बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते नेकपा स्थापना दिवस मनाउने

शुक्रबार, ०१ वैशाख २०८०, १५ : ५३
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । 

शुक्रवार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख नौ गते अर्थात् २२ अप्रिलका दिन केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापी रूपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापी रूपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ । प्रवक्ता खतिवडाले भने, ‘बैठकले आगामी वैशाख नौ गते अर्थात अप्रिल २२ को दिन देशव्यापी रूपमा पार्टी स्थापना दिवस २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना हुँदा २२ अप्रिलको दिन भएको थियो । कम्युनिस्ट पार्टीको स्थापना दिवस बनाउने भन्ने हाम्रो पार्टीले निर्णय गरेको छ । काठमाडौँमा एउटा केन्द्रीय कार्यक्रम हुँदै छ । प्रत्येक प्रदेश र जिल्लाहरूमा आ–आफ्नो अनुकूलता अनुसार उनीहरुले आफ्नो कार्यक्रम गर्नेछन् । देशव्यापी रूपमा यो कार्यक्रम गर्नका निम्ति पार्टीले निर्देशित गरेको छ ।’

बैठकले पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपानेको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ । न्यौपानेले पार्टी परित्याग गरेकाले उनको नाम पार्टी अभिलेखबाट हटाउने निर्णय गरिएको पनि प्रवक्ता खतिवडाले बताए । उनले पार्टीको नीति र भावनाविरुद्ध केन्द्रीय कमिटीमा फरक मत राखेकाले सो विषयमा छलफल हुन नसकेको पनि स्पष्ट पारे । 

सो पार्टी परित्याग गरेका न्यौपानेलगायतका नेताहरु नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसकै अवसर पारेर एमाले प्रवेश गर्ने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप