बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
नामकरण विवाद

माओवादीको दोहोरो चरित्र : पहिले कोशीमा मतदान, अहिले आन्दोलनमा समाहित !

बुधबार, २२ चैत २०७९, १२ : ०३
बुधबार, २२ चैत २०७९

विराटनगर । तत्कालीन प्रदेश १ को नाम कोशी राख्न सहमत हुँदै कोशीको पक्षमै मतदान गरेको नेकपा (माओवादी केन्द्र) यतिबेला भने त्यही नाम खारेज गर्नुपर्ने आन्दोलनमा समाहित भएको छ ।

चैत २१ गते नेकपा माओवादी निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले भर्चुअल बैठक गरेर कोशी खारेज गर्नुपर्ने भन्दै सरोकारवालासँग छलफल ग¥यो । आगामी चैत २८ गते पनि माओवादी निकट किराती राष्ट्रिय मुक्ति मोर्चाले त्यस्तै छलफल आयोजना गरेको छ । उक्त छलफल कोशी खारेजको माग गर्दै संघर्षरत प्रदेश नंं १ पुनः नामङ्कन संयुक्त संघर्ष समितिले चार दिन अगाडि चैत १८ गते बसेको बैठकको निर्णय अनुसार भएको हो ।

माओवादी निकटका धेरै मानिस उक्त आन्दोलनमा सहयोग गर्ने, सहभागी हुने र ऐक्यबद्धता जनाउन पहिलोदेखि नै लागिरहेका थिए । घोषित आन्दोलनले ३६ दिन पार गर्दै गर्दा माओवादी केन्द्र पार्टीले नै आन्दोलनमा ऐक्यबद्धता जनाइसकेको छ ।

आन्दोलनको माग र मुद्दालाई स्थापित गराउन भन्दै प्रदेशका मुख्यमन्त्री, सभामुख र संसदीय दलका नेताहरुलाई २०७९ चैत २५ गते १० दिने चेतावनीपत्र दिने संघर्ष समितिको भनाइ छ । उक्त अभियानमा आफ्नो पार्टी पनि सहभागी हुने माओवादी निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्साहाङ मेन्याङ्बो बताउँछन् । तर, कतिपयले भने माओवादीको यो दोहोरो चरित्र भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

339028384_696571945558708_5835793291852669852_n

माओवादी केन्द्रले गत चैत १२ गते राप्रपासहित, कांग्रेस र एमालेसँग मिलेर  कोशी नामलाई शिरोधार्य गर्न अपिल गरेको थियो । उक्त विज्ञप्तिमा ‘सार्वभौम सम्पन्न प्रदेशसभाको भारी बहुमतबाट भएको प्रदेशको नामकरणको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशवासीमा अनुरोध गर्दछौं’ उल्लेख छ । विज्ञप्तिमा माओवादीका प्रदेश सचिव गणेश उप्रेती सुशीलसहित नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाका प्रदेश अध्यक्षहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यही विज्ञप्तिमा नामकरणको विषयमा भइरहेको आन्दोलनले सामाजिक सद्भावमा खलल पुग्न सक्ने पनि उल्लेख गरिएको छ ।

‘नामकरणका विषयलाई लिएर भइरहेका सामाजिक सद्भावमा खलल पुग्ने तथा असंवैधानिक गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण ढंगबाट आफ्नो मत र मुद्दालाई स्थापित गर्न तथा सम्वाद, वार्ता र छलफलको माध्ययमबाट समस्याको समाधान गर्न सरकारलगायत सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

339468335_234683382398854_3287162534142219229_n

माओवादी केन्द्रले प्रदेश पार्टीको तर्फबाट अध्यक्ष हर्कबहादुर नेम्वाङ र उनै सचिव गणेश उप्रेतीले जारी गरेको विज्ञप्तिमा भने पुनः नामकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाइएको छ । ‘नामङ्कन सच्याउन हाल पहिचान पक्षधर विभिन्न संघ, संस्थाहरुले चलाइरहेको शान्तिपूर्ण आन्दोलनप्रति हाम्रो पार्टीको समर्थन र ऐक्यवद्धता रहेको छ,’ पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (सुशील)ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस्तै माओवादी केन्द्रले पहिचान पक्षधरहरुको प्रतिकूल अंकगणित रहेको अवस्थामा प्रदेशसभाबाट पारित गरी प्रदेशको नामकरण गरिएको सन्दर्भमा प्रदेश पार्टी र संसदीय दलले गम्भीरतापूर्वक छलफल र समीक्षा गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, कर्मचारी प्रशासन आदिमा प्रदेशको स्वायत्तता कायम रहने संघीयता र सोही सार अनुसारको रूप अर्थात् बहुपहिचान नामका निम्ति संघर्ष गर्न हाम्रो पार्टी प्रतिबद्ध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पहिचान पक्षधर संघ, संस्था पार्टी र समुदायहरुले पनि यस विषयमा गम्भीर समीक्षा गर्दै भावी आन्दोलनलाई सफल वनाउन साझा एजेन्डा र साझा विषयहरुमा सहकार्यसहित नयाँ सीमाङ्कन र नयाँ पहिचानलाई स्थापित गर्ने सम्भावनामा पनि बहस जरुरी रहेको स्पष्ट पार्न चाहन्छौं ।’

माओवादी केन्द्रले चैत १८ गते जारी गरेको यो विज्ञप्ति र चार दलसँग चैत १२ गते जारी गरेको संयुक्त विज्ञप्तिमा दुई फरक दृष्टिकोण देखिन्छ । त्यही विज्ञप्तिलाई देखाएर कतिपय माओवादीका आलोचकहरुले द्वैध चरित्रको रुपमा अर्थ्याएका छन् ।

‘माओवादी प्रदेश कमिटीको धारणा भन्दै घरी यस्तो आउँछ, घरी कस्तो आउँछ ! के माओवादीले जनतालाई ढाँटिरहने हो ? होइन भने किन पहिचानको मुद्दा बोकेर छाड्यो,’ पहिचानको आन्दोलनमा सहभागी केदार ताम्लिङ भन्छन्, ‘हो भने झुक्याउन किन फेरि अर्को विज्ञप्ति ? कि आत्मालोचना गरेर प्रदेश सांसदलाई नाम फिर्ता गर्न लगाउनु प¥यो । होइन भने हामीले पहिचानको मुद्दा छाडेको भन्न सक्नुप¥यो ।’

339082363_2875966352545951_8011613434503526000_n

उता, माओवादी निकट बुद्धिजीवी तथा विश्लेषक भवानी बराल भने कोशीको पक्षमा मतदान गरेर माओवादीले महाभूल गरेको र अहिले सच्याएको रुपमा लिन्छन् । ‘माओवादीले कोशी नामकरणको पक्षमा मतदान गर्नु महाभूल हो । तर महाभूललाई सच्याउँदै आन्दोलनलाई समर्थन गर्नु सकारात्मक छ । यस्तै भूलहरुबाट शिक्षा लिनु जायज हो,’ बरालको तर्क छ ।

कोशी नामकरणले कुनै मानव सभ्यताको प्रतिनिधित्व नहुने भन्दै यो नामकरण बदरभागी रहेको समेत उनी बताउँछन् । ‘कोशी नामकरणले कुनै मानव सभ्यताको प्रतिनिधित्व गर्दैन । कोशी असभ्यताको प्रतिक हो । कोशी, अमूर्त (रूप, आकार नभएको), अलौकिक (यस लोकमा नहुने), निराकार (आकार, रूप नभएको), दन्ते कथामा आधारित तुक्का हो । यसर्थ कोशीको नामकरणले कुनै मानव सभ्यताको सम्बोधन नगर्ने भएकोले बदरभागी छ,’ बराल भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप