मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

कोरोनासँग जुध्न यस्तो छ सरकारको तयारी

शुक्रबार, ०१ वैशाख २०८०, १२ : ३४
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौं । नेपालमा करिब एक महिना अघि अर्थात् चैत २ गतेसम्म कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या शून्य थियो । गएको करिब एक महिनाको अवधिमा क्रमशः सङ्क्रमितको संख्या दैनिक डेढ सयसम्म पुगेको छ । गएको २४ घण्टामा १०६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण दर शून्यमा पुगेको अवस्थामा फेरि यसरी क्रमशः बढ्दा के अब अर्को महामारीको लहर सुरु भएको हो ? सरकारले भावी दिनमा कोरोना सङ्क्रमणसम्बन्धी प्रक्षेपण के गरेको छ ? परीक्षण, उपचारको तयारी कस्तो गरेको छ ? र हाल सङ्क्रमण देखिएको कोरोनाभाइरस कतिको सङ्क्रामक छ ? यिनै विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

कोरोना महामारीको अर्को लहर सुरु भएको हो ?

कोरोनाभाइरस (कोभिड–१९) को तत्काल अर्को लहर सुरु भयो भन्ने अवस्था छैन । कोरोना सङ्क्रमण दरको ग्राफ कस्तो देखिन्छ, त्यही आधारमा भन्ने हो । कोभिड–१९ लहरको रुपमा आउँछजस्तो लाग्छ । सङ्क्रमण पुष्टि हुने क्रम बढ्दै छ । सङ्क्रमण दर बढ्छ कि भन्ने छ ।

सङ्क्रमण बढ्दै गयो, धेरै सङ्ख्या भयो भने लहरकै रुपमा देखिन पनि सक्छ । तत्काल केही भनिहाल्ने अवस्था छैन । अब सङ्क्रमणको आँकडाले महामारीको अर्काे लहर हो वा होइन भनेर बताउन सक्छ ।

कोरोना सङ्क्रमणको अवस्था भावी दिनमा कस्तो हुन सक्छ भनेर प्रक्षेपण गरिएको छ ?

सङ्ख्यात्मक रुपमा त्यति सङ्ख्या यो दिनसम्ममा पुग्छ भनेर तत्काल प्रक्षेपण गरिएको छैन । शून्यमा पुगेको कोरोना सङ्क्रमण विस्तारै बढ्दै गइरहेको छ । विस्तारै अझै बढ्छ भन्ने आकलन गरिएको छ । सङ्ख्यात्मक रुपमा कति समयको अवधिमा सङ्क्रमित पुष्टि हुँदै गए, कुन स्थानमा बढी कोरोना सङ्क्रमित देखिए भन्ने आधारमा प्रक्षेपण चाँडै गरिन्छ ।

पछिल्लो समय कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गयो । सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ । सरकारले स्वास्थ्य पूर्वाधार र जनशक्तिको कस्तो तयारी गरेको छ ?

यदि कोरोना सङ्क्रमितको दर बढेर अस्पताल पु¥याउनु पर्ने अवस्था आएमा पनि सरकारले त्यसको तयारी गरेको छ । स्वास्थ्य पूर्वाधार र जनशक्ति आवश्यक परेमा तयारी अवस्थामा रहन सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको छ । जनस्वास्थ्यका मापदण्डहरू आ–आफ्नो स्थानबाट सबैले पालना गर्नुपर्छ । परीक्षण र उपचारका लागि पहिला भएका प्रयोगशाला, अस्पतालहरूलाई तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तै, अक्सिजन प्लान्ट, अस्पतालहरू, बेड तयारी अवस्थामा राख्न सबै अस्पताललाई निर्देशन दिएका छौँ । परीक्षणका लागि प्रयोगशाला, उपचारका लागि अस्पताल, स्वास्थ्य उपकरण र जनशक्ति सबै तयारी अवस्थामा राखिएको छ ।

हाल सङ्क्रमण भइरहेको कोरोना भाइरस सङ्क्रामक छ ?

ओमिक्रोन भेरियन्ट सङ्क्रामक नै छ । हाल बढीलाई देखिएको सब ‘एक्सबीबी.१.१६’ भेरियन्ट झन् सङ्क्रामक छ । स्वास्थ्य जटिलताको हिसाबले धेरै जटिलता देखिएको छैन । यद्यपि कोरोनाविरुद्धको खोप नलगाएकालाई यो भेरियन्ट सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता ल्याउँछ । दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती, साना बालबालिका, फ्रन्टलाइनमा बसेर काम गर्नेहरूले कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिलाई जोखिममा पार्छन् । कोरोनाविरुद्धको खोप लगाए पनि, नलगाए पनि सङ्क्रमणको जोखिम उच्च हुने भएकाले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आवश्यक छ । जस्तै, समयसमयमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग, मास्कको प्रयोग, सामाजिक दूरी कायम गर्न अति आवश्यक छ ।

भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको छ । सीमा नाकाहरूमा कसरी सावधानी अपनाइएको छ ?

नेपाल भारत सीमा नाका, विमानस्थलहरूबाट नेपाल प्रवेश गर्ने व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको जस्तो लक्षण देखिएमा अनिवार्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेलाई कोरोना सङ्क्रमण पुष्टि भएका नाका नजिकैका अस्पतालसँग समन्वय गरेर उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, कोरोना फैलन नदिनका लागि जनचेतनामुलक कार्यक्रम गरी सङ्क्रमणबाट जोगिनका लागि सम्बन्धित निकायलाई आग्रह गरिरहेका छौँ ।

सरकारले बुस्टर डोज लगाउन आग्रह गरिरहेको छ, कोरोनाविरुद्धको बुस्टर डोज कसले लगाउन आवश्यक छ ?

सरकारले बुस्टर मात्रा खोप लगाउन भने पनि लगाउनेको सङ्ख्या कम छ । पूर्णमात्रा खोप लगाएको तीन महिना पुगिसकेका सबैले अनिवार्य रुपमा बुस्टर मात्रा लगाउनुपर्छ । पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिनापछि खोप स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती, ५५ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप