सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

युक्रेन युद्ध : कसले लिक गर्‍यो अमेरिकाको ‘टप सेक्रेट’ दस्तावेज ?

सोमबार, २७ चैत २०७९, २२ : १३
सोमबार, २७ चैत २०७९

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयका दर्जनौँ गोप्य कागजातहरू यतिबेला इन्टरनेटमा खुला रूपमा सेयर भइरहेका छन्। यसमा नक्सा, चार्ट र फोटोहरू समावेश छन्। यी कागजातहरूमा यस्ता धेरै गोप्य जानकारीहरू छन्, जसमा टप सेक्रेटको रातो चिन्ह छ। 

यी सबै कागजातहरू युक्रेनमा जारी युद्धसँग सम्बन्धित छन्। जसमा रुस र युक्रेनमा मारिएका सैनिकको जानकारी, दुवै देशका कमजोरी र शक्तिका बारेमा विस्तृत जानकारी रहेको छ । युक्रेनले ग्रीष्मको सुरुमा रुसी सेना विरुद्ध ठुलो आक्रमणको तयारी गरिरहेको छ। यसअघि यी सबै गोप्य सूचना सार्वजनिक हुनु निकै संवेदनशील मानिएको । प्रश्न छ– प्रिन्ट गरिएका पृष्ठहरू र चित्रहरूसहितको दस्तावेज इन्टरनेटमा कसरी आयो ?

युक्रेन र रुसबीचको १४ महिना लामो युद्धमा सार्वजनिक भएको यो सबैभन्दा ठुलो गोप्य अमेरिकी सूचना हो । यीमध्ये केही कागजातहरू डेढ महिना मात्रै पुराना छन्। यसको परिणाम दूरगामी हुनेछ। अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै यी कागजातहरू वास्तविक रहेको बताइएको छ।

बीबीसीले यीमध्ये २० भन्दा बढी कागजातहरू अध्ययन गरेको छ। यसमा युक्रेनलाई दिइएको हतियार र तालिमको विवरण समावेश छ। युक्रेनले गर्मी महिनामा रुसविरुद्धको युद्धमा दर्जनौँ नयाँ रेजिमेन्टहरू तैनाथ गर्ने तयारी गरिरहेको बेला यो विस्तृत जानकारी सार्वजनिक भएको हो ।

युक्रेनी सेनाको नयाँ ब्रिगेडहरू कहिलेसम्म तयार हुनेछन् भनेर यी पत्रहरूमा भनिएको छ। उनीहरूका लागि कतिवटा ट्याङ्क, बख्तरबन्द सवारी साधन र तोपखाना उपलब्ध गराइएको छ । त्यसमा यो पनि भनिएको छ कि हतियारको उपलब्धता तालिम र तयारीमा निर्भर हुनेछ। गर्मीको समयमा पूर्वी युक्रेनमा युक्रेनी सैन्य अपरेसनहरूको मूल्याङ्कन गर्ने नक्साको बारेमा पनि जानकारी छ । 

युक्रेनको हवाई प्रतिरक्षा प्रणाली गत हिउँदमा कठिन परिक्षणबाट गुज्रिएको बताइएको छ । दस्तावेज युक्रेनको हवाई प्रतिरक्षा क्षमता निकै कम रहेको पनि उल्लेख छ । यसको कारण सर्वसाधारण नागरिकको सुरक्षासँगै महत्वपूर्ण पूर्वाधारको संरक्षणका लागि पनि युक्रेनले स्रोतसाधन प्रयोग गर्नुपरेको बताइएको छ । हवाई रक्षा प्रणालीको मुख्य उद्देश्य रूसी हवाई आक्रमणबाट बच्न रहेको छ। निश्चय नै सीमित स्रोतसाधनका कारण यो उद्देश्यमा बाधा पुगेको छ ।

कागजातमा युक्रेनको सैन्य अवस्थाको बारेमा मात्रै नभई अमेरिकाका अन्य सहयोगी राष्ट्रहरूको बारेमा पनि जानकारी छ । गोप्य जानकारीका अनुसार इजरायल र दक्षिण कोरियाजस्ता सहयोगी राष्ट्रहरूले पनि युक्रेनको बारेमा चर्को बहस गरिरहेका छन्।  केही कागजातहरू अति गोप्य चिन्ह लगाइएको छ। बाँकीलाई अमेरिकाका धेरै नजिकका खुफिया सहयोगीहरूसँग मात्र साझेदारी गर्न निर्देशन दिइएको छ।

कागजातमा नयाँ के छ ?

यसमा युद्धमा मारिएका वा घाइते भएका सैनिकहरूको संख्या छ। अमेरिकी अनुमान अनुसार युद्धमा अहिलेसम्म १८९,५०० देखि २२३,००० रुसी सैनिक मारिएका वा घाइते भएका छन्। सूचनाको अभाव, परिचालन सुरक्षा र जानाजानी गलत सूचना दिने प्रयासका कारण अमेरिकी रक्षा मन्त्रालयलाई यी तथ्याङ्कहरूमा पूर्ण विश्वास छैन । रुस र युक्रेन दुवैले भ्रामक जानकारी दिन सक्ने उनीहरुको धारणा छ । छेडछाड गरिएका कागजातहरूमा युक्रेनमा मृत्यु हुनेको संख्या धेरै रहेको देखाउने प्रयास गरिएको छ। 

ओपन सोर्स इन्टेलिजेन्स ग्रुप बेलिङक्याटका एरिक टेलरले यो गोप्य सूचना मेसेजिङ प्लेटफर्म डिस्कर्डबाट टेलिग्राममा कसरी पुग्यो भन्ने बताए । टेलरका अनुसार अहिलेसम्म यी कागजातहरूको मूल स्रोत थाहा छैन । तर यी कागजातहरू मार्चदेखि इन्टरनेटमा गेमिङ उत्साहीहरू बीचमा सेयर हुन थालेको थियो । डिस्कोर्ड माइनक्राफ्ट गेमरहरूको लागि सबैभन्दा लोकप्रिय मेसेजिङ प्लेटफर्म हो। 

कागजपत्र चुहाउने कुरा नयाँ भने होइन । बेलायतमा २०१९ को आम चुनाव अघि, अमेरिका(बेलायत व्यापार सम्बन्धका केही कागजातहरू साझा गरिएको थियो। त्यसबेला मेसेजिङ साइट रेडिटले कागजातहरू रुसबाट सेयर गरिएको बताएको थियो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप