बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मन्त्रीबारे देउवाको प्रस्तावले शेखर र गगनबीच मतभेद

बुधबार, २२ चैत २०७९, १८ : ३७
बुधबार, २२ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसमा थप चार मन्त्री छान्न सकस देखिएको छ । कांग्रेसभित्र गुटगत विवादका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् ।

देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । गुरुङ र लिम्बुलाई मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखे ।

शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको शपथ पनि रोकिदिएका थिए ।

प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ  । शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपाउने अडान लिएपछि कांग्रेस सभापति देउवा पनि दबाबमा छन् । आफ्नो पक्षबाट नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी छ ।

यो बिचमा सभापति देउवाले नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग संवाद गरेका छन् । पहिले दुई मन्त्रीको प्रस्ताव गरेका देउवाले शेखर–गगन पक्षलाई एक राज्यमन्त्री समेत थप्ने तयारी गरेका छन् ।

दुई मन्त्री र एक राज्यमन्त्री दिने देउवाको प्रस्तावमा नेता शेखर कोइराला सकारात्मक छन् । महामन्त्री थापा भने देउवाको उक्त प्रस्ताव स्वीकार गर्ने पक्षमा छैनन् । थापाले भने, ‘पछिल्लो छलफलमा पनि सभापतिले दुई मन्त्री मात्र दिने कुरा गर्नु भयो । दुई वटामा मान्दै मान्दैनौं ।’

महामन्त्री थापाले नेता कोइरालालाई आफू पक्षीय सांसदको बैठक बोलाएर रणनीति तय गर्नुपर्ने भनेका थिए । महामन्त्री थापासँगको संवादमा सांसदहरुको बैठक बोलाउन कोइराला राजी थिए । तर बुधबार नेता कोइरालाले इच्छा नदेखाएपछि बैठक बस्न सकेन । आफ्नो पक्षबाट मन्त्री छनोटको मापदण्ड बनाउनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

उपसभापति धनराज गुरुङ र मोरङ जिल्ला सभापति डिकबबहादुर लिम्बुलाई मन्त्री बनाउने मुडमा रहेका नेता कोइराला मापदण्ड बनाउने पक्षमा छैन । शेखर–गगन समूहभित्र कसलाई मन्त्री बनाउने भन्ने विषयमा नेता कोइराला र महामन्त्री गगन थापाबिच विवाद छ ।

महामन्त्री थापा सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार र नेता प्रदीप पौडेलमध्ये एकलाई मन्त्री बनाउन चाहन्छन् । महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएको अवस्था छ । संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गरेका थापा पार्टीभित्र मन्त्री छनोटमा ‘पावरसेयरिङ’ खोजिरहेका छन् ।

यसका लागि महामन्त्री थापाले सभापति देउवाका साथै नेता कोइरालासँग पनि संघर्ष गर्नु परेको छ । सभापति देउवाले तीन मन्त्री नदिने प्रस्ट संकेत दिएपछि दुई मन्त्री र एक राज्यमन्त्री छनोट गर्न शेखर–गगन समूहलाई सकस परेको छ ।

उपसभापति गुरुङ र जिल्ला सभापति लिम्बुलाई दुई मन्त्रीको कोटामा पठाउँदा राज्यमन्त्री कसलाई बनाउने भन्नेमा समस्या देखिने भएको छ । किनकि सो पक्षबाट सरकारमा सहभागी हुने तेस्रो व्यक्तिका रुपमा सहमहामन्त्रीद्वय पाण्डे र परियारको नाम चर्चामा छ । दुवै जना पार्टीको पदाधिकारी भएका कारण राज्यमन्त्रीको भूमिकामा बस्न नरुचाएको बताइन्छ । यी दुवैले राज्यमन्त्री बन्ने प्रस्तावलाई ठाडै अस्वीकार गरेको स्रोत बताउँछ ।

महामन्त्री थापा डेलिभेरी गर्न सक्ने र जनतामा आशा जगाउन सक्नेहरूलाई सरकारमा पठाउनुपर्ने अडानमा छन् । कांग्रेसको कार्यसम्पादन समितिले पनि पार्टीमा योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री चयन गर्ने निर्णय गरेको थियो ।

यसअघि कांग्रेसबाट कर्णाली प्रदेशका खड्का, बागमती प्रदेशका महत, मधेस प्रदेशका रिजाल र कोशी प्रदेशकी गुरूङ सरकारमा गएका छन् । सभापति देउवा पक्षले सरकारमा पठाउने थप २ मा सुदूरपश्चिमका साउद र बागमती प्रदेशका बस्नेतको नाम चर्चामा छ । साउद परराष्ट्र, बस्नेत भने स्वास्थ्य वा खेलकुदमध्ये एक मन्त्री हुने सम्भावना छ । बस्नेतको नाम गत शुक्रबार पनि युवा तथा खेलकुद मन्त्रीमा प्रधानमन्त्रीले टिपोट गरेर केरमेट गरिएको थियो ।

शेखर–गगन समूहबाट गण्डकी प्रदेशका गुरुङ, परियार, सुदूरपश्चिम प्रदेशका पाण्डे, कोशी प्रदेशका लिम्बुमध्येबाट मन्त्री बन्ने सम्भावना छ । सभापति देउवा र शेखर–गगन समूहको प्राथमिकतामा लुम्बिनी प्रदेश देखिएको छैन । देउवा पक्षमा सुरुमा सहमहामन्त्री किशोरसिंह राठौरको नाम चर्चामा थियो । तर सभापति देउवाले अन्तिममा बागमती प्रदेशका बस्नेतप्रति झुकाव देखाए ।

शेखर–गगन समूहमा लुम्बिनी प्रदेशबाट मन्त्रीका मुख्य दाबेदार चन्द्र भण्डारी बिरामी भएकाले सञ्जय गौतमले लबिङ तीव्र पारेको अवस्था छ । लुम्बिनी प्रदेशलाई मन्त्रीविहीन बनाउन खोजिएको भन्दै आफूले नेताको ध्यानाकर्षण गराइरहेको गौतमले बताए ।

लुम्बिनी प्रदेशबाट मन्त्री बन्न नेता शशांक कोइराला निकट दीपक गिरीको लबिङ जारी छ । बुधबार बिहान सभापति देउवाले उपसभापति एवम् उपप्रधानमन्त्री खड्का, महामन्त्री थापा, अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता महतलगायत नेताहरूसँग परामर्श गरेका थिए ।

उनीहरुबीच तनहुँ–१ चितवन–२ को उपनिर्वाचन र मन्त्री छनोटबारे छलफल भएको थियो । धुम्बाराहीको छलफलमा सहभागी एक नेताका अनुसार मन्त्रीबारे सामान्य छलफल भएपनि ठोस निर्णय भएन । कांग्रेस र जसपाले मन्त्रीका नाम नदिँदा र जनमतका मन्त्रीले राजीनामा दिँदा मन्त्रिपरिषद् अपूर्ण छ ।

यता एक–दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दाबी छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने, ‘अहिले सरकारले करिबकरिब पूर्णता पाएको छ । आज–भोलि नै शतप्रतिशत पूर्णता प्राप्त गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप