शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपेन्द्र यादवको प्रश्न: ‘सङ्घीयताका लागि बाराका जनता लडिरहँदा सिके राउतहरू कहाँ थिए ?’

शनिबार, २५ चैत २०७९, ११ : ३२
शनिबार, २५ चैत २०७९

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा–२ का जनता आफूलाई जिताउन आतुर रहेको प्रतिक्रिया दिएका छन् । 

आफ्नो लागि मोरङ होस् वा सुनसरी वा सप्तरी अथवा बारा नै किन नहोस् सबै ठाउँ एउटै जस्तो लागेको बताउँदै उनले विरङ्गी घुसपैठिया जस्ता अलाङ्कारिक शब्द प्रयोग गर्नु भनेको हारको मानसिकता रहेको बताए । 

जसले सङ्घीयताको मूल्य मान्यता र उद्देश्यलाई बुझ्न सकेको छैन, त्यस्ता व्यक्तिबाट यस्ता अभिव्यक्तिहरू आइरहेको बताउँदै उनले बारा–२ को जनताले स्वीकार गरी सकेका छन् भने अरू कुनै व्यक्तिले भन्दैमा आफूलाई केही फरक नपर्ने बताए । उनले भने जसले यस्ता कुरा उठाउँछन्, त्यस्ता व्यक्तिसँग मेरो प्रश्न छ, सङ्घीयताका लागि बाराका जनता लडी रहँदा सिके राउतहरू त्यति बेला कहाँ थिए ? सङ्घीयताका लागि लडी रहँदा मधेसी युवामाथि पर्सामा गोली चलाई रहँदा ती व्यक्तिहरू त्यति बेला कहाँ थिए ?

रातोपाटीसँग छोटो कुरा गर्दै उनले बाराको जनताले बोलाएको कारणले नै आफू यस क्षेत्रमा आएको बताए । संघीय, लोकतान्त्रिक गणतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ, त्यसमा बाराका जनताहरू चिन्तित रहेको आफूले पाएको बताए ।  

आफूले आजसम्म कुनै मतदाता अर्थात जनतालाई झुटो आश्वासन नदिएको दाबी पनि उनले गरे । उनले भने, ‘म पटक पटक चुनाव लडेको हुँ, जितेको पनि छु, हारेको पनि छु तर जनतालाई आजसम्म कुनै कुरोमा झुटो आश्वासन दिएको छैन, मैले जति बोलेको छु ती सबै काम गरेको छु । आजसम्म कसैले भन्न सक्दैन कि जनतालाई फलानो कुराको आश्वासन दिएर पूरा गरेको छैन ।’ 

उनले आफूले सप्तरीका जनतासँग गरेको  सबै वाचा पुरेको र त्यो थाहा पाउनका लागि सप्तरी नै जानुपर्ने बताए । 

शिक्षामा भएको सुधारका कारण मदेसका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नका लागि अन्य प्रदेश वा सहर जानु पर्ने बाध्यताको अन्त्य गराएको दाबी गर्दै अध्यक्ष यादवले केही दिनभित्र ती विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा अध्ययन अध्यापन हुने दाबी गरे । 

यादवले बारा जस्तो ऐतिहासिक ठाउँलाई पर्यटक हबको रूपमा विकास गर्दै कृषि र स्वास्थ्य शिक्षामा जोड दिनुपर्ने बताए । बारामा आफूले कृषिमा सबभन्दा धेरै सम्भावना देखेको बताउँदै उनले यहाँका जनतालाई पर्यटन र कृषिमा रोजगारी दिलाउने गरी विकास गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप