आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न माग

बुधबार, २९ चैत २०७९, १६ : ३१
बुधबार, २९ चैत २०७९

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेता कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सो मुद्रणका लागि आवश्यक बजेट विनियोजन गर्न नसक्ने हो भने सरकारले ‘सुरक्षण मुद्रणसम्बन्धि विधेयक २०७७’ लाई अगाडि बढाउनुको कुनै अर्थ नरहने पनि स्पष्ट पारे । 

बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले अर्बाैको बजेट मुलुकबाहिर जान नदिन र मुलुकको राष्ट्रिय हित हुने गरी नेपाली रुपैयाँको समेत मुद्रण देश भित्रै गर्न सो मुद्रण आवश्यक रहेको बताए ।  ‘यो विधेयक हरेक हिसावले मुलुकका लागि आवश्यक छ । सुरक्षण मुद्रणका लागि वर्षेनी अर्बौ रुपैयाँ विदेश जाने गरेको छ । यतिमात्र होइन । स्वेदशमा सुरक्षण मुद्रण नहुँदाखेरी नक्कली मुद्रणको प्रयोग गरेर, ती स्टिकरहरु प्रयोग भएर राजस्व अपचलनमा पनि यसले एउटा गम्भिर समस्या सृजना गरेको छ’ नेता कार्कीले भने, ‘नेपालको सुरक्षण मुद्रण सुरु भयो भने यसले एकातर्फ अर्बौ रुपैयाँको बचत मुलुकमा हुन पाउँछ । जसले मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडि बढाउन सकिन्छ । अब म मन्त्रीजीलाई आग्रह गर्न चाहन्छु, यदि यो विधेयक पारित गरेर मुद्रा सुरक्षणसम्बन्धि काम कारबाही नेपालमा गराउने हो भने यसलाई यथेष्ट बजेटको व्यवस्था गर्न जरुरी छ ।’

उनले अहिलेको बजेट यसलाई अगाडि बढाउने स्पष्ट खाकासाथ अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘देशलाई आर्थिक हिसाव र सुरक्षासम्बन्धि जुन प्रिन्टिङको आवश्यक्ता छ । त्यसको अभावबाट मुक्त गर्नका निम्ति पनि यो विधेयक जरुरी छ । यसमा पर्याप्त बजेट ल्याउने भने यो विधेयक अगाडि बढाए हुन्छ । होइन् यसमा पर्याप्त बजेट राख्न नसक्ने हो भने यो विधेयकलाई अगाडि बढाएर मुलुकलाई फाईदा छैन भन्ने कुरा म राख्न चाहन्छु ।’ नेता कार्कीले नेपालको पासपोर्ट र मुद्रा समेत छपाई हुने गरी सरकारले सुरक्षण मुद्रणको व्यवस्था गर्नुपर्ने पनि स्मरण गराए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप