आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कोर टिम को हो भन्ने नै थाहा भएन : सभापति लामिछाने

बुधबार, २९ चैत २०७९, २० : ४४
बुधबार, २९ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बर्खास्त गरिएका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले कोर टिम भनेर को हो भन्ने खुलाएपछि मात्र पार्टीले त्यसबारे छानबिन गर्ने बताएका छन् । 

पार्टीको अनुशासन समितिमा ‘आफूलाई फसाए अरूको पनि नाम लिने’ भनेर धम्की दिए पनि कसले पैसा मागेको भनेर नखुलाएका कारण त्यसबारे पार्टीभित्र थप छानबिन आवश्यक नरहेको जिकिर गरेका हुन् ।

‘केन्द्रीय सदस्यका बीचमा उहाँले हैन हैन मात्र भन्नु भयो । मेरो आवाज नै होइन मात्र भन्नुभयो,’ उनले भने, ‘तर फेरि समितिमा डुबाइदिन्छु भन्नु भयो । ‘कोर टिम नै मैले बुझेको छैन । पार्टी स्थापनाको कोर टिम भनेको हो कि ? मेरो सचिवालय भनेको हो कि ? पार्टीको तर्फबाट केलाई कोर टिम भन्ने ? कसलाई डुबाउनु हुन्छ त्यसपछि छानबिन गरौँला ।’

तर, अब सांसद श्रेष्ठ एक लेभलको बार्गेनिङ प्वाइन्टमा आएकाले उनले जो सुकैको नाम लिन सक्ने पनि सभापति लामिछानेले आशङ्का व्यक्त गरे । उनले श्रेष्ठले कसैको नाम लिने बित्तिकै कारबाही गर्न नमिल्ने तर तथ्यसहित आए कारबाही हुने प्रष्ट पारे । प्रमाणबिना कसैको नाम लिए त्यो चरित्र हत्या हुने र त्यसबारे आफ्नै प्रकारले जवाफ दिइने उनले चेतावनी पनि दिए ।

‘मिडियालाई त सभापतिको नाम लियो भने कतिलाई गज्जब हुन्छ भन्ने लागेको होला,’ उनले कटाक्षसमेत गर्न भ्याए । श्रेष्ठलाई पटकपटक कोर टिम भनेको को भनेर भन्नुहोस् भन्दा नभनेका हुनाले अधिकारप्राप्त निकायलाई नै यसको छानबिनको जिम्मा दिइएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप