सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

टीआरसी विधेयक सर्वस्वीकार्य बनाउन ‘कन्टेन्ट र प्रक्रिया’मा छलफल गर्न प्रमुख दलका नेताहरू सहमत

मङ्गलबार, २८ चैत २०७९, १९ : ००
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । बालुवाटारस्थित सभामुख निवासमा बसेको छलफलमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन दलहरूबीच सहमति भएको छ । यसका लागि विषय र प्रक्रियामा पुनः छलफल गर्न दलहरु तयार भएका छन् । 

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले  टीआरसी विधेयकको कन्टेन्ट र प्रक्रियाबारे छलफल गर्न सकिने तर यसलाई छिटै टुङ्ग्याउनुपर्ने धारणा राखेका थिए । त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपूर्ण र सवै पक्षले स्वीकार्य हुने गरी अघि बढ्नुपर्ने भन्दै आफूहरू टीआरसी विधेयकलाई चाडै टुङ्ग्याउने पक्षमै रहेको बताएका थिए । ‘न्यायपूर्ण र सबै पक्षबाट स्वीकार्य हुने गरी यो विधेयक टुङ्ग्याऊ, म तयार छु तर पीडितले न्याय पाउनुपर्छ’, अध्यक्ष ओलीको भनाइ थियो ।

बैठकमा विधेयकको सम्बन्धमा कसरी अगाडी जाने र कुन प्रक्रियाबाट विधेयकलाई पारित गर्ने भन्ने विषयमा छलफल भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । साथै संयुक्त समिति र अन्य समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन पनि नेताहरू सहमत भएको एमाले प्रमुख सचेतक समेत रहेका पदम गिरीले बताए । ‘ठोस सहमति भैसकेको छैन, छलफल सकारात्मक भएको छ । प्रक्रिया र कन्टेन्टमा छलफल गर्न सकिन्छ भन्नेमा नेताहरू पुग्नुभएको छ’, गिरीले रातोपाटीसँग भने ।

उनले भने – ‘हाम्रो संयुक्त समितिहरू जुन छन् त्यो समितिमा कुन–कुन राजनीतिक दलको तर्फबाट कति–कति प्रतिनिधित्व हुने ? र त्यो समितिलाई छिटोभन्दा छिटो पूर्णता दिने भन्ने विषयमै छलफल थियो । त्यस विषयमा सघन ढंगले छलफल भयो । तथापि आज सबै कुरा टुङ्गिएको छैन । यसका निम्ति वैशाख १ गते दिनको १ बजे सिंहदरबारभित्रै बस्ने गरी आजको बसाइ टुङ्गिएको छ । विषयगत समितिहरूका सन्दर्भमा पनि त्यही दिनको बैठकमा छलफल गर्ने र विषयगत समितिहरू पनि टुङ्गो लगाउने गरी नेताहरूको बीचमा कुराकानी भयो । र टिआरसीको सम्बन्धमा पनि कसरी जाने ? कन्टेन्टमा के–के गर्नुपर्ने हो ? प्रक्रियाको सन्दर्भमा कुन प्रक्रियाबाट टिआरसीको विधेयकलाई टुंगोमा पुर्‍याउने भन्ने विषयमा पनि त्यही दिनमा बसेर छलफल गर्ने गरी आज सहमति भएको छ ।’

कांग्रेस सांसद ईश्वरी न्यौपानेले टीआरसी, संवैधानिक परिषद् र संसदीय समितिबारे छलफल भए पनि ठोस निष्कर्षमा नपुगेको बताइन् । उनले भनिन्, ‘सहमतिबाटै टुंग्याउने भन्ने किसिमको कुराहरु भइराखेको छ । तर आज समय अपुग भयो । त्यसले गर्दा अर्को दिन बस्ने गरेर नेताहरु निस्किनुभएको छ ।’

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए । यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने तथा महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्व महान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा रहेका थिए । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप