शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग: एकै खेलमा १० गोल

मङ्गलबार, २८ चैत २०७९, १७ : ५१
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सर्वाधिक १० गोल भएको दिन मंगलवार साविक विजेता मच्छिन्द्र फुटबल क्लबले खुमलटारमाथि ७–३ को फराकिलो जित निकालेको छ । 

ललितपुरस्थित च्यासल मैदानमा  मंगलवार सम्पन्न लिगको आठौँ चरण अन्तर्गतको खेलमा मच्छिन्द्रलाई जित दिलाउन ओलावाले अफिजले पाँच तथा विमल घर्तीमगर र विजय भुजेलले समान एक÷एक गोल गरे । खुमलटारका लिग मेसौको ओलोमोउले दुई तथा स्टेफन विनोङले एक गोल फर्काउँदै अन्तर घटाएका थिए ।

सुरुवात प्रतिस्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रले अग्रता भने २५ औँ मिनेटमा मात्र निकालेको थियो । अफिज ओलावालेको गोलमार्फत मच्छिन्द्रले सुरुवाती अग्रता लिएको थियो । अफिजले खुमलटारका रक्षकले गुमाएको बललाई नियन्त्रणमा लिँदै जाली चुमाउन सफल भएका थिए । त्यसको चार मिनेट पछि अफिजले नै टोलीको अग्रता दोब्बर बनाए । अफिजले भुटानी रोनाल्डो चेन्चो ग्याल्सेनको पासलाई खुमटारका रक्षक र गोलकिपरलाई बिट गर्दै सुन्दर गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा विमलले मच्छिन्द्रको अग्रता ३–० को बनाए ।  पुजन उपरकोटीले हेडमार्फत उपलब्ध गराएको बललाई विमलले गोलमा परिणत गरेका थिए । चेन्चोको प्रहार खुमलटारका गोलकिपर देव लिम्बूले बचाउ गर्दा आएको रिबान्ड बललाई पुजनले हेडमार्फत विमललाई पास उपलब्ध गराएका थिए । एकतर्फी जस्तो देखिएको खेलको ५५ औँ मिनेटमा ओलावालेले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दा मछिन्द्र ४–० ले अगाडी बढ्यो । विमलको प्रहारमा खुमलटारका रक्षक पदम भट्टराईले ह्याण्ड गरेपछि मछिन्द्रले पेनाल्टीको अवसर पाएको थियो । जसमा ओलावालेले सहजै गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् ।

६१ औँ मिनेटमा खुमलटारका ओलोमोउले गोल गर्दा खेल ४–१ को स्थितमा पुगेको थियो । ओलोमोउले विनोङको क्रसलाई नियन्त्रणमा लिँदै मच्छिन्द्रका रक्षकलाई बिट गर्दै पेनाल्टी बक्स भित्रबाट जाली चुमाउन सफल भएका थिए । ६२ औँ  मिनेटमा ओलावालेले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौँ गोल गर्दा ६७ औँ मिनेटमा आन्द्रेस नियाको क्रसलाई नियन्त्रणमा लिँदै ओलावालले व्यक्तिगत पाँचौँ तथा टोलीका लागि छैटौँ गोल गरे । ७६ औँ मिनेटमा मच्छिन्द्रका रक्षकले रेजिन सुब्बालाई फाउल गरेपछि खुमलटारले पेनाल्टीको अवसर पाएको थियो । विनोङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ६–२ को स्थितमा ल्याए । ८१ औँ मिनेटमा ओलोमोउले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ६–३ को स्थितीमा आयो । ८६ औँ मिनेटमा विजय भुजेलले गोल गर्दै मच्छिन्द्रको फराकिलो जित निश्चित गरेका हुन् । यस जितसँगै मच्छिन्द्रले आठ खेलमा १२ अंक जोड्दा पराजय व्यहोरेको खुमलटारको समान खेलबाट ७ अंक भएको छ ।

लिग अन्तर्गत मंगलवार नै एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लवलाई ३–१ गोल अन्तरले पराति ग¥यो । खेलको १६ औँ मिनेटमा कप्तान जिलेस्पीजंग कार्कीको गोलबाट आर्मीले अग्रता लिएको थियो । सेसेहाङ आङदेम्बेको पसमा जिलेस्पीले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलको ५४ औँ मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमाफर्त गोल गर्दै आर्मीले अग्रता दोब्बर बनायो । जावलाखेलका रक्षकले जगजित श्रेष्ठलाई पेनाल्टी बक्स भित्र फाउल गरेपछि आर्मीले पेनाल्टीको अवसर पाएको थियो । जसमा नवयुगले सहजै गोल गर्न सफल भएका हुन् । ६२ औँ मिनेटमा जावलाखेलका सुनिल खड्काले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि खेल सकिन १० मिनेट बाँकी रहँदा सुदिल राईले गोल गर्दै आर्मीको जित निश्चित गरे । बाँकी समयमा जावलाखेल खेलमा फर्किन निकै प्रयास गरेपनि सफल हुन सकेन र अंक सुम्पिन बाध्य बन्यो । यस नतिजासँगै आर्मीले ८ खेलबाट तेस्रो जित निकाल्न सफल भएको छ । आर्मीले १२ अंक जोडेको छ । पराजित जावलाखेलको समान खेलबाट १४ अंक छ ।

लिगमा मंगलबार तीन खेल हुनेछन् । पहिलो खेल एपिएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लवबीच च्यासल मैदानमा हुनेछ भने दोस्रो खेल न्युरोड टिम (एनआरटी) र संकटाबीच दशरथ रंगशालामा हुनेछ । यस्तै तेस्रो खेल साँझ मनाङ मस्र्याङ्दी फुटबल क्लब र सातदोबाटो युथ क्लवबीच दशरथ रंगशलामा नै हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप