शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुँजीगत खर्च ३० प्रतिशतमा खुम्चिँदा अर्थतन्त्रमा समस्या आयो – अध्यक्ष मल्ल

सोमबार, २७ चैत २०७९, १४ : २७
सोमबार, २७ चैत २०७९

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पुँजीगत खर्च ३० प्रतिशत खुम्चिँदा तरलता अभाव हुन पुगेको जानकारी दिएका छन् । सोमबार चेम्बरको ७२औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै अध्यक्ष मल्लले यस्तो बताएका हुन् ।

चालू आर्थिक वर्षको ९ महिना बित्न लाग्दा समेत सरकारले ३० प्रतिशत हाराहारी पुँजीगत खर्च गर्न सकेको छ । यहीकारण, यतिबेला बजारमा तरलताको अभाव भइरहेको छ । यद्यपि, पछिल्लो समय तरलता अभावको समस्या समाधान उन्मुख देखिन्छ ।

‘मुलुकको विद्यमान आर्थिक स्थिति राम्रो देखिएको छैन । सरकार र निजी क्षेत्र तथा अन्य निकायबीच प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले गति लिन सकेको छैन,’ अध्यक्ष मल्लले भने, ‘राजश्व संकलन ४५ प्रतिशत मात्रै लक्ष्य भेटिएको छ । राजश्वले चालू खर्च धान्न नसकिनु अवस्था आउनु चिन्ताजनक अवस्था हो ।’

आर्थिक गतिविधि बढाएर राजश्व संकलन वृद्धि गर्नु आजको आवश्यकता भएको समेत अध्यक्ष मल्लले बताए । ‘सीमा नाकामा हुने अवैध व्यापारलाई निरुत्साहित गरेर राजश्वको दायरामा ल्याउन प्रभावकारीरुपमा अघि बढ्नुपर्छ,’ मल्लले थपे, ‘अर्थतन्त्रमा समस्या आउनुको मुख्य कारण पुँजीगत खर्चमा देखिएको चिन्ताजनक अवस्था हो ।’

यसैगरी, निर्यातको तुलनामा उच्च मात्रामा आयात हुँदा व्यापारघाटा ९ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी छ । यसलाई सन्तुलनमा ल्याउनका निम्ति स्वदेशमा रहेका कच्चा पदार्थको प्रयोग बढाउन आवश्यक रहेको मल्लले औंल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप