सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जनता आवास : घरबारविहीनलाई स्थानीय सरकारको छत

सोमबार, २७ चैत २०७९, ११ : ३०
सोमबार, २७ चैत २०७९

दाङ । हरियो जस्तापाताले छाएको छानो, पहेँलो रङको भित्ता भएको चिटिक्कको घर । केही ढोका खुल्लै छन्, केही बन्द । ६ घरको एउटै आँगन छ । टाढाबाट हेर्दा एउटै परिवारको घर जस्तो देखिन्छ । तिनै घरमा बस्छन् बंगलाचुली गाउँपालिका वडा नं. ३ कुईजा सुनिता बिक र डुुब्रयका दुर्गा बहादुर नेपालीको परिवार । स्थानीय सरकारले घरबारविहीन परिवारहरूको सुरक्षित बसोबास लागि बंगलाचुली गाउँपालिका वडा नं. ४ तापाचोकमा जनता आवास परियोजना निर्माण गरेको थियो । उनीहरू ०७७ देखि त्यही परियोजनाले निर्माण गरेको घरमा बसोबास गर्दै आइरहेका छन् । 

घर नभएका विक र नेपालीको परिवारको दुःख जनता आवासले कार्यक्रमले केही कम गरेको छ । तर बासको व्यवस्था भए पनि उनीहरूको गाँसको दुःख भने जस्ताको त्यस्तै छ । सुनिता विकले भनिन्, ‘बासको धेरै दुःख थियो । कहिले छिमेकीको गोठमा बस्यौँ, कहिले भाँडामा बस्यौँ । बालबच्चा बोक्दै कहिले कता, कहिले कता जानुपर्‍यो । जहिलेदेखि सरकारले बास दिएदेखि आनन्द छ ।’ 

सुनिता र उनको परिवारको अवस्था निकै दयनीय छ । बिहान–साँझको दुुई छाक जुटाउन धौ–धौ छ । उनीहरूका लागि आफ्नै घरमा बस्ने रहर सपना जस्तै हो । सुनिताले भनिन, ‘बाँच्नै मुस्किल छ । घर बनाउन कहाँ सकिन्थ्यो र ? सरकारले बस्ने यही बास दिएको छ । यसैमा दुःख सुख चलिरहेको छ ।’ 

जनता आवासभित्रको खुसी र पीडा उनको मात्रै होइन सुनिताका परिवारसँगै बसोबास गरिरहेका छिमेकी दुर्गाबहादुर नेपालीको पनि उस्तै छ । उनको ६ जनाको परिवार आवासमा बसोबास गर्छन् । नेपालीको परिवारको गाँस गाउँघरकै ज्याला मजदुरीले टारेको छ । 

337525758_1344553006104695_395736424443935997_n

उनले भने–‘बासको दुःख सरकारले टारेको छ, गाँसको दुःख ज्याला मजदुरीले टारेका छौँ ।’ घरबारविहीन परिवारका लागि सरकारले आवासको व्यवस्थापन नगरेको भए बालबच्चा कहाँ राख्ने भन्ने बाध्यताले छोड्ने थिएन । सरकारले बस्ने आवासको निर्माण गरी बासको दुःख टारिदिएको उनको भनाई छ । 

सरकारले खानेपानी, बिजुली बत्तीसहितको आवास सेवा पुर्‍याउँदै आइरहेका उनीहरूले गरिब परिवारका लागि सरकार भएको महसुस भएको सुनाए । 

बिक र नेपाली परिवार मात्रै होइन बंगलाचुुली गाउँपालिकाले घरबारविहीन परिवारका लागि गाउँपालिकाका ४ वटा वडामा ३० वटा घर निर्माण गरेको छ । गाउँपालिकाले वडा नंं १ र २, र ८ मा ६–६ वटा र वडा नंं ५ मा १२ वटा आवास निर्माण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप