आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गृहमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच शान्ति प्रक्रियादेखि अमेरिकी लगानीबारे छलफल

बुधबार, २२ चैत २०७९, १३ : ३५
बुधबार, २२ चैत २०७९

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्ध विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताए। सङ्क्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धी विधेयक संसद्मा पेस भैसकेको समेत उनले बताएका थिए ।

राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कूटनीतिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने प्रतिबद्धता जनाएका थिए । राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदूत थम्पसनले चासो लिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने बताए। राजदूत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताए।

कोभिडपछि अमेरिकी सहयोग संस्था 'पिसकोर'को काम प्रभावित भएकाले 'पिसकोर' कार्यकर्ताको भिसा सहजताका लागि राजदूत थम्पसनले आग्रह गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताए । नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदूतले चासो राखेका थिए। श्रेष्ठले त्यसमा पूर्ण सुरक्षा हुने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप