछि बैंकहरुले थप लगानी गर्न छाडे । बैंकमा पैसा थुप्रिन पुग्यो । तर, कर्जा लगानी नै रोकिने स्थिति बनेपछि बैंकहरुले पछिल्लो समय लगानीको सुरक्षित क्षेत्र खोज्न थालेका हुन् । यद्यपि, अझै वातावरण सहज भइनसकेको अवस्थामा खुलेर कर्जा लगानी गर्ने मनसायमा भने बैंकहरु छैनन् ।

आगामी असार मसान्तपछि केन्द्रीय बैंकको नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुले डिभेन्चरलाई पुँजी वा निक्षेप एकमा मात्र गणना गर्न पाउने व्यवस्थाले थप अप्ठेरो पर्न सक्ने आकलनसहित बैंकहरुले लगानीमा संयमता अपनाएका छन् । २०८० असार मसान्तसम्म यस्तो डिभेन्चरलाई पुँजी र निक्षेप दुवैमा गणना गर्न पाउने छुट राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप