बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी डलर साट्ने बहानामा शृङ्खलाबद्ध लुटपाट

बुधबार, २२ चैत २०७९, २१ : ०४
बुधबार, २२ चैत २०७९

काठमाडौँ । काठमाडौँ उपत्यका र बाहिरका विभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ साटिदिने भन्दै प्रलोभनमा पारी शृङ्खलाबद्ध रूपमा ठगी र लुटपाट गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भई ललितपुर चापागाउँ बस्ने ३२ वर्षीय सुरेश कोइराला, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ नाम्गेल बस्ने २४ वर्षीय विकास तामाङ र २८ वर्षीय साजन तामाङ, धनकुटा घर भई हाल काठमाडौँ बस्ने ३२ वर्षीय दीपक दमाई र सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ नयाँबस्ती बस्ने ३५ वर्षीय प्रेम बहादुर तामाङ रहेका छन् ।        

उनीहरूले पीडितलाई पटक–पटक फोन मार्फत सम्पर्क गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिने प्रलोभनमा पार्ने गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् । 

रेग्मीका अनुसार यो गिरोहले १ र ५० दरका  अमेरिकी डलर पीडित पक्षलाई प्रत्यक्ष देखाई विश्वासमा पार्ने र सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका साँगुरा गल्ली, पातलो मानव बस्ती र जङ्गल आसपासको स्थानमा बोलाउने गर्थे । 

त्यहाँ पीडित पक्षलाई झुक्क्याएर पारी डलर भनेर ५, १० , २० रुपैयाँ र नेपाली नोट साइजको पेपरकाटी रुमालमा पोको पारेर पीडितसँग भएको लाखौँ रुपैयाँ लुटपाट गरेर फरार हुने गरेका थिए ।

पक्राउ परेको गिरोहले हालसम्म उपत्यका र उपत्यका बाहिर समेत गरी विभिन्न ६ वटा यस्तै प्रकृतिका ठगी घटनामा संलग्न रहेको खुलेको प्रहरीको भनाई छ । उनीहरूलाई नियन्त्रणमा लिई ठगी मुद्दामा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप