शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
ग्राउण्ड जिरो बारा–२ : जनमत र जसपाबीच तीव्र प्रतिस्पर्धा, उपेन्द्रलाई चर्को दबाब
उपनिर्वाचन

ग्राउण्ड जिरो बारा–२ : जनमत र जसपाबीच तीव्र प्रतिस्पर्धा, उपेन्द्रलाई चर्को दबाब

एमाले र रास्वपा दुई पार्टीको घेरा चिर्ने दाउमा
बिहीबार, ३० चैत २०७९

बारा (कलैया) । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बुधबार बिहान मुख्यमन्त्री सरोजकुमार यादवको निवासमा भेटिए । उनलाई कार्यकर्ताले घेरिरहेका थिए ।

उपेन्द्रको अनुहारमा त्यति चमक देखिएन । नेतामा नीति र दलको राजनीतिक जग हेरेरै भए पनि आफूलाई बारा–२ का मतदाताले जिताउने दाबी उपेन्द्रले गरे । तर, स्थानीय नेताहरु नै अन्य दलका उम्मेदवार बनेका कारण उनी थप दबाबमा थिए ।

जसपा अध्यक्ष यादवले भने, ‘मेरो घर सप्तरी भएर के भयो त ? म नेता भएपछि मेरो सबै जिल्ला हो । जहाँबाट पनि मैले चुनाव लड्न पाउँछु । मधेसका उत्पीडित जनजाति, दलित, मुस्लिम र आदिवासीले अहिले पाइरहेका हक र अधिकारमा मेरो ठूलो योगदान छ ।’

यादवको भनाइ देउताल गाउँपालिकास्थित पिप्राढीमा मेल खाँदैन । झन्डै ३ हजार पाँच सय मतदाता रहेको यो गाउँपालिकामा अधिकांश मतदाता सीके राउत नेतृत्वको जनमत पार्टीलाई मत दिने तयारीमा देखिए । दलितको बाहुल्यता रहेको पिप्राढीवासी अहिले बारा बाहिरका व्यक्तिलाई मतदान गर्ने पक्षमा देखिएनन् ।

upendra yadhav

कक्षा ८ सम्म पढेका तर, राजनीतिबारे चासो राख्ने रमेश सहनीका परिवार यसपटक जनमत पार्टीकै नेता एवं पूर्व सांसद शिवचन्द्र प्रसाद कुशवाहलाई मत दिने तयारीमा छन् ।

तपाईको मत कसलाई भन्ने प्रश्नमा सहनी भन्छन्, ‘हामी जिल्ला बाहिरका मानिसलाई भोट दिंदैनौं । सीके राउतको पार्टी जनमतको विचारधारा राम्रो लाग्यो, त्यही पार्टीका उम्मेदवारलाई मतदान गर्छौं ।’

shiva chandra kushawaha

बारा–२ बाट धेरै नेताले चुनाव जितेर गए पनि पिप्राढीको विकासमा कसैले ध्यान नदिएको आक्रोस सहनीले पोखे । भने, ‘नेता भोट मागेपछि फर्केर आउँदैनन्, चिल्लो र कालो सिसा भएको गाडीमा आउँछन्, हात हल्लाएर भोट मागेर हिँड्छन्, अब पुरानो जमाना गयो, आश्वासनमात्रै बाँडेर हिँड्ने नेतालाई भोट दिंदैनौं ।’

ramesh sahani (1)

देउताल गाउँपालिकामा पढाईको स्तर, स्वास्थ्यमा पहुँच, सरकारी रोजगारी र आर्थिक पहुँच ज्यादै कमजोर देखियो । उनीहरु बस्ने घर, उनीहरुका लगाईखुवाईले पनि पिप्राढी धेरै पछि परेको प्रस्ट देखिन्थ्यो ।

‘मेरो सानैमा विवाह भयो, दुई बच्चा छन्, परिवारमा अरुको पनि हेरचाह गर्नुपर्छ, तर, मेरो आम्दानीको स्रोत भनेको खेतीपाती नै हो, ‘मैले नेतासँग माग्ने होइन नि, नेताले विकास त देखिने गरी गर्नुप-यो, हैन र ?’ सहनीले आफ्नो समस्या सुनाउँदै प्रश्न समेत गरे।

पिप्राढीमै शिक्षण पेसामा लामो समय काम गरेका नवलकिशोर सिंह बुधबार मात्रै जनमत पार्टीमा प्रवेश गरे । पार्टी प्रवेश गर्नुअघि नै रातोपाटी टीमले सिंहसँग केही भलाकुसरी ग¥यो । अस्थायी शिक्षकका रुपमा झन्डै १७ वर्ष काम गरेका सिंहले राउतकै पार्टी किन रोजे ?

उत्तरमा सिंहले भने, ‘यहाँ धेरै नेता आए हजुर, विकासको नारा लाउन छाड्दैनन् तर विकास कसैले गर्दैनन् । मैले यस क्षेत्रका उम्मेदवार शिवचन्द्रको मुख हेरेर जनमत छिरेको होइन, सीकेको परिवर्तनकारी बोली र व्यवहार हेरेर हो ।’

20230412_133302

सिंहले नवआगन्तुकलाई आफूले कहिल्यै मतदान नगर्ने प्रस्ट पारे । बारा–२ को दक्षिणतर्फ रहेको पिप्राढीमा राजपुत, मलाहा, यादव बढी छन् । यीसँगै मुसलमान, दलित, आदिवासी र तेली छन् । खेतीमै निर्भर यहाँका सर्वसाधारणले सिँचाइ नहुँदा धेरै दुःख खेप्दै आएको गुनासो गरे ।

सीकेले बारा–२ मा बाँडेका नारा पनि अन्य दलभन्दा पृथक छन् । उनले एउटा प्रादेशिक अस्पताल बनाउने, प्राविधिक कलेज स्थापना गर्ने र सिँचाइको व्यवस्था गर्ने आश्वासन मतदातासामु गरेका छन् ।

सुवर्णमा नेताका आशामात्रै

दक्षिण भेगमा पर्ने सुवर्ण गाउँपालिकामा चुनावी रौनक खोजी गर्दैजाँदा दुई जना यस्ता पात्र भेटिए, जसलाई राजनीतिभन्दा पनि आफू र परिवार बाँच्ने जोहो कसरी गर्ने भन्ने चिन्ता देखियो । उक्त गाउँपालिकाको वडा नम्बर ६, मुसाहानाका शेख आजमले चुनावमा नेताहरु भोट माग्न गाउँ आए पनि नारामात्रै बाँड्ने गरेको बताए ।

आजम भन्छन्, ‘म भोट खसाल्छु तर, आफ्नो विवेक प्रयोग गर्छु । जसले विकास गर्छ, हाम्रो गुनासो सम्बोधन गर्ने गरी काम गर्न सक्छ, उसैलाई भोट दिन्छु । यहाँ प्रतिस्पर्धा भनेको जनमत र जसपाबीच हुन्छ ।’

sekh aajam

आजमले घर अगाडिको बाटो वर्तमान उपराष्ट्रपति रामसदाय यादवको पहलमा बनेकोे प्रसंग कोट्याए । जसपाका नेताहरुले गाउँमा केही मात्रामा विकास गरे पनि उपेन्द्र यादव जिल्लामा नवआगन्तुक भएको भन्दै आजमले भने, ‘भोट त जनमतलाई नै दिने हो । हाम्रो गाउँमा समस्या प¥यो भने उपेन्द्र यादवलाई खोज्न कहाँ जाने ? बरु कुशवाह यस क्षेत्रका स्थायी नेता हुन्, उनैलाई भोट दिने र समस्या पनि उनैबाट समाधान गर्ने हो ।’

सुवर्णमा मात्रै चार हजारभन्दा बढी मतदाता छन् ।

नेताका पछाडि कुदेर केही हुँदैन

सुवर्ण गाउँपालिका–८ का सगिर खानका पाँच जना बच्चा छन् । ती पाँचमध्ये एक जना कवहीमा, २ जना वेलहटोलमा, २ जना औरैयामा पढ्छन् । बच्चाको पढाई ज्यालादारीमै काम गरेर पु¥याएको उनको भनाइ छ ।

खानले रातोपाटीसँग भने, ‘नेताको पछाडि दौडने फुर्सद छैन । नेताबाट म केही लिन्नँ र केही दिन्नँ पनि । बरु खेती किसानी नै गरेर बस्छु ।’

IMG-20230412-WA0011

गढीमाइमा एमालेका पौडेल र जनमतका कुशवाहबीच प्रतिस्पर्धा

बारा–२ को दक्षिण भेगमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको नाम खासै कसैले लिएनन् । तर, पूर्वमा रहेको गढीमाई नगरपालिका–४ दहियारको बजार क्षेत्रमा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र ग्रामीण क्षेत्रमा जनमत पार्टीका उम्मेदवार कुशवाहमध्ये एकलाई मतदान गर्ने पक्षमा त्यहाँका मतदाता देखिए ।

पोखरीको डिलमा गहत कुट्दै गरेको अवस्थामा भेटिए, महादेव साह । ७२ वर्षीय साहले बारा–२ मा ३६ जनाले उम्मेदवारी दिए पनि ठूला दलहरुबीच नै प्रतिस्पर्धा हुने बताए ।

mahadev saha

साहले भने, ‘नेता यादव पनि राम्रै हुन्, रमेश खरेल पनि राम्रै हुन् तर उहाँहरु अरु जिल्लाको हो । हामीले त हाम्रै स्थानीयलाई जितायौं भने हाम्रो समस्या समाधानका लागि दबाब दिन सक्छौं । यसतर्फ यहाँका मतदाता सचेत छन् ।’

20230412_153209

नयाँ नेताको कामको मूल्यांकन नै गर्न नपाई जिताएर पठाउने पक्षमा दहियारवासी नरहेको साहले प्रस्ट पारे । विकासका नाममा केही नगर्ने र आश्वासनमात्रै दिइरहने नेतालाई सर्वसाधारणले बुझिसकेको उनी बताउँछन् ।

दहियारमा धेरै जसो युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएको पाइयो । एमालेका पौडेल र जनमतका कुशवाहमध्ये एक जनालाई यहाँका सर्वसाधारणले मत दिने योजना बनाएको साहले बताए । उनले भने, ‘पौडेल या कुशवाहमध्ये एक जनालाई मतदान गर्ने सल्लाह गाउँमा भएको छ । उहाँहरुले कसरी आश्वस्त पार्नुहुन्छ, त्यसमा भर पर्छ ।’

करैयामाईमा जसपाको वर्चश्व कायम रहला ?

पूर्वको दहियारपछि उत्तरमा रहेको करैयामाई गाउँपालिका–४ लौतनमा भने उपेन्द्र यादवको पडक देखियो । संघ, प्रदेश र स्थानीय तहमा यहाँ जसपाकै वर्चश्व रहेको छ ।

उषा यादव यही क्षेत्रबाट चुनाव लडेर यसअघि प्रदेश मन्त्री बनेकी थिइन् । त्यस्तै, गत मंसिरको चुनावमा जसपाले टिकट नदिएपछि स्वतन्त्रबाट प्रदेश सांसदमा उठेका शारदा शंकर कलवारले १९ हजार ६ सय ७५ भोट ल्याएर जसपाका उम्मेदवार अनिल मोहम्मदलाई हराएका थिए । मोहम्मदले जम्मा दुई सय ५९ मत पाएका थिए । करैयामाई गाउँपालिका–४, लौतनका अनिल अन्सारीलाई जसपाले टिकट दिएपछि असन्तुष्ट बनेकाले कलवारलाई मत दिएर बिजयी बनाएका थिए ।

20230412_135613

स्थानीय तहमा समेत मेयर शम्भुप्रसाद यादव र उपमेयर सुकैन चौधरी जसपाबाटै विजयी भएका थिए । प्लस टु गरेका अन्सारीले भने, ‘विगतमा जसपाले यस ठाउँबाट पाएको मत यसपटक पनि पाउँछ भन्ने छ ।’

जसपाकै पहलमा मस्जिद, कृषि सडक, कब्रस्थान घेर्ने पर्खाल र बाटो ढलान गर्न एक करोड १० लाख रुपैयाँ लौतनमा आएको अन्सारीको दाबी छ ।

करैयामाई गाउँपालिकामै भेटिए, रास्वपाका उम्मेदवार रमेश खरेल ।

उनी सबैलाई ‘नमस्कार ! म एसपी रमेश खरेल’ भन्दै परिचय दिँदै रास्वपालाई मतदानको अपिल गर्दै थिए । सर्वसाधारणले पनि एसपी खरेललाई मतदान गर्ने बताए ।

खरेलसँग सेल्फी खिचाउनेको पनि भिड थियो । आफूले जितेपछि खासगरी भ्रष्टाचारलाई जरैदेखि उखेल्ने उनले बताए । खरेलले रातोपाटीसँग भने, ‘मैले पूरा गर्न नसक्ने आश्वासन बाँडेर हुँदैन, बारामा अशिक्षा र गरिबी धेरै छ । सर्वसाधारणले स्वास्थ्योपचार सुलभ मूल्यमा पाउने गरी अस्पतालको निर्माणमा लाग्ने छु तर धेरै चुतौती छ ।’  

ramesh kharel

जसपा र जनमतले निर्वाचन क्षेत्रको सबैतिर प्रतिस्पर्धात्मक रुपमा घरदैलो गरिरहेका छन् । एमालेका पौडेल बजार क्षेत्रमा मात्रै धेरै केन्द्रित भएर प्रचार गरिरहेका छन् ।

बारा २ मा एक लाख पाँच हजारभन्दा बढी मतदाता रहेका छन् ।  यो निर्वाचन क्षेत्रमा गढीमाई नगरपालिका, सुवर्ण गाउँपालिका, देउताल गाउँपालिका, पचरोता गाउँपालिका र करैयामाई गाउँपालिका पर्छन् । 

साथमा शारदा पोखरेलको रिपोर्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया