आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पीएन क्याम्पसविरुद्ध परेको रिट फिर्ता, स्ववियु निर्वाचनको वातावरण बन्दै

शुक्रबार, २४ चैत २०७९, २१ : ०१
शुक्रबार, २४ चैत २०७९

पोखरा । संयुक्त विद्यार्थी संगठनहरुको निर्देशन र समझदारी अनुसार पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने माहोल बनेको छ । लामो समयदेखि क्याम्पसमा जारी तालाबन्दी र अदालतमा पुगेको रिट निवेदन फिर्ता भएसँगै चुनावी माहोल गर्माएको हो । 

संयुक्त विद्यार्थी संगठनले निर्वाचन बिथोलिने गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला तोडेर प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको थियो । विज्ञप्तिमा ३० चैतमा निर्वाचन सम्पन्न गर्न भनिएको छ ।

योसँगै क्याम्पस प्रशासन र विद्यार्थी समूहबिच सहमति भएको हो । फागुन १९ गते सम्पूर्ण प्रक्रिया पूरा गरी स्ववियु निर्वाचन कार्यालय पृथ्वीनारायण क्याम्पसमा दर्ता भएको विद्यार्थी समूहको नाम प्रकाशन नभएपछि असन्तुष्ट समूह उच्च अदालत पोखरा पुगेको थियो ।

देशकै सबैभन्दा धेरै मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची थियो । तर, निर्वाचन कार्यालयमा लागेको ताला नखुल्दा उम्मेदवारी दर्ता हुन सकेन । त्यसपछि उच्च अदालत पोखराले फागुन २८ गते तत्कालका लागि निर्वाचन गतिविधि अगाडि नबढाउन आदेश दिएपछि निर्वाचन गतिविधि शून्यजस्तै भएको थियो । 

फागुन २६ गते स्वतन्त्र विद्यार्थी समूहले आफूहरूले राखेको नाम नपाएको भन्दै उच्च अदालत पोखरामा रिट दायर ग¥यो । अदालतले अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरूलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी गराउन र सोसम्मका लागि निर्वाचनसम्बन्धी काम, कारबाही अगाडि नबढाउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तर, अन्तिम फैसला अगाबै क्याम्पस प्रशासन, विद्यार्थी समूह, असन्तुष्ट पक्षबिच सहमति जुटेको हो ।

सहमतिपछि क्याम्पस प्रशासनले विज्ञप्ति जारी गरेको छ, ‘क्याम्पसमा विवादास्पद अवस्थामा रहेको स्ववियुको निर्वाचन गर्न सहमति भएको भएको छ । दिप्सन गुरुङको संयोजकत्वमा रहेको समूहको नाम प्रकाशन सूचीमा समावेश गर्न लिखित सहमति भएको छ ।’

विद्यार्थीहरुले माग गरेअनुरुपकै नाम ‘स्वतन्त्र विद्यार्थी समूह’ प्रदान गर्न निर्वाचन समिति र क्याम्पस प्रशासन तयार भएको हो । समूहले विमति राख्दै आएको विषयमा आफ्नो त्रृटि सच्याइ माग बमोजिम नाम दर्ता गर्न तयार भएपछि रिट निवेदन फिर्ता लिएको समूहकी विप्लवी न्यौपानेले बताइन् ।

‘निवेदनको माग दाबीको प्रयोजन समापन भएकाले हामीले दायर गरेको रिट निवेदन मुलुकी देवानी कार्यविधि संहिता १९६ बमोजिम फिर्ता गरी पाउँ,’ शुक्रबार असन्तुष्ट समूहले रिट फिर्ताको निवेदन दिँदै भनेको छ ।

क्याम्पसमा स्ववियु निर्वाचनका लागि बनेको समितिले राजीनामा दिएको छ । निर्वाचन अधिकृत विकास केसी नेतृत्वको टोलीले नै राजीनामा दिए पनि स्वीकृत भएको छैन । केसीले विद्यार्थी समूह बिच सहमति भए निर्वाचन हुने बताए । ‘अझै केही असन्तुष्ट पक्ष बाँकी छ । तालाबन्दी छ । ती समूह पनि सहमतिमा आए निर्वाचन हुन्छ,’ केसीले भने । 

समितिले स्ववियु निर्वाचन कार्यतालिका प्रकाशन गरी काम गरिरहेका बेला क्याम्पसको शैक्षिक प्रशासनबाट मतदाता विद्यार्थीको विवरण बाहिर गएको भन्दै विद्यार्थी आन्दोलित छन् । विद्यार्थीले निर्वाचन समितिलाई तथ्यांक लिक गरेको आरोप लगाउँदै आए पनि माथिको  निर्देशनले सबै विद्यार्थी एकजुट भएका हुन् ।  

अनेरास्ववियूका विद्यार्थी नेता सन्तोष पोखरेलले वातावरण मिल्दै गएकाले निर्वाचन हुने बताए । ‘निर्वाचन गराउन सबै जिम्मेवार नै हुनुपर्छ । अदालतसम्म पुगेको रिट फिर्ता भएको छ । केही साथीहरुले तालाबन्दी लगाउनुभएको छ । त्यो केही दिनमै खुल्छ र निर्वाचन हुन्छ,’ पोखरेलले भने ।

pan

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप