मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

लघुवित्त पीडितहरूले भने, ‘सरकार मुक्ति देऊ कि मृत्यु देऊ’

वैशाख ५ गतेबाट आमरण अनसन बस्ने घोषणा
मङ्गलबार, २८ चैत २०७९, १६ : ५०
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरूले सरकारसँग न्यायको माग गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । 

उनीहरूले ‘सरकार कि हामीहरूलाई मुक्ति देऊ कि मृत्यु देऊ’ भन्दै थप संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । कार्यक्रममा लघुवित्त संस्था विरुद्धको संघर्ष समिति ले अध्यक्ष मणिराम ज्ञवालीको नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको छ । त्यस्तै, देशव्यापीरुपमा संघर्षलाई थप आक्रामक गर्ने उद्घोष गरेका छन् । 

चैत २१ देखि माइतीघर मण्डलामा अनसनरत पीडितहरूले लघुवित्तले आफूहरूलाई मर्नु न बाच्नुको अवस्थामा पुर्‍आएको बताए । उनीहरूले आफूहरू घरमा बस्ने नसक्ने अवस्था सिर्जना भएको बताएका छन् । समितिका अध्यक्ष ज्ञवालीले पीडितहरूको जीवन मर्नु न बाँच्नुको अवस्थामा पुर्‍याउने लघुवित्तले कयौँको ज्यान लिइसकेको र सयौँलाई विस्थापित गरिसकेको जानकारी दिए । ज्ञवालीले न्यायको निम्ति आफूहरूले निष्कर्षसहित अन्तिम लडाइँको लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको बताए ।

राष्ट्रिय किसान संघ सञ्जाल नेता अगस्त अधिकारीले लघुवित्तीय संस्थाहरूले राष्ट्र बैंकको निर्देशिका र प्रचलित ऐन कानुन मिचेर आमजनतालाई गर्दै आएको ज्यानमारा ज्यादतीबाट न्याय पाउन आफ्नो किसान संगठनले सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । 

संघर्ष समितिका केन्द्रीय सचिव रमेश तामाङले देशका झण्डै ५८ लाख महिलाहरू लघुवित्तहरूको ऋणी भएको र अधिकांशलाई ब्याजको स्याज लगाएर गैरकानुनी तिरकाले यातना दिएको आरोप लगाए । उनले अहिले गरिब दुःखीको पार्टी माओवादी र त्यसका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकार मुख दर्शक भएर बस्नु गलत भएको बताउँदै भने, “प्रचण्डज्यू तपाईं साँच्चिकै गरिब जनताको नेता हो भने अब यही हो मौका ऋण मिनाहा गरेर न्याय दिनुस् ।” 

त्यसैगरी समितिकी केन्द्रीय कोषाध्यक्ष शिखा रेस्मीले आफूहरूको आन्दोलनलाई साथ दिनुको सट्टा पीडितहरू पीडामा घ्यू थप्ने कार्य गरेको र त्यस्तो नगर्न चेतावनी दिइन् । दाङकी पार्वती भुसाल, बर्दियाकी सविता बिक, चितवनकी माया महत, नवलपरासीकी मायादेवी थारुलगायतले लघुवित्तहरूको ज्यादतीविरुद्ध आत्मदाहसम्म गर्न तयार भएको बताए ।

यस्ता छन् थप संघर्षका कार्यक्रम:

१. चैत्र २९ गतेदेखि वैशाख २ गतेसम्म वडा र स्थानीय तहहरूमा व्यापक विरोध प्रदर्शनका साथै ज्यादतीका विरुद्ध प्रतिरोध गर्ने । 

२. २०८० साल वैशाख ३ र ४ गते राष्ट्रिय लोकमार्गहरुमा सडक बिस्तारमा सुत्ने । 

३. वैशाख ५ गते अध्यक्ष मणिराम ज्ञवालीको नेतृत्वमा आमरण अनसन बस्ने । 

४. पीडितलाई स्वतःस्फूर्त रूपमा आमरण अनसन बस्ने लागि आह्वान गर्ने । 

५. माग पूरा नभए वडा, स्थानीय तह हुँदै केन्द्रसम्म आन्दोलन सशक्त बनाउने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप