मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ठगी

विदेशमा मृत्यु भएकाले पाउने बीमाको पैसामा पनि यसरी ठगिन्छन् नेपाली

वैदेशिक रोजगार बोर्डको सचिवालयबाटै चुहिन्छ गोप्य सूचना
मङ्गलबार, २८ चैत २०७९, २० : ३७
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । वैदेशिक रोजगारीमा हुँदा मृत्यु भएमा त्यसको विवरण गोप्य राखिन्छ । जो कोहीले मृतकको विवरण पाउँदैनन् । यतिसम्म कि मृतकको आफन्त तथा नातेदार बाहेक कसैलाई पनि शव कहिले नेपाल ल्याइँदैछ भन्ने जानकारी समेत दिइँदैन् । तर, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट भने त्यो सूचना बाहिर पुग्ने गरेको देखियो । 

त्यसका लागि मेनपावर व्यवसायीदेखि गाउँ गाउँमा रहेका उनीहरूका दलालसम्म परिचालन हुने गरेका छन् । त्यस्तै बोर्डकै कर्मचारी समेत संलग्न देखिएका छन् । हालैका एक घटनाले ठगहरू पैसा भनेपछि कतिसम्म गिर्दा रहेछन् भन्ने प्रष्ट देखाएको छ । 

अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूले पाउने बीमामा समेत ठगी गर्ने गिरोहका ८ जनालाई पक्राउ गरेको थियो । त्यसपछि बोर्डले समेत बीमामा समेत ठगी हुने गरेको रहस्य पाएको थियो । 

baidesik rojar board

त्यसका लागि विभागकै कम्प्युटर अपरेटर पशुपति अधिकारीको संलग्नता देखिएको थियो । उनले कम्प्युटरमा पहुँच पुर्‍याएर विदेशबाट कसको शव आउँदैछ ? कुन ठाउँको हो ? भन्ने लगायतका सूचना एजेन्टलाई दिने गरेका रहेछन् । 

उनको फोनबाट त्यस्तो खालको सूचना ट्रान्सफर भएको पाइएको हो । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले यसरी बीमाको रकममा पनि ठगी भएको आफूले पहिलो पटक सुनेको बताए । 

पक्राउ परेका अधिकारी यसअघि वैदेशिक रोजगार विभागमा थिए । विभागबाट करिब एक महिना अगाडि मात्रै बोर्डमा सरुवा भएका थिए । छोटो समयमा नै उनले दलालहरूसँग सम्बन्ध स्थापित नगरेको भई विगतको सम्बन्धको आधारमा यस्तो गरेको देखिएको उनको भनाई छ । 

विभागमा पनि केही समय निलम्बनमा परेका थिए । उनले दलालहरूलाई शव आउन लागेको बारे सूचना दिएपछि दलालहरूले मृतकका आफन्तलाई पछ्याउन पुगे । 

उनीहरूले बोर्ड र बीमाबाट केही पनि नपाउने तर, आफूले केही आर्थिक सहयोग मिलाईदिने भन्दै प्रलोभनमा पार्ने देखिएको कार्यकारी निर्देशक उप्रेतीको भनाई छ । 

कसरी पाउँछन् पीडितले राहत ? 

अहिले ७५३ वटै पालिकामा रोजगार संयोजक छन् । ती सबै रोजगार संयोजकमार्फत नै बोर्डबाट प्रदान गरिने सेवा सुविधा त्यस पालिकाभित्रका लाभग्राहीले पाउँछन् । 

बोर्डले मूलतः राहत, उद्धार र कल्याणसँग सम्बन्धित कार्य गर्दै आएको उनको भनाई छ । 

बोर्डबाट पाउने राहतमा कोही पनि बिचौलियाको प्रवेश नहोस् तथा कोही पनि नठगिउन् भनेर सचेतना मूलक कार्यक्रम गर्दै आएको उनको भनाई छ । त्यति गर्दा पनि ठगिने तथा बिचौलियाहरूको प्रवेश हुने क्रम रोकिएको छैन । 

दलालहरूले मेनपावर व्यवसायी मार्फत पीडित नेपाल आउन लागेको सूचना पाउँछन् । त्यही आधारमा दलालहरू पीडितलाई लुट्ने योजनामा अघि बढ्ने गरेको देखिन्छ । 

‘शव नेपाल आउन लागेको सूचना गाउँ गाउँमा रहेका मेनपावरको बिचौलियाहरूले पाउँछन् । अनि उनीहरूले सबै डकुमेन्ट बनाइदिने भन्दै पछ्याउँछन्,’ उनले भने । 

कुन मान्छे आयो वा कसको शव ल्याइयो भन्ने कुरा त जुन मेनपावर कम्पनीबाट गएको हुन्, त्यो मेनपावरलाई स्वाभाविक रूपमा थाहा हुन्छ । त्यहीबाट उनीले एजेन्टहरूलाई जानकारी गराउँछन् । र एजेन्टहरूले पीडितलाई पछ्याउँछन् । 

‘पछ्याउने क्रममा दलालहरूले यो तपाईंले पाउने रकम त होइन, हामी बोर्डमा पनि भनिदिन्छौँ । अनि बीमा पनि भनिदिन्छौँ भन्ने रहेछन् ।’ उप्रेतीले भने । भन्छन् । 

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको खण्डमा बोर्डबाट ७ लाख रुपैयाँ राहत स्वरूप पाइन्छ । त्यस्तै १४ लाख रुपैयाँ बीमा बापत पाउने गरेका छन् । तर, बिचौलियाहरूले एक पैसा पनि नपाउने र आफूले केही राहत उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पार्ने गरेका छन् । त्यही आधारमा दलालहरूले नै सबै डोकुमेन्ट बनाउने र बोर्ड तथा बीमा पेस गर्ने गरेको उनको भनाई छ ।

यो समस्या स्थानीय तहमार्फत आउनेको हकमा भन्दा पनि जसले केही जानेको छैन, जो स्थानीय तहमार्फत बुझेर आउँदैनन् उनीहरूमा देखिने गरेको छ । 

एक जना दलालले सबै कुरा मिलाएपछि मृतकको परिवारको हातमा जम्मा २ लाख रुपैयाँ मात्र थमाइदिएका थिए । बाँकी ५ लाख रुपैयाँ उनी आफैले खाएको पाइएको थियो । 

त्यस्तै सुर्खेतमा एक जना महिलाका श्रीमानको मृत्यु भयो । त्यसबापत बोर्डबाट पाउने ७ लाख रुपैयाँमध्ये मृतककी श्रीमतीलाई ३ लाख रुपैयाँ दिए । र बाँकी ४ लाख रुपैयाँ आफूले खाइदिएछन् । 

अहिले पक्राउ परेकाहरू मध्ये १ जनाले बोर्ड र बीमाबाट पैसा दिलाइदिने भनेर सबै कागजात आफूसँग राखेका रहेछन् ।

प्रहरीमा हप्ता दिन अगाडि एउटा उजुरी परेको थियो । त्यही आधारमा प्रहरीले अनुसन्धान गर्दै गर्दा बोर्डका नासु अधिकारीसँग कनेक्सन रहेको पत्ता लागेको थियो ।  

त्यही पक्राउ पर्ने गिरोहमा रहेका एक जनाले एक जना मृतककी श्रीमतीबाट सबै डकुमेन्ट लिएका थिए । 

‘श्रीमानको मृत्यु भएको थियो । श्रीमती पनि वैदेशिक रोजगारीमा नै थिइन् । कामकाजको लागि मात्र आएकी रहेछिन् । उनले दलाललाई दिएको सबै डकुमेन्ट मागेकी रहेछिन् । त्यही दिन दलाल समातिएका थिए । दलाल समातिएपछि तैँले सूचना दिएर पक्राउ परेको धम्की आइरहेको भन्दै बोर्डमा पुग्नुभएको थियो । हामीले प्रहरीकोमा जानु भनेर पठाएका छौँ,’ उप्रेतीले भने ।  

बोर्डले यस्तो खालको ठगी नहोस् भनेर विभिन्न खालका डकुमेन्टहरू माग्ने गरेको छ । शव ल्याउने हकमा भने जोसुकैले पनि निवेदन दिन सक्नेछन् । त्यसका लागि छिमेकी वा कोही नजिककाले पनि निवेदन दिन सक्छन् । 

बोर्डबाट पाउने राहतको हकमा भने नाता प्रमाणीकरणको प्रतिलिपि लगायतका अन्य कागजात पेस गर्नुपर्ने उनको भनाई छ । 

‘हाम्रोमा शव ल्याउने भनेर निवेदन दिन्छन् । त्यो निवेदनको नाता प्रमाणीकरण खोजिँदैन । त्यो छिमेकीले नि दिन सक्छ । अरू कोहीले पनि दिन सक्छन् । तर, बोर्डबाट पाउने सुविधाको हकमा भने नाता प्रमाणित लगायतका विभिन्न डकुमेन्ट पुरा नभई पाउँदैनन् ।’ उनले भने  । 

बोर्डबाट पाउने सुविधा मात्र नभएर बिचौलियाहरूले बीमावापत पाउने रकम पनि ठगी गर्ने गरेका छन् । दलालहरूले मात्र नभएर बीमा कम्पनीले समेत अनेकन् बहाना बनाउने गरेको पाइएको छ । 

१४ लाख रुपैयाँ पाउँदा बीमा कम्पनीवालाले १ लाख रुपैयाँको बीमा गर्नुपर्छ, भनेर बाध्य पार्ने गरेका छन् । उनीहरूले रिइन्सुरेन्स नगरेको खण्डमा उक्त पैसा नपाउने बताउँदै पीडितहरूलाई बाध्य पार्ने गरेको पाइएको हो । यस विषयमा बीमा कम्पनीवालाहरूसँग समेत छलफल गरिने कार्यकारी निर्देशक उप्रेतीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप