बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

तीन महिनामा ९० हजार विदेशी पर्यटक लुम्बिनीमा, सबैभन्दा धेरै भारतबाट

सोमबार, २७ चैत २०७९, ०९ : ३२
सोमबार, २७ चैत २०७९

बुटवल ।  कोरोना र विश्व अर्थतन्त्रमा परेको असरले सुनसान जस्तै बनेको लुम्बिनीमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ। कोरोनाभन्दा पहिलोको जस्तै चहलपहल अझै नभए पनि पछिल्लो समय पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायीहरूले राहत महसुस गरेका छन् । 

लुम्बिनी विकास कोषले पछिल्लो तीन महिनामा ९० हजार विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेको जनाएको छ । जनवरी सुरु भएयता ६१ हजार १२२ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। भारतबाहेक तेस्रो मुलुकबाट मात्र २८ हजार ८०६ जनाले लुम्बिनी भ्रमण गरेका छन्। यो सङ्ख्या अघिल्लो वर्षभरका कूल विदेशी पर्यटकभन्दा ५ हजारले बढी रहेको विकास कोषले जनाएको छ ।

Mayadevi temple

सन् २०२२ मा २३ हजार ९४२ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए। जनवरी महिनामा तेस्रो मुलुकबाट ३ हजार ९८७ पर्यटक लुम्बिनी आएका थिए । फेब्रुअरीमा १२ हजार ५२२ र मार्चमा १२ हजार २९७ विदेशी पर्यटक आएको लुम्बिनी विकास कोषका सूचना अधिकारी डाक्टर हरिध्वज राईले रातोपाटीलाई बताए ।

पछिल्लो समय पर्यटक वृद्धि भएपछि पर्यटन व्यवसायीहरू उत्साहित भएको ट्राभल एजेन्सी संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले बताए । उनले भने, ‘लुम्बिनीमा पर्यटक वृद्धिले केही राहत महसुस गरे पनि त्यतिले उत्साहित हुनुपर्ने अवस्था भने छैन ।’ कोरोनापछि लुम्बिनीमा विश्वभरका बौद्ध धर्मावलम्बीहरू आउने अपेक्षा गरिए पनि विश्वभर देखिएको आर्थिक मन्दी, रुस–युक्रेन युद्धले पनि तेस्रो मुलुकका पर्यटकहरू पहिलेकै सङ्ख्यामा आउन सकेका छैनन् ।

8

सन् २०१९ को फेब्रुअरीमा २५ हजार र मार्चमा २९ हजार राहदानी वाहक विदेशी पर्यटक लुम्बिनी आएको लुम्बिनी विकास कोषले तथ्याङ्क रहेको छ । भने २०२० को फेब्रुअरीमा २१ हजार विदेशी पर्यटक लुम्बिनी आएकोका थिए। २०२१ को वर्षभर विदेशी पर्यटक आगमन ११ सय मात्र रहेको थियो । तर अहिले पर्यटकहरूको सङ्ख्यामा बिस्तारै सुधार हुँदै आएको छ । 

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले नेपाली र भारतीयका साथै तेस्रो मुलुकका पर्यटकहरू धेरै आउँदा यहाँको लागि लाभदायक हुने बताउँछन् । तर अझै  पनि उनीहरू लामो समय नबस्ने ,खुलेर खर्च नगर्ने जस्ता कारणले गर्दा स्थानीयहरूले लाभ लिन नसकेको बताए । लुम्बिनीमा फेब्रुअरी, मार्च, अक्टोबर र नोभेम्बर महिना पर्यटक आगमनको राम्रो सिजन मानिन्छ। 

4

होटेल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको लुम्बिनीमा चलायमान भएको तर ’स्टे’ निकै कम रहेको गुनासो गरे । उनले यहाँ आएका पर्यटकहरू अलि लामो समय बसेर कोरोबार पनि वृद्धि भए मात्र उत्साह हुने नत्र सङ्ख्या मात्रै वृद्धि भएर आफूहरूलाई लाभ नहुने बताए। उनले कोरोनाकालमा बन्द रहेका होटलहरु पर्यटकहरूको सामान्य वृद्धिले होटेल चल्ने अवस्थामा रहको तर लाभ लिन पुरानै लयमा लुम्बिनीका पर्यटकहरू आउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप